खेलकुद

किसुनजी स्मृति हाफ म्याराथनमा विजय र पुष्पा पहिलो

इकागज |
चैत १७, २०८० शनिबार १५:५० बजे

काठमाडौँ- विजय रावत र पुष्पा भण्डारी तेश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् । विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन् ।

विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे । १३ औँ सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेन्ड समयमा दोश्रो तथा हङकङमा भएको तेश्रो एसियाली युथ (यू–२०) एथलेटिक्स च्याम्पियनसीपको ३ हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव १ घण्टा ११ मिनेट ३३ सेकेन्डमा तेश्रो भए ।


नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा तय गरिन् । दोश्रो भएकी राममाया बुढाले १ घण्टा ३३ मिनेट १२ सेकेन्ड समय निकालिन् । १ घण्टा ३५ मिनेट ४४ सेकेन्डमा शुशान कार्की तेश्रो बनिन् । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरुष ५ किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहे । विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोश्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेश्रो भए । सो स्पर्धाको महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डमा सकाउदै सर्मिला बस्नेत पहिलो भइन् । २६ मिनेट ०९.३४ सेकेन्डमा सुस्मु डोल्मु तामाङ दोश्रो तथा ३२ मिनेट ३४.३६ सेकेन्डमा दिविका गुरुङ तेश्रो भए । दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रोले ५ हजारका दरले नगद पुरस्कार पाए ।

विजेतालाई पूर्व मन्त्री धनराज गुरुङ, पूर्व प्रदेश सांसद् राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


Author

थप समाचार
x