खेलकुद

प्रशिक्षक अल्मुताइरीको चुनौती : ‘बेस्ट इलेभेन’ को खोजी र आक्रामक फुटबल

प्रविणबिक्रम कट्‍वाल |
जेठ ३०, २०७८ आइतवार ८:० बजे

काठमाडौँ : विश्‍वकप २०२२ छनौट (दोस्रो चरण) को आफ्नो अन्तिम खेलमा शुक्रबार अस्ट्रेलियासँग ३-० ले पराजित भएसँगै नेपालको ध्यान अब एसियन कप छनौटको ‘प्ले-अफ’ तर्फ सोझिएको छ । विश्वकप छनौटको समूह ‘बी’ मा रहेको नेपाल चौथो स्थानमा रह्यो । कुल आठ खेल खेल्दा नेपालले दुई जित दर्ता गर्‍यो । दुवै जित चाइनिज ताईपेईविरुद्ध रह्यो । 

नेपालले सेप्टेम्बर २०१९ मा कुवेतसँगको खेलबाट कतारमा हुने विश्वकपका लागि छनौट चरण खेल्न सुरु गरेको थियो । जुन योहान कालिनका लागि नेपालको मुख्य प्रशिक्षक बनिसकेपछिको पहिलो आधिकारिक खेल थियो । कुवेतविरुद्धको खेल ७-० ले गुमाएको नेपालले दोस्रो खेलमा चाइनिज ताईपेईलाई २-० ले पराजित गरेको थियो । त्यो पनि उसकै मैदानमा ।  


विश्‍वकप छनौटमा कालिनको प्रशिक्षणमा नेपालले एक ‘अवे’ गरी कुल पाँच खेल खेल्यो । ती खेलमा नेपालले १६ गोल खायो भने दुई गोल फर्कायो । कुवेतविरुद्धको दोस्रो लेग भने काठमाडौँमा हुनुपर्ने थियो । तर एएफसीले दशरथ रंगशाला विश्वकप छनौट खेल खेलाउन योग्य नभएको बताएपछि खेल थिम्पुस्थित चाङलिमिथाङ रंगशालातर्फ सारियो । दोस्रो लेगमा नेपालले सुधारिएको प्रदर्शन गर्दा नतिजा १-० मा टुङगियो ।

नेपालले तीन खेल्न बाँकी रहँदा कोभिड-१९ का कारण विश्‍वकप छनौटको मिति सर्‍यो । र, घरेलु मैदानमा खेल्ने मौका पनि नेपालले गुमायो । एएफसीले कुवेतका दुई मैदानमा समूह ‘बी’ का बाँकी खेल खेलाउने निर्णय गर्‍यो । यसबीच नेपालले कुवेतका अब्बदुल्लाह अल्मुताइरीलाई मुख्य प्रशिक्षक बनायो । उनको प्रशिक्षणमा नेपालले विश्‍वकप छनौटका तीनसहित कुल चार खेल खेल्यो । 
     
मे २९ मा इराकसँगको मैत्रीपूर्ण खेल अल्मुताइरीका लागि नेपालको मुख्य प्रशिक्षक बनेपछिको पहिलो खेल रह्यो । त्यसपश्चात् कुवेत लागेको नेपाली टिम त्यहाँ फिफा वरियतामा आफूभन्दा माथि रहेका तीन टिमसँग भिड्यो । चाइनिज ताईपेईलाई फेरि पनि हराएका नेपालले जोर्डन र अस्ट्रेलियासँग समान ३-० को हार ब्यहोर्‍यो । 

अल्मुताइरी गत अप्रिलमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग एक वर्षका लागि सम्झौता गरेको बताइएको छ । नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि अल्मुताइरीका लागि सुरुवाती चुनौती विश्वकप छनौटका तीन खेल नै थिए । त्यसअर्थमा उनको नेपाल बसाइको पहिलो चरण सकिएको मान्‍न सकिन्छ । 

नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि अल्मुताइरी अप्रिल ४ मा आफ्नो पहिलो पत्रकार सम्मलेनमा देखा परे । आफूले केही समययता नेपाली टिमको प्रदर्शन नियालिरहेको र नेपाली खेलाडीको स्तरबारेमा जानकार रहेको बताए । उसो त राष्ट्रिय टिम छनौट गर्न  अल्मुताइरीलाई काठमाडौँमा भएको नेपाल सुपर लिग (एनएसएल)ले पनि सजिलो बनायो । 

तर संयोगबस एनएसएल जितेको काठमाडौँ रेजर्सका कुनै पनि खेलाडी बन्द प्रशिक्षणमा परेनन् । भविष्यका लागि टिम निर्माण गरिरहेको बताएका अल्मुताइरीले थ्री-नेसन्स कप जितेको नेपाली टिममा १३ परिवर्तन गरे । तीमध्ये छ नयाँ अनुहार थिए । पहिलो पटक सिनियर टिममा परेका फुलब्याक गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीले इराकसँगको मैत्रीपूर्ण खेलमा मौका पाए । त्यस्तै विश्वकप छनौटको अन्तिम खेलसम्म आइपुग्दा थप तीन खेलाडीले डेब्यू गरे । 

अस्ट्रेलियाविरुद्धको खेलमा इन्जुरी समयमा मैदान प्रवेश गरेका सुरजज्यू ठकुरी, आयुष घलान र कमल थापा मिडफिल्डर हुन् । पहिलो पटक सिनियर टिममा परेका गोलरक्षक विशाल सुनारले भने मैदान उत्रने मौका पाएनन् । त्यसो त अर्का गोलरक्षक दीप कार्कीले पनि अहिलेसम्म सिनियर टिमबाट खेलेका छैनन् । संयोगवस हालको २३ सदस्यीय टिममा डेब्यू गर्न बाँकी खेलाडी यी दुई गोलरक्षक मात्रै हुन् । 

अबको ‘ट्रिकी’ यात्रा

कुवेत लाग्‍नुअघि नेपाली टिमको लक्ष्य थियो, आफ्नो समूहमा चौथो रहँदै एसियन कप २०२३ छनौटको तेस्रो चरणमा पुग्‍ने । आ-आफ्ना समूहमा चौथो हुने चार उत्कृष्ट टिमले सिधै तेस्रो चरणको छनौट खेल्न पाउने हुँदा अल्मुताइरीको नजर त्यता थियो । तर दुई जित मात्रै बटुलेको नेपाल चौथो हुने उत्कृष्ट चार टिमको सूचीमा पर्न सकेन । तसर्थ नेपालले अब तेस्रो चरणको छनौट खेल्न प्ले-अफको बाटो तय गर्नुपर्नेछ ।
 
प्ले-अफमा कुल १२ टिम (आ-आफ्ना समूहमा चौथो भएका ४ र पाँचौँ भएका ८) सहभागी हुनेछन् । प्ले-अफमा जित हासिल गर्ने ६ टिम एसियन कप छनौटको तेस्रो चरणमा पुग्‍नेछन् । पराजित हुने छ टिम फेरि दोस्रो प्ले–अफमा भिड्नेछन् र विजयी तीन टिमलाई पनि तेस्रो चरणको छनौटमा लगिनेछ । 

विश्‍वकप छनौटको दोस्रो चरणमा नेपालले आफूभन्दा निकै बलिया विपक्षीको सामना गर्नुपर्‍यो । अब प्ले-अफ र तेस्रो चरणको छनौटमा भने उस्तै स्तरका वा फिफा वरियातामा धेरै तल-माथि नभएका टिम भिड्नेछन् । उदाहरणका