खेलकुद

कसरी सम्भव भयो रियल म्याड्रिड र एन्सिलोट्टीको पुनर्मिलन ?

इकागज |
जेठ १९, २०७८ बुधवार १९:० बजे

काठमाडौँ: रियल म्याड्रिड अफठ्यारो स्थितीमा छ । यस्तोमा क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले कार्लो एन्सिलोट्टीको साथ खोजेका छन् । इटालियन रणनीतिकार कुनैबेला रियलका प्रशिक्षक थिए । स्पेनी क्लबलाई पाँच उपाधि जिताएर विदा भएका थिए । 

पेरेज फेरि किन उनै एन्सिलोट्टीको ढोका ढकढकाउन पुगे ? सुरुवाती जवाफ आउन सक्छ, जिनेदिन जिदानलाई प्रतिस्थापन गर्नसक्ने ल्याकतका प्रशिक्षक भएकाले । तर एन्सिलोट्टीको पुनरागमनको औचित्य यस्तो जवाफले मात्रै पुष्टि गर्न सक्दैन । अन्य धेरै कारण छन्, जसले एन्सिलोट्टीलाई सान्टियागो बेर्नाबाउ फर्काएको । 


उसो त जिदानले छाडेपछि रियलसँग धेरै विकल्प थिएनन् । फेरि रियलको आर्थिक स्थिती पनि राम्रो छैन । त्यसमाथि झन् टिममा परिवर्तनको आवश्यकता छ । यस्तोमा पेरेजलाई भरपर्दो प्रशिक्षकको चाहिएको थियो । त्यसकारण पनि पेरेजले एन्सिलोट्टीलाई प्रस्ताव राख्‍न धक मानेनन् । एन्सिलोट्टी सन् २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक थिए । पहिलो बसाइमा उनले स्पेनी क्लबललाई च्याम्पियन्स लिग जिताए । तर युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता जितेको १२ महिना पनि नबित्दै एन्सिलोट्टी रियलबाट बाहिरिए । 

जिदानले रियल छाड्ने हल्ला केही महिना यतादेखि चलिरहेको थियो । तर जिदानको सम्भावित बर्हिगमन प्रति पेरेजले चासो देखाएको पाइएन । किनभने उनले जिदानलाई प्रतिस्थापन गर्नसक्ने प्रशिक्षकको सूची बनाएनन् । कयौँ महिनासम्म मासिमिलियानो एलेग्री क्लबविहीन थिए । तर उनलाई समयमै प्रस्ताव राखिएन । अन्ततः उनी युभेन्टस फर्के । 

पेरेजका लागि एन्टोनियो कोन्टे पनि विकल्प हुन सक्थे । कोन्टे सन् २०१८ मै पनि रियल स्थान्तरण नजिक थिए । यस पटक पनि उनीसँग रियलले कुरा गर्ने अनुमान गरिएको थियो । हालै इन्टर मिलान छाडेका कोन्टे नयाँ क्लबको खोजीमा रहेकाले पनि उनी रियलसँग जोडिनु स्वभाविक थियो । यद्यपि उनी यसपटक पेरेजको नजरमा परेनन् । कोन्टेले तीन फरक क्लबबाट दुई प्रतिष्ठित लिग जितेका छन् । यसअर्थमा उनको क्षमतामाथि प्रश्‍न गर्ने ठाउँ छैन । तर उनलाई खेलाडी खरिद विक्री सम्बन्धि सम्पूर्ण अधिकार दिनुपर्छ । त्यसका लागि पेरेज तयार हुने सम्भावना थिएन । 

हाल पेरिस सेन्ट जर्मेन (पीएसजी) मा रहेका माउरिसियो पोचेटिनोमाथि पनि पेरेजको नजर रहँदै आएका छ । पोचेटिनोले पीएसजी छाड्ने हल्ला चलिरहे पनि पेरेजले उनलाई सम्पर्क गरेको देखिएन । म्याड्रिडका स्थानिय सञ्चार माध्यमले राउल गोन्जालेजलाई पनि सम्भावित प्रशिक्षकका रुपमा प्रचार गरे । तर पेरेजले युवा टोलीको प्रशिक्षण सम्हालिरहेका राउललाई बढुवा गर्ने निर्णय गरेनन् ।

