सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सदभावलाई एक स्ट्रोकको अग्रता
काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिन सफल भएका छन् ।
डिफेन्डिङ च्याम्पियन सदभावले आज १-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३-अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धनबहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन् । १-अन्डर ६७ सहित समग्रमा २-अन्डर १ सय ३४ सहित धन दोस्रो स्थानमा उक्लिए ।
पुर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले समग्रमा १-अन्डर ३५ को नतिजामा संयुक्त रुपमा तेस्रो स्थान बाँडे । रविले आज २-अन्डर ६६ र रामेले २-ओभर ७० मा दोस्रो दिनको खेल सकाए ।
२-अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापति समग्रमा इभन-पार १ सय ३६ सहित पाँचौ स्थानमा रहेका छन् । समग्रमा २-ओभर १ सय ३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटीले छैटौं स्थान बाँडे । जयरामले १-अन्डर ६७ र भुवनले ३-ओभर ७१ मा आजको खेल सकाए । ३-ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौं स्थानमा तल झरे ।
यसैगरी ३-ओभर १ सय ३९ स्कोरमा सञ्जय लामा, दीपक थापा र सूर्यप्रसाद शर्मा संयुक्तरुपमा आठौं स्थानमा रहे । सञ्जयले दोस्रो दिनको उत्कृष्ट कार्ड बनाउँदै ३-अन्डर ६५ मा खेल सकाए । दीपकले इभन-पार ६८ र सूर्यले १-ओभर ६९ को स्कोर दर्ज गरे ।
एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६-ओभर १ सय ४२ सहित संयुक्त रुपमा दोस्रो स्थानमा छन् । दुवैले आज ३-ओभर ७१ को स्कोर बनाए । उनीहरू लिडर सदभावभन्दा ९ स्ट्रोकले पछि रहेका छन् ।
३६ होलको समाप्तीमा १९-ओभर १ सय ५५ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ३ एमेच्योर गरी कुल २४ जनाले कट बनाएका छन् । कृष्णमान राजबाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णु प्रसाद शर्मा, प्रदीप कुमार लामा, टंक बहादुर कार्की, भुवन कुमार रोक्का, वसन्त राज गुरुङ, पशुपति शर्मा, धुव्र केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे ।
उपाधि रक्षा गर्ने कोसिसमा रहेका युवा एमेच्योर सदभावले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। पहिलो र चौथो होलमा बर्डी प्रहार गरे । तर पाँचौं होलमा डबल बोगी र सातौं होलमा बोगीको सामना गरे । सदभावले ब्याक नाइन भने २-अन्डर ३२ मा पूरा गरे । ५-पारको १०औँ होलमा इगलको सफलता प्राप्त गर्दा ११औँ होलमा बर्डी प्रहार गरे । १४ औँ होलमा भने एक सट खेर फाले ।
धनले दोस्रो होलको बोगीका विरूद्ध तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १-अन्डर मा सकाए । यसपछि १२औँ होलमा बोगी र १३औँ होलको बर्डीले ब्याक नाइनमा इभन-पार ३४ को स्कोर निकाले ।
दोस्रो र चौथो होलको बर्डीमा रविले फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे । यसपछि १५औँ होलमा एक सट खेर फाल्दा १८औँ होलको बर्डीले ब्याक नाइन इभन-पार ३४ मा सकाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया