खेलकुद

युरो नजिकिँदै गर्दा स्पेन र स्विडेनका खेलाडी कोभिड-१९ संक्रमणमा

इकागज |
जेठ २६, २०७८ बुधबार १६:१६ बजे

काठमाडौँ: युरो २०२० नजिकिँदै गर्दा स्पेनीमा टोलीमा कोभिड-१९ संक्रमणमा पर्ने खेलाडीको संख्या पनि बढेको छ । यस्तोमा रक्षक डिएगो लोरेन्टे कोभिड-१९ संक्रमणमा पर्ने दोस्रो स्पेनी खलाडी बनेका छन् । केही दिनअघि कप्तान सर्जियो बुस्क्‍वेट्समा पनि कोभिड पोजिटिभ देखिएको थियो ।

स्पेनले समूह इ को आफ्नो पहिलो खेलमा सोमबार राती स्विडेनको सामना गर्दैछ । स्पेनको विपक्षी स्विडेनले पनि कोभिड-१९ का कारण खेलाडी गुमाएको छ । युभेन्टसका विङ्गर डेजान कुलुसेभेस्कीमा पनि कोभिड पोजिटिभ देखिएको छ । त्यसअघि नै रक्षक माटिएस स्भानबेर्ग कोभिड-१९ को संक्रमणमा परी टिमबाट बाहिरिसकेका थिए । 


स्पेनी क्याम्पमा कोभिड-१९ संक्रमितहरुको संख्या बढ्ने बताइएको छ । स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुबिएलसले लोरेन्टेबारेमा जानकारी दिँदै आगामी दिनमा अन्य खेलाडीमा पनि पोजिटिभ देखिन सक्ने बताएका हुन् । बुस्‍क्‍वेट्समा पोजिटिभ देखिएपछि स्पेनका सबै खेलाडीलाई आइसोलेसनमा राखिएको छ । उनीहरूलाई पाँच-पाँचजनाको समूहमा अभ्यास गराइदै आइएको छ । दुई खेलाडी टिमबाट बाहिरिएपछि स्पेनले गोलरक्षक केपा र राउल अल्बियोललाई युरोमा सहभागी गराउने सम्भावना छ ।   


 


Author

थप समाचार
x