खेलकुद

टुचेलले प्रिमियर लिगमा बढाएको रोमाञ्‍चकता

इकागज |
जेठ १८, २०७८ मंगलबार ६:३५ बजे

काठमाडौँ : म्यानचेस्टर सिटी यस पटक इंग्लिस प्रिमियर लिग च्याम्पियन बन्यो । उसलाई पछ्याउने प्रयास गरेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा सीमित भयो । तर म्यानचेस्टर सहरका दुई क्लबीचको अंक दूरी १२ अंकको थियो । उता गत सिजनको च्याम्पियन लिभरपुलले भने सिटीको भन्दा १७ अंक कम बटुल्यो । 

प्रिमियर लिगमा गरेको प्रदर्शनका आधारमा सिटीले सोच्‍न सक्छ, अर्को सिजन पनि युनाइटेड र लिभरपुलको चुनौति पन्छाउन सकिन्छ । र, फेरि लिग च्याम्पियन बनिन्छ । यद्यपि सिटीको यस किसिमको विचारलाई चेल्सीले झापड हानिसक्यो, च्याम्पियन्स लिगको फाइनलमा पराजित गरेर । 


हो, भर्जिल भान डाइकको पुनरागमन र केही नयाँ खेलाडीको अनुबन्धनले लिभरपुल बलियो बन्‍नेछ । अनि युनाइटेड पनि आफूलाई सुदृढ बनाउन सरुवा बजारमा सक्रिय हुनेछ । तर यी दुई टिम भन्दा चेल्सीले सिटीलाई बलियो टक्कर दिनेछ । कारण ? थोमस टुचेलको उपस्थिति । 

जर्मन प्रशिक्षक टुचेलले चेल्सीको जिम्मेवारी सम्हालेको करिब चार महिना भयो । यति छोटो अवधिमा टुचेलले चेल्सीको प्रदर्शनमा व्यापक सुधार ल्याएका छन् । त्यसकै नतिजा हो, च्याम्पियन्स लिग उपाधि । टुचेल प्रशिक्षकमा नियुक्त हुँदै गर्दा, चेल्सी शीर्ष चार भन्दा बाहिर थियो । तर पूर्व पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रशिक्षक टुचेलले लन्डनको क्लबलाई नयाँ युरोपियन च्याम्पियन बनाए । 

टुचेल चेल्सीले यस सिजन पेप ग्वार्डिओलाको सिटीको तीन पटक सामना गर्‍यो । तीन खेलमै चेल्सी विजयी बन्यो । लिगमा चेल्सीले सिटीमाथि उसकै मैदानमा २-१ को जित दर्ता गर्‍यो । अनि एफए कपको सेमिफाइनल भिडन्तमा पनि चेल्सी नै सफल भयो । गत शनिबारको च्याम्पियन्स लिग फाइनलमा पनि सिटीको केही सिप चलेन । 

तीन खेलको नतिजालाई आधार मान्ने हो भने टुचेलले पेप ग्वार्डिओलामाथि प्रभुत्व कायम गरेका छन् । तर ग्वार्डिओलाविरुद्ध निकालेको नतिजाले टुचेललाई फुर्काएको छैन । यसको उदाहरण हो, च्याम्पियन्स लिगको फाइनल पछि टुचेलले दिएको प्रतिक्रिया । ‘च्याम्पियन्स लिग जितेका छौ । त्यसकारण केही दिन खुशीयाली मनाउँछौ । तर त्यसपछि हाम्रो ध्यान नयाँ सिजनतर्फ हुनेछ । हामी धेरै आराम गर्ने पक्षमा छैनौ । अर्को सिजन पनि यही किसिमको सफलता हासिल गर्नुछ,’ टुचेलले भने । 

टुचेल बाहेक प्रिमियर लिगमा अर्का जर्मन रणनीतिकार पनि छन्, लिभरपुलका योर्गन क्लप । उनले पनि च्याम्पियन्स लिगको फाइनल हेरिरहँदा सोचेको हुनुपर्छ, ‘आउँदो सिजन प्रिमियर लिग थप कठिन हुनेछ,’ टुचेलकै सुरुवाती सफलताले ओले गनर सोल्स्यार पनि झस्केको हुनुपर्छ । त्यसैकारण उनले युनाइटेडलाई नयाँ खेलाडी अनुबन्ध गर्नुपर्छ भनिसके ।

