खेलकुद

‘ज्याक ग्रेलिस इंगल्यान्डका रोनाल्डो’

इकागज |
जेठ २०, २०७८ बिहीबार ११:२० बजे

काठमाडौँ: ज्याक ग्रेलिस इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका कप्तान हुन् । भर्खरै सकिएको प्रिमियर लिग सिजनभर उनले भिल्लाका लागि ६ गोल गरे । त्यस्तै उनको नाममा सात असिस्ट रह्यो । त्यो पनि चोटका कारण १२ खेल गुमाएर । 

भिल्लालाई प्रिमियर लिगमा टिकाउन उल्लेख्य भूमिका खेलेका ग्रेलिसलाई इंग्लिस राष्ट्रिय टिमको भविष्यका रुपमा लिइन्छ । त्यसैकारण उनी आउँदो यूरोमा प्रशिक्षक ग्यारेथ साउथगेटको मुख्य हतियार बन्ने अनुमान गरिएको छ । बुधबार राती अस्ट्रियाविरुद्धको खेलमा ग्रेलिसलाई एट्याकिङ मिडफिल्डरको भूमिका दिइयो । ह्यारी केन स्ट्राइकर बनेर खेल्दा इंग्लिस कप्तानलाई गोलको अवसर मिलाइने जिम्मेवारी उनै ग्रेलिसको थियो । 


तर खेल जित्न केनले गोल गर्नुपरेन । न त ग्रेलिसले नै गोल वा असिस्टको योगदान गरे । आर्सनलका युवा फरवार्ड बुकायो साकाले गरेको गोल नै इंगल्यान्डका लागि खेल जित्न पर्याप्त रह्यो । ग्रेलिसको नाममा गोल वा असिस्ट नभए पनि, उनको प्रदर्शनको प्रशंसा भयो ।

भिल्ला कप्तान गे्रेसिलसको खेलको प्रशंसा गर्नेहरुको सूचीमा रोय किन पनि थपिए । पूर्व म्यानचेस्टर युनाइटेड किनले ग्रेलिसलाई क्रिस्टियानो रोनाल्डोसँग दाँजे । ‘ग्रेलिस इंगल्यान्डका स्टार हुन् । उनी आफ्ना साथी खेलाडीका लागि पास मिलाउन व्यस्त देखिन्छन् । उनी इंगल्यान्डका क्रिस्टियानो रोनाल्डोले हुन्,’ किनले बेलायती टेलिभिजन च्यानल आईटिभीसँग कुरा गर्दै भनेका छन्, ‘रोनाल्डो साहसी खेलाडी हुन् । ग्रेलिस पनि मैदानमा जिम्मेवारी लिन डराउदैनन् ।’ 

ग्रेलिस गत सिजन करिब तीन महिना मैदान बाहिर रहे । सिजनका अन्तिम चार खेल खेले पनि चेल्सीसँगको खेलमा मात्रै पूरा ९० मिनेट खेले । अस्ट्रियासँगको खेलमा पनि ग्रेलिस ७१ मिनेट मात्रै मैदानमा रहे । ग्रेलिस पहिलाकै शारीरिक स्तरमा पुग्न पक्कै समय लाग्नेछ । ‘मैदानबाट निस्केपछि मैले खुट्टामा आइस लगाउनु पर्‍यो । करिब तीन महिना नखेलोकाले मलाई अहिले गाह्रो भइरहेको छ । तर म अभ्यासमा मेहेनत गरिरहेको छु । साविकको लय देखाउन केही समय लाग्नेछ,’ ग्रेलिसले बीबीसी रेडियोसँग कुा गर्दै भनेका छन् । 

युरो सुरु हुनै लाग्दा इंगल्यान्डले तयारी स्वरुप केही मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । इंग्लिस टोलीले आइतबार रोमनियासँग खेल्नेछ । इंगल्यान्ड युरोको समूह ‘डी’ मा छ । त्यस समूहमा इंगल्यान्ड बाहेक क्रोएसिया, स्क्टल्यान्ड र चेक गणतन्त्र रहेका छन् । समूह चरणका आफ्ना सबै खेल इंगल्यान्डले घरेलु रंगशाला वेम्बलीमा खेल्नेछ ।    
 


Author

थप समाचार
x