खेलकुद

मैले छनौट गरेको टिम र खेल रणनीति सही थियोः पेप ग्वार्डिओला

इकागज |
जेठ १६, २०७८ आइतबार ८:२१ बजे

काठमाडौँ: च्याम्पियन्स लिग फाइनलमा चेल्सीसँग पराजित भएपछि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो खेल रणनीतिको बचाउ गरेका छन् । शनिबार राती भएको उपाधि भिडन्तमा थोमस टुचेलको चेल्सीले बाजी मारेको थियो । जर्मन मिडफिल्डर काई हाबर्टसले खेलको एक मात्र गोल गरेपछि लन्डनको क्लब दोस्रो पटक च्याम्पियन्स लिग च्याम्पियन बन्यो ।

‘मलाई लाग्छ मैले सही टिम छनौट गरेको थिए । खेल रणनीति अनुसार नै केभिन डे ब्रुएनालाई अग्रपंक्तिको जिम्मा दिइएको थियो । तर उनी बीचमा घाइते भए । खेलमा यस्तो हुन्छ । त्यसमाथि पनि च्याम्पियन्स लिगमा त अनपेक्षित कुरा भइरहन्छन् । तर डे ब्रुएनाको अनुपस्थितीमा अन्य खेलाडीले जिम्मेवारीपूर्वक खेल्नु पर्थ्‍याे ,’ खेलपछि ग्वार्डिओलाले भने,‘ च्यायम्पियन्स लिगको फाइनल पहिलो पटक खेलेका हौ । अब हाम्रो उदेश्य आराम गर्ने र नयाँ सिजन बलियो ढङ्गले सुरुवात गर्ने हो । आशा छ हामीले भविष्यमा फेरि फाइनल खेल्नेछौ ।’   


ग्वार्डिओलाले तेस्रो पटक च्याम्पियन्स लिग जित्‍ने लक्ष्यमा थिए । सिटी उनको नेतृत्वमा पहिलो पटक च्याम्पियन्स लिग फाइनल खेल्दै थियो । ग्वार्डिओलाले पहिलो एघारमा ‘डिफेन्सिभ मिडफिल्डर’ राखेनन् । बरु आक्रमक मिडफिल्ड छनौट गरे । जसको फाइदा चेल्सीले उठायो । आक्रमण बुन्‍न सिटीको क्षेत्रमा पुगेका गोलकर्ता हाबर्टसलाई मिडफिल्डरहरूले अवरोध पुर्‍याउन सकेनन् । न त सिटीको रक्षापंक्ति आफ्नो पोजिसनमा थियो । हाबर्टसले सिटीका गोलरक्षक एडेरसनलाई सजिलै ‘बिट’ गर्दै गोल गरे । 

डे ब्रुएना ‘फल्स नाइन’ बनेको खेलमा रियाद माहरेज र रहिम स्‍टलिङलाई बेल्जियन प्लेमेकरलाई सघाउने भूमिकामा थिए । मिडफिल्डमा भने ग्वार्डिओलाको रोजाई एल्काइ गुन्डोगन, फिल फोडेन र बर्नादो सिल्भा थिए । फोडेन र सिल्भा दुवै खेलाडी ‘एट्याकिङ मिडफिल्डर’ भएकाले रक्षापंक्तिलाई सहयोग गर्न गुन्डोगन एक्लै हुन्थे । गुन्डोगन आफैँ पनि ‘डिफेन्सिभ मिडफिल्डर’ होइनन् । त्यसैले उनले चेल्सीका फरवार्डहरूलाई अवरोध पुर्‍याउन सक्ने अवस्था थिएन । 

‘पहिलो एघार छनौट गर्दा मैले जतिसक्दो राम्रा खेलाडी राख्‍न कोसिस गरेको हो । मैले लियोन, पीएसजी, डर्टमन्ड जस्ता टिमविरुद्ध जस्तो टिम उतारहेको थिए, चेल्सीसँगको खेलमा पनि त्यस्तै टिम छनौट गरेको हो । टिम छनौट गर्ने भनेको खेल जित्‍नका लागि नै हो । हामी पहिलो आफमा केही कमजोर देखियौँ । तर दोस्रो हाफमा हाम्रो प्रदर्शन सन्तोषजनक थियो । यो खेल निश्‍चय पनि कठिन थियो । हामीले पर्याप्त मौका पन सिर्जना गर्‍यौ । तर गोल भएन,’ ग्वार्डिओलाले भने ।   


Author

थप समाचार
x