च्याम्पियन्स लिगमा हात परेको सफलताले चेल्सीलाई नयाँ लक्ष्य दिएको टुचेलको जिकिर छ । ‘यो सुरुवात हो । हाम्रो टिममा अधिकांश खेलाडी युवा छन् । उनीहरु सधै सफलताको भोको हुनुपर्छ । र, प्रत्येक सिजन उपाधिका लागि लड्नु पर्छ,’ टुचेलको भनाइ थियो । 

टुचेलले भनेझैँ चेल्सीका स्टार युवा छन् । च्याम्पियन्स लिगमा सिटीविरुद्ध गोल गरेका काई हार्बट्स देखि रक्षक रेसे जेम्ससम्मको उमेर २१-२२ को आसपासमा छ । टिमका प्रभावशाली मिडफिल्डर एन्गोलो कान्टे पनि ३० कटेका छैनन् । टुचेल अझैँ युवा खेलाडी थप्ने मनस्थितीमा छन् । विशेषगरी रक्षपंक्तिमा । किनभने ब्राजिलका थियागो सिल्भा करियरको उर्ताद्धमा छन् । 

प्रिमियर लिगमा लन्डनकै प्रतिनिधित्व गर्ने क्लब टोटनहम र आर्सनल पनि सम्पन्न छन् । तर ती क्लब उपाधि दौडमा उत्रन सकेका छैनन् । त्यसकारण इंगल्यान्डको उत्तरपश्चिम क्षेत्रका क्लबलाई टक्कर दिनसक्ने टिम अहिलेका लागि चेल्सी नै हो । 
टुचेलले चेल्सीमा जे जती गरेका छन् त्यसको असर पूरा लिगमा नै पर्नेवाला छ । किनभने बलियो चेल्सीले प्रिमियर लिगको उपाधि प्रतिस्पर्धामा टेवा पुर्‍याउँछ । त्यसको मतलब प्रिमियर लिगको ‘टिभी मनी’ बढ्नु हो । विशेषगरी गैर इंग्लिस टेलिभिजन च्यानलहरू प्रिमियर लिगमा बढी भन्दा बढी क्लब उपाधि होडमा रहुन भन्ने चाहन्छन् । तब न प्रिमियर लिग हेर्ने विदेशी दर्शकको संख्या बढ्छ । 

फेरि टुचेल र ग्वार्डिओलाको प्रतिद्वन्द्वीताले प्रिमियर लिगलाई थप रोमाञ्चक पनि त बनाउँछ । जोसे मौउरिन्होको बर्हिगमनले प्रिमियर लिगमा अन्तराष्ट्रिय स्तरमा नाम चलेका प्रशिक्षकको संख्या घटाएको छ । यस्तोमा टुचेलको उदय फाइदाजनक छ । उसैपनि टुचेल र ग्वार्डिओलाबीचको भिडन्त रणनीतिक हुन्छ । 

टुचेल बाहेक प्रिमियर लिगमा अर्का जर्मन रणनीतिकार पनि छन्, लिभरपुलका योर्गन क्लप । उनले पनि च्याम्पियन्स लिगको फाइनल हेरिरहँदा सोचेको हुनुपर्छ, ‘आउँदो सिजन प्रिमियर लिग थप कठिन हुनेछ,’ टुचेलकै सुरुवाती सफलताले ओले गनर सोल्स्यार पनि झस्केको हुनुपर्छ । त्यसैकारण उनले युनाइटेडलाई नयाँ खेलाडी अनुबन्ध गर्नुपर्छ भनिसके । 

चेल्सीका मालिक रोमन अब्राहिमोभिच सरुवा बजारमा पैसा खर्च गर्न डराउँदैनन् । उनले अवश्य पनि टुचेलले चाहेका खेलाडी खरिद गर्न बजेट छुट्याइसकेको हुनुपर्छ । टुचेल आफैँले पनि अब्राहिमोभिचसँग आगामी सिजनको तयारीका विषयमा छलफल गर्ने बताइसकेका छन् । तयारी भनेको, सरुवा बजारमा सक्रिय हुनु नै हो । ‘चेल्सी महत्वकांक्षी क्लब हो । त्यसकारण म यहाँ खुशी छु । मेरो लक्ष्य भनेको उपाधि जितिरहने हो । त्यसका लागि चेल्सी तयार रहनुपर्छ,’ टुचेलले भनेका छन् । (अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)


Author

थप समाचार
x