खेलकुद

नेपाली टिमलाई अल्मुताइरीको सन्देश, ‘सिल्ली मिस्टेक नगर’

इकागज |
जेठ १६, २०७८ आइतबार १७:३३ बजे

काठमाडौँ: नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले आफ्नो पहिलो पत्रकार सम्मलेनमा भनेका थिए, ‘मेरो आलोचना जति गरे पनि भयो तर खेलाडीको आलोचना नहोस्,’ इराकसँग ६-२ ले पराजित भएपछि पनि अल्मुताइरीले सोही भनाइ दाहोर्‍याए । ‘नतिजा राम्रो आएन । त्यसका लागि म माफी चाहन्छु । तर खेलाडीहरूलाई दोष दिनुहुँदैन,’ अल्मुताइरीले भने । 

नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि इराकविरुद्धको खेल अल्मुताइरीका लागि पहिलो परीक्षा थियो । बलियो इराकी टिसँगको खेलबाट दुई खेलाडीले नेपालका लागि डेब्यु गरे । गौतम श्रेष्ठ र मनिष डाँगीले पहिले पटक सिनियर टोलीबाट खेले ।


मनिषले त गोल पनि गरे । पहिलो हाफको आधा घण्टा इराकलाई बलियो चुनौति दिएको नेपालका लागि मनिषले २९ औँ मिनेटमा गोल गरे । नेपालका लागि पहिलो गोल भने अन्जन विष्टले आठौँ मिनेटमा गरेका थिए । सुरुवाती ३० मिनेट नेपाल २-१ को अवस्थामा थियो । तर अल्मुताइरीले भनेझैँ नेपाली खेलाडीले ‘सिल्ली मिस्टेक’ गर्दा इराकले सात मिनेट भित्र तीन गोल गर्‍याे । 

बासरा रंगशालामा भएका खेलमा इराक दोस्रो हाफमा थप हाबी भयो । दुई गोल गर्‍यो । नेपालले भने रक्षापंक्तिमा गल्ती गरिरह्यो । अनुभवी रोहित चन्द र युवा फुलब्याक सुमन अर्यालले खराब ब्याकपासले इराकलाई दुई गोल गर्ने मौका दियो । कतिपय अवस्थामा गोलरक्षक किरण कुमार लिम्बु आफ्नो पोजिसनमा देखिएनन् । नेपाली टिम ‘एयर बल’ मा पनि फितलो देखियो । शारीरिकरूपमा बलियो इराकी टिमविरुद्ध नेपाली खेलाडी ‘एयर बल’ मा कमजोर देखिनु स्वभाविक हुनसक्छ । तर नेपाली टिमले ‘जोनल मार्किङ’ को नियम पनि पछ्याउन सकेन । 

अल्मुताइरीले ४-३-३ को संरचना प्रयोग गर्न खोजेको देखियो । उनले बारम्बार नेपाली टिमले फरक शैलीमा खेल्ने बताउँदै आएका छन् । विगतमा नेपाली टिमले रक्षात्मक खेल्ने गरेको र अबका दिनमा भने आक्रमक खेल देखाउने उनको जिकिर छ । आफूले चाहेको जस्तो शैलीमा खेल्ने नेपाली खेलाडीलाई केही समय लाग्ने अल्मुताइरीको भनाइ छ । 

‘टिममा नयाँ खेलाडी छन् । उनीहरुलाई समय चाहिन्छ । अहिलेका लागि हामीले धैर्यता राखौँ । भविष्यमा हाम्रो प्रदर्शनमा सुधार आउनेछ । बन्द प्रशिक्षणको अवधि लामो हुनुपर्छ । त्यसपछि पक्कै पनि सकारात्मक नतिजा आउँछ,’ इराकसँगको खेलपछि अल्मुताइरीले भने,‘तर खेलाडीहरुले आजको जस्तो सिल्ली मिस्टेक गर्नु हुँदैन । नत्र त सजिलै गोल खाइन्छ । आज यही भयो । फेरि मैदानको अवस्था पनि ठिक थिएन । पुरै भिजेको थियो । त्यस्तै बलको वजन पनि कम थियो । यस्तो बलले हामीले अभ्यास गरेको थिएनौँ ।’ 

विश्वकपमा दोस्रो पटक छनौट हुने लक्ष्यमा रहेको इराक नेपालसँग भिड्नु अघि १६ खेलमा अपराजित थियो । गत सोमबार इराकले ताजिकिस्तानसँग बराबरी खेलेको थियो । इराकी प्रशिक्षक स्रेज्को काटानेकले नेपालविरुद्धको खेलमा नौ खेलाडी परिवर्तन गरे । यद्यपि दक्षिण एसियाली विपक्षीलाई हराउन खाडीको इराकललाई खासै गाह्रो भएन । 

इराकबाट नेपाली टोली आइतबार साँझ कुवेततर्फ लाग्नेछ । जहाँ नेपालले विश्वकप छनौटका बाँकी खेल खेल्नेछ । नेपालले चाइनिज ताइपेई ९जेठ २००, जोर्डन ९जेठ २५० र अस्ट्रेलिया ९जेठ २८० को सामना गर्दैछ । सबै खेल कुवेत सिटीको केवेत एससी रंगशालामा हुनेछन् ।
 


Author

थप समाचार
x