खेलकुद

नेपालको लक्ष्य एसियन कप छनौटमा रहिरहने

इकागज |
जेठ २०, २०७८ बिहीबार १६:५२ बजे

काठमाडौँ : विश्वकप २०२२ छनौट अन्तर्गत नेपालले बिहीबार चाइनिज ताइपेईको सामना गर्दैछ । कतार विश्वकपका लागि छनौट चरणमा नेपाल र चाइनिज ताइपेई दोस्रो पटक भिड्न लागेका हुन् । चाइनिज ताइपेईको घरेलु मैदानमा भएको पहिलो लेगमा नेपाल २-० ले विजयी भएको थियो । दोस्रो लेग कुवेतको राजधानी कुवेत सिटीस्थित एससी रंगशालामा हुँदैछ । 

विश्वकप छनौटको समूह ‘बी’ मा रहेका नेपाल र चाइनिज ताइपेईले समान पाँच खेल खेलेका छन् । एक जित निकालेको नेपालको तीन अंक छ । उता चाइनिज ताइपेई भने अंकविहिन छ । स्वभाविकरुपमा नेपाल र चाइनिज ताइपेई विश्वकपमा छनौट हुने दौडमा छैनन् । विशेषगरी नेपालका लागि अबको लक्ष्य भनेको एसियन कप २०२३ छनौटको अघिल्लो चरण खेल्ने नै हो । 


एसियन कप २०२३ 

एसियन कपमा कुल २४ टिमले भाग लिनेछन् । जारी एसियातर्फको विश्वकप छनौटको समूह विजेता भएका आठ टिम र उत्कृष्‍ट उप-विजेता चुनिएका चार टिम स्वत एसियन कपका लागि योग्य हुनेछन् । 

विश्वकप छनौट चरणमा उप-विजेता भएका अन्य चार टिम र समूह चरणमा तेस्रो भएका आठ टिमले भने एसियन कप छनौटको तेस्रो चरण खेल्नेछन् । त्यस्तै विश्वकप छनौट चरणमा आ-आफ्ना समूहमा चौथो भएका उत्कृष्ट चार टिमले पनि एसियन कप छनौटको तेस्रो चरण खेल्ने मौका पाउनेछन् । यस्तो बाटो भई एसियन कप छनौटको तेस्रो चरण खेल्न पाउने टिमको संख्या १६ हुनेछ । 

यी १६ टिमसँग अन्य आठ टिमले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । ती आठ टिम प्ले-अफबाट आउनेछन् । विश्वकप छनौट चरणमा आ-आफ्ना समूहमा चौथो हुने चार टिम र पाँचौँ हुने आठ टिमले प्ले-अफमा भाग लिनेछन् । 

एसियन कप छनौटको तेस्रो चरणमा सहभागी हुने कुल २४ टिमलाई आठ समूहमा विभाजित गरिनेछ । र, समूह विजेता र उप-विजेता गरी कुल १२ चीनमा हुने एसियन कपका लागि छानिने छन् । जसले एसियातर्फको विश्वकप छनौटको समूह विजेता भएका आठ टिम र उत्कृट उप-विजेता चुनिएका चार टिमसँग एसियन कपमा प्रतिस्पर्धा गर्नेछन् ।  

नेपालको लक्ष्य 

यस्तोमा नेपालको लक्ष्य एसियन कपको तेस्रो चरण खेल्नु हुनेछ । तेस्रो चरणमा सिधैँ प्रतिसपर्धा गर्न नेपाल चौँथो स्थानमा रहिरहनु पर्नेछ । त्यसका लागि चाइनिज ताइपेईविरुद्धको दोस्रो जित आवश्यक छ । नेपालका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीको नजर पनि चौंथो स्थानतर्फ नै छ । ‘हामी एसियन कप छनौट खेल्न चाहन्छौं । त्यसका लागि हामीले चौथो स्थानमाथि कब्जा जमाउनु आवश्यक छ । त्यही सम्भावना जिवित राख्न हामीले अनिवार्य रुपमा चाइनिज ताइपेलाई हराउनु छ,’ अल्मुताइरीले बुधबार पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए । 

नेपाली टिममा अधिकांश खेलाडी युवा भएको र त्यसमाथि पनि पर्याप्त मैत्रीपूर्ण खेल खेल्न नपाएकाले आफूहरूका लागि अबका खेलहरू चुनौतिपूर्ण रहेको अल्मुताइरीको भनाइ थियो । ‘यद्यपि हामीले यी युवा खेलाडीहरू माथि धेरै दबाब सिर्जना गर्नु हुँदैन । कतिपय खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । त्यसमाथि झन् प्रशिक्षक पनि नयाँ भएकाले टिम सेट हुन समय लाग्छ,’ आल्मुताइरीले भने ।

कुवेतका आल्मुताइरीका लागि चाइनिज ताइपेईसँगको खेल नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि पहिलो आधिकारिक खेल हुनेछ । गत शनिबार इराकसँग भएको खेलमा ६-२ ले पराजित भोगे पनि अल्मुताइरी आफ्नो टिमलाई लिएर निराश छैनन् । नेपालले चाइनिज ताइपेई बोहक अस्ट्रेलिया र जोर्डनको पनि सामना गर्नेछ । ती दुवै खेल पनि कुवेती राजधानीमै हुनेछन् । 

उता चाइनिज ताइपेईका मुख्य प्रशिक्षक भोम कानहमले कुवेतको मौसम आफूहरूका लागि चुनौतिपूर्ण रहेको बताए । ‘हाम्रा लागि मौसम नै प्रमुख चुनौति हो । त्यसमाथि विदेशमा खेलिरहेका सहित केही मुख्य खेलाडी कोभिड-१९ महामारीका कारण टिमसँग छैनन् । यस्तोमा नयाँ खेलाडीहरूले जिम्मेवारी निर्वाह गर्नुपर्नेछ,’ भोमले भने ।  

भोम सन् २०२० को मार्चमा मात्रै चाइनिज ताइपेईको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । इंगल्यान्डका लुइस लानकास्टर बर्खास्तमा परेपछि भोमलाई मौका दिइएको हो । सन् २०१८ मा पनि भोेम चाइनिज ताइपेईको अन्तरिम प्रशिक्षक बनेका थिए । तर केही खेलको जिम्मेवारी पछि उनी चाइनिज ताइपेईको युवा टोलीकै भूमिकामा फर्किए । 

भोमले भनेझैँ कुवेत पुगेको चाइनिज ताइपेईको टिममा केही मुख्य खेलाडीहरू नभएको ताइपेई टाइम्सले लेखेको छ । कोभिड-१९ महामारीलाई कारण देखाउँदै ती खेलाडीहरू कुवेत जान नमानेको ताइपेई टाइम्सले दाबी गरेको छ । यद्यपि ती खेलाडीहरूको नाम खुलाइएको छैन । चाइनिज ताइपेईको टिममा अधिकांश खेलाडी स्थानिय लिग च्याम्पियन ताइनान टीएसजी र लिग उप-विजेता ताइपावरका रहेका छन् । 

चाइनिज ताइपेईको टिममा ‘हाइ प्रोफाइल प्लेयर’ इमिलियो एस्तेभेज साइलई मानिएको छ । २२ वर्षिय प्लेमेकर साइ स्पेनको तेस्रो श्रेणीको लिग खेल्छन् । उनी बाहेक जापानी मूलका योसिटाका कोमोरी पनि भोमको टिममा छन् । स्वीडिस लिग खेल्ने मिगेल सान्डबेर्गलाई पनि टिममा बोलाइएको भएपनि उनी बिरामी भएका कारण घरमै छाडिए ।


Author

थप समाचार
x