खेलकुद

युरो सुरु हुनै लाग्दा फितलो देखिएको स्पेनी अग्रपंक्ति

इकागज |
जेठ २२, २०७८ शनिवार १५:५१ बजे

काठमाडौँ: शुक्रबार राती स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकियो । दुवै टिमले गोलकका लागि केही अवसर सिर्जना गरे । आक्रमण बुन्‍ने मामलामा स्पेन अलिक अगाडि देखियो । तर अल्भारो मारोटा र अन्य फरवार्डले मौका गुमाएपछि स्पेनले गोलको खाता खोल्न सकेन । त्यसैले होला, खेल दौरान नै एस्टाडियो वान्डा मेट्रोपोलिटानोमा उपस्थित समर्थकमध्ये केहीले मोराटालाई गाली गर्न भ्याए ।

खेलपछि पनि स्पेनी समर्थकले आक्रोश देखाउन छाडेनन् । खेलाडीलाई लक्षित गरेर सिठ्ठी बजाए । जसले स्पेनी खेलाडीहरूलाई निराश बनायो । जबकी पोर्चुगलविरुद्धको खेलमा उनीहरूको प्रदर्शन त्यति बिघ्‍न खराब थिएन । उसो त खेलाडीविरुद्ध नारा लगाउने समर्थकको संख्या धेरै थिएन । त्यही पनि प्रश्‍न उठ्छ, कोभिड-१९ का कारण लामो समय रंगशालामा प्रवेश गर्न नपाएका समर्थकले युरो खेल्न ठिक्क परेको आफ्नो टिमविरुद्ध नारा किन लगाए ? 


नारा लगाउने समर्थकको संख्या थोेरै भएपनि उनीहरुको गालीले खेलाडीको मनोबल अवश्य घट्छ । मोराटा त पिडामा परेको हुनुपर्छ । दर्शकले मोराटाको प्रदर्शन मन नपराए पनि स्पेनी प्रशिक्षकले आफ्ना स्ट्राइकरको बचाउ गरे । ‘समर्थकले मोराटालाई गाली गर्नुको तुक छैन । खेलमा उनले मेहेनत गरेका हुन् । उनलाई आज भाग्यले साथ दिएन,’ स्पेनका प्रशिक्षक लुइस एनरिकेले भने । 

स्पेनले मोराटासँगै फेरान टोरेस र पाब्लो साराबियालाई अग्रपंक्तिमा खेलाएको थियो । सेन्ट्रल फरवार्ड जेरार्ड मोरेनोलाई भने बेन्चमा राखिएको थियो । त्यस्तै एथ्लेटिको बिल्बाओका गोल रक्षक उनाई सिमोन, रक्षक एयमेरिक लापोर्टे र मार्कस लोरेन्टे पनि पहिलो एघारमा परे । म्यानचेस्टर सिटीका लापोर्टे पहिलो पटक स्पेनबाट खेलिरहेका थिए । उता मिडफिल्डर लोरेन्टेलाई भने अनपेक्षित रूपमा राइटब्याक बनाएर खेलाइयो । 

कुनैबला फर्नान्डो टोरेस, डेभिड भिल्ला लगायतका स्ट्राइकरले सम्हाल्ने स्पेनी अग्रपंक्ति यसपटक मोराटा, मोरेनो जस्ता खेलाडीको काँधमा छ । उनलाई स्पेनी टिमको मुख्य स्ट्राइकरका रूपमा चित्रण गरिएको छ । तर घरेलु लिगमा गरेको प्रदर्शनलाई आधार मान्‍ने हो भने मोराटा भन्दा जेरार्ड मोरेने बलियो लयमा छन् ।

पोर्चुगलको अग्रपंक्तिमा मुख्य खेलाडी स्वभाविकरूपमा क्रिस्टियानो रोनाल्डो नै थिए । उनलाई लिभरपुलका डिएगो जोटा, लिलका रेनाटो सान्चेस र एथ्लेटिको म्याड्रिडका जोआओ फिलिक्सले सघाए । फिलिक्सले पहिलो हाफमा सन्तोषजनक खेल देखाउन नसकेपछि दोस्रो हाफमा उनको स्थानमा बर्नादो सिल्भा मैदान प्रवेश गरे । 

वान्डामा कुल १४ हजार ७ सय ४३ समर्थक उपस्थित थिए । लामो समयपछि राष्ट्रिय टिमको खेल रंगशालामै पुगेर हेर्न पाउँदा अधिकांश दंग देखिन्थे । सायद एनरिकेलाई लागेको हुँदो हो, खेलाडीलाई गाली गर्ने केही समर्थकले चाँहि टेलिभिजनमै खेल हेरेको भए हुने । उसो त समर्थकले सर्जियो रामोस स्पेनी टिममा नपरेकोमा चिक्त दुखाएनन् । संयोगवस यसपटकको युरोमा रियल म्याड्रिडका कुनै पनि स्पेनी खेलाडी हुने छैनन् । यो आफैँमा नयाँ कीर्तिमान हो । 

खेलमा स्पेनले मात्र होइन, पोर्चुगलले पनि मौका खेर फाल्यो । त्यसै पनि पोर्चुगलले गरेको आक्रमण स्पेनको भन्दा कम थियो । त्यसमा पनि जोटा र रोनाल्डोले प्राप्त सुनौला मौकालाई गोलमा परिणत गर्न सकेनन् । 

कुनैबला फर्नान्डो टोरेस, डेभिड भिल्ला लगायतका स्ट्राइकरले सम्हाल्ने स्पेनी अग्रपंक्ति यसपटक मोराटा, मोरेनो जस्ता खेलाडीको काँधमा छ । मोराटाले गत सिजन युभेन्टसमा कुल ३२ लिग खेल खेल्दा ११ गोल गरे भने १० असिस्ट दर्ता गरे । उनलाई स्पेनी टिमको मुख्य स्ट्राइकरका रूपमा चित्रण गरिएको छ ।

तर घरेलु लिगमा गरेको प्रदर्शनलाई आधार मान्‍ने हो भने मोराटा भन्दा मोरेने बलियो लयमा छन् । उनले भल्लारियलका लागि गत सिजन २३ लिग गोल गरेका थिए । स्पेनको अग्रपंक्तिमा फेरान, डानी ओल्मो, मिकल ओयार्जबल जस्ता खेलाडी पनि छन् । तर यक्ष प्रश्न, यी खेलाडीले स्पेनका लागि पर्याप्त गर्न सक्छन्/सकदैनन् भन्‍ने हो । 


Author

थप समाचार
x