यही प्रशिक्षक नियुक्त गर्ने भन्‍ने योजना पेरेजसँग हुँदैन । उनी जोसुकैलाई क्लबको जिम्मेवारी दिन सक्छन् । रियललाई नजिकबाट नियाल्ने यस्तै दाबी गर्छन् । जिदानले पहिलो पटक रियल छाड्दा पनि पेरेज अन्योलमा थए । योर्गन क्लपदेखि पूर्वखेलाडी गुटीसम्म रियलसँग जोडिए । तर यथार्थामा ती कुनै पनि प्रशिक्षक रियल स्थानान्तरणका लागि तयार वा खाली थिएनन् । अन्ततः रियलले युलेन लोपेटेगीलाई भित्र्यायो । 

एन्सिलोट्टी रियलको प्रशिक्षक बन्ने खबर अचानक आयो । सोमबार स्थानीय रेडियो कार्यक्रम एल लारगुएरोमा एन्सिलोट्टीबारेमा छलफल त भयो । तर उनी रियलको प्रशिक्षक हुन्छन् भन्‍ने दाबी गरिएन । बरु मंगलबार इंगल्यान्डमा उनले एभरटन छाड्दैछन् भन्‍ने हल्ला चल्यो । जसको पुष्टि गर्‍यो रियल आफैँले । 

रियलले गरेका पछिल्ला छ नियुक्तिमा एउटा समानता छ । प्रशिक्षकमा नियुक्त हुनुअघि ती प्रशिक्षक रियलमै कुनै न कुनै भूमिकामा रहिसकेका थिए । खेलाडीका रुपमा होस वा युवा टिमको प्रशिक्षकका रुपमा । एन्सिलोट्टी पनि त्यही सूचीमा समावेश भए । यसको सन्देश के हो भने, रियलबारे पर्याप्त जानकारी भएकालाई मात्रै पेरेज प्रशिक्षक बनाउन रुचाउँछन् । अर्को सत्य के पनि हो भने, पछिल्लो समय रियलले युरोपकै अन्य ठूला क्लबमा रहेका प्रशिक्षकलाई आफूतर्फ आकर्षित गर्न सकेको छैन । एन्सिलोट्टी चाँहि अपवाद हुन् । उनले रियलका लागि पीएसजी त्यागेका थिए ।

सन् २०१३ मा जोसे मौउरिन्होले छाडेपछि एन्सिलोट्टीलाई रियलको प्रशिक्षक बनाइएको थियो । मौउरिन्होसँग क्रुद्ध बनेका रियलका स्टारहरूले एन्सिलोट्टी पुगेपछि राहतको सास फेरे । क्रिस्टियानो रोनाल्डो, जाबी अलन्सो, सर्जियो रामोस, ग्यारेथ बेल जस्ता खेलाडीले बलियो लय देखाउँदा एन्सिलोट्टीले पहिलो सिजनमै च्यामिपयन्स लिग जिते । जेम्स रोद्रिगेजको आगमनले रियल थप बलियो बन्यो । सन् २०१४ को उत्तरार्धमा रियलले लगातार २४ खेल जितेको थियो । त्यही बेला क्लब विश्वकपको उपाधि पनि रियलको पोल्टामा पर्‍यो । 

 

एन्सिलोट्टीको अभिव्यक्ति सुन्दा यस्तो लाग्थ्यो, उनी एभरटजलाई इंगल्यान्डको बलियो शक्तिका रुपमा स्थापित गर्न कटिबद्ध छन् । तर उनले एभरटनमा जाहेर गरेको प्रतिबद्धता रियलबाट प्रस्तावसँगै तुहियो । रियलको प्रस्ताव स्विकारेर एन्सिलोट्टीले सायद आफू यर्थाथवादी भएको सन्देश दिन खोजेको हुनसक्छ ।

सन् २०१४ को अन्त्य बलियो हुँदा नयाँ वर्षको सुरुवात भने सुखद् रहेन । रोद्रिगेज, रामोस र लुका मोड्रिच घाइते भएपछि रियलको टिममा सन्तुलन बिग्रियो । त्यसवर्ष म्याड्रिड डर्बीमा एन्सिलोट्टीको टिम एथ्लेटिकोसँग नराम्रोसँग हार्‍यो । च्याम्पियन्स लिगको सेमिफाइनलमा युभेन्टससँग हार ब्यर्होयो ।

डिफेन्डिङ च्याम्पियन इटालियन क्लबसँग पराजित भएपछि पेरेजबाट नयाँ निर्णय आउनु नै थियो । त्यस सिजन ला लिगाको अन्तिम खेलपछि एन्सिलोट्टीले सर्वजनिक रुपमै आफू रियलमै बस्न इच्छुक भएको नबताएका होइनन् । तर पेरेजले सुनेनन् । अन्ततः एन्सिलोट्टी दोस्रो सिजनको अन्त्यमा रियलबाट बाहिरिए । 

पेरेजको निर्णयप्रति सिनियर खेलाडीहरूले असन्तुष्टी जनाए । क्लब समर्थक तथा विश्लेषकहरूले एन्सिलोट्टीको बर्खास्ती गलत भएको बताइरहे । त्यत्तिकैमा पेरेजले एन्सिलोट्टीलाई प्रतिस्थापन गर्न राफाएल बेनिटेजलाई नियुक्त गरे । यद्यपि पूर्व लिभरपुल प्रशिक्षकले रियललाई कुल २५ खेलमात्रै खेलाउने मौका पाए । 

एन्सिलोट्टी २०१९ डिसेम्बरमा मात्रै एभरटन गएका थिए । उनले पटक-पटक एभरटनमा लामो समयसम्म प्रशिक्षक रहन चाहेको बताइरहेका थिए । एभरटनले नयाँ रंगशाला निर्माण गर्नुपर्नेमा पनि उनको जोड थियो । एन्सिलोट्टीको अभिव्यक्ति सुन्दा यस्तो लाग्थ्यो, उनी एभरटनलाई इंगल्यान्डको बलियो शक्तिका रुपमा स्थापित गर्न कटिबद्ध छन् । तर उनले एभरटनमा जाहेर गरेको प्रतिबद्धता रियलबाट प्रस्तावसँगै तुहियो । रियलको प्रस्ताव स्विकारेर एन्सिलोट्टीले सायद आफू यर्थाथवादी भएको सन्देश दिन खोजेको हुनसक्छ । 

सन् २०१७ मा एन्सिलोट्टीको पुस्तक सार्वजनिक भएको थियो । जसमा उनले रियलको प्रशिक्षक बन्‍न पेरेजले राखेको प्रस्ताव पटक पटक नकारेको खुलासा गरेका छन् । ‘मैले तेस्रो पटक मात्रै प्रस्ताव स्वीकारे । पेरेज र मेराबीच कतिपय विषयमा मतभेद रहन्थ्यो । जस्तै ग्यारेथ बेल, अभ्यास गराउने तरिका आदि विषयमा । पेरेज मलाई ठट्यौली पारामा बर्खास्त गरिदिन्छु भन्थे,’ एन्सिलोट्टीले आफ्नो पुस्तकमा लेखेका छन् । 

जे होस एन्सिलोट्टी र पेरेजबीच सधैँ न्यानो सम्बन्ध रहिरह्यो छ । बर्खास्तीमा परेपछि पनि एन्सिलोट्टीले पेरेजसँगको सम्बन्धलाई महत्व दिइरहे । यस्तोमा एउटा प्रश्न उठ्छ । रियलको प्रशिक्षक बनेपछिको अवस्थामा एन्सिलोट्टीले पेरेजसँग सुपर लिगका विषयमा कसरी बहस गर्लान । जबकी एन्सिलोट्टी सुपर लिगको विरोधी हुन् भने पेरेज प्रवर्तक । हुन त एन्सिलोट्टीले एभरटनको प्रशिक्षकका रुपमा सुपर लिगको विरोध गरेको हुनसक्छ । किनकी एभरटनलाई सुपर लिग आयोजनाको हिस्सा बनाइएको थिएन ।   

यी दुईका लागि सुपर लिगभन्दा ठूलो विषय रियलको हालको टिम हुनसक्छ । किनभने एन्सिलोट्टीले आठ वर्षअघि जिम्मेवारी सम्हाल्दा र अहिलेको टिममा व्यापक फरक छ । त्यसबखत रियलको टिममा रोनाल्डोदेखि बेन्जेमासम्मका खेलाडी करियरको उत्कर्षमा थिए । अनि उमेर पनि उनीहरू २८ कटेका थिएनन् । त्यस्तै, राफाएल भारान, डानी कार्भाहाल, कासिमिरो जस्ता युवा प्रतिभाको उपस्थितीले रियल थप बलियो बनेको थियो । इकर कासियास, जाबी अलन्सो र पेपे जस्ता अनुभवी खेलाडीको पनि एन्सिलोट्टीलाई साथ थियो ।

अहिलेको रियल तुलनात्मक रुपमा कमजोर छ । बेन्जेमा, क्रुस, मोड्रिच जस्ता खेलाडी करियरको उत्तरार्धमा छन् । कप्तान रामोसको सम्झौँता सकिनै लागेको छ । उता बेल, हाजार्ड, इस्को, मार्सेलोलगायतका खेलाडी रियलका लागि महत्वपूर्ण रहिरहने स्थितीमा छैनन् । यद्यपि रियलमा केही प्रतिभाशाली युवा खेलाडी छन् । तर ती खेलाडी रियललाई ला लिगा वा च्याम्पियन्स लिग विजेता बनाउने स्तरमा  पुग्न बाँकी छ । 

पछिल्ला वर्षमा रियलले युवा खेलाडीमाथि ठूलो लगानी गरेको छ । त्यसकारण पनि रियलले ती खेलाडीको उपयोग गर्ने नयाँ प्रशिक्षक नियुक्त गर्ने अनुमान गरिएको थियो । त्यसो त रियलका लागि भएका युवा प्रतिभालाई उपयोग गर्नैपर्ने बाध्यता पनि छ । कारण ? कोभिड–१९ का कारण आम्दानी घट्दा रियलसँग स्थापित स्टार किन्न बजेट छैन । त्यसमाथि क्लबले बेर्नाबाउ ‘रिनोभेट’ गर्न ६० करोड युरो ऋण पनि लिएको छ । त्यसकारण पनि पाचेटिनो वा कोन्टेको आगमनको अपेक्षा गरिएको थियो । 

हुन त रियलले हालै डेभिड अलाबा जस्ता महंगा खेलाडी अनुबन्ध गरेको छ । रियलले उनको लागि अनुबन्ध रकम तिर्नुपरेन । तर रियलमा अलाबा सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा हुनेछन् । यद्यपि अलाबा अनुबन्ध रियल सरुवा बजारमा सक्रिय हुने संकेत होइन । यसको मतलब एन्सिलोट्टीले भएकै खेलाडीहरूलाई उपयोग गर्दै नयाँ सिजनमा जादू देखाउनु पर्नेछ । यस्तो कठिन अवस्थामा एन्सिलोट्टी किन रियलको जिम्मेवारी उठाउन राजी भए त ? किनभने पहिलो बसाइमा प्राप्त सफलताले एन्सिलोट्टीलाई फेरि म्याड्रिड सहर फर्कन प्रेरित गर्‍यो । 

त्यसो त म्याड्रिड सहरले पनि एन्सिलोट्टीलाई मोहित बनाएको हुनुपर्छ । एन्सिलोट्टी आफैँले पनि रियलतर्फको स्थान्तरण उनका व्यक्तिगत मात्र नभई परिवारिवारिक रुपमा पनि उपयुक्त भएको बताएका छन् । सम्झौँता अनुरुप उनी रियलमा तीन वर्ष रहनेछन् । पहिलो बसाइमा जस्तै च्याम्पियन्स लिग र केही घरेलु कप जिते एन्सिलोट्टी असफल दरिने छैनन् । हुन त एन्सिलोट्टीलाई असफलताको प्रवाह नहुन सक्छ । उनलाई थाहा छ, कुनैदिन उनी फेरि बर्खास्तीमा पर्नेछन् । त्यसबारेमा उनी चिन्तित छैनन् । फेरि एभरटनमा एक वर्ष सफल हुनुभन्दा रियलमा असफल हुनु उनका लागि सन्तोषजनक हुन्छ ।
दी एथ्लेटिकको सहयोगमा तयार पारिएको
  


Author

थप समाचार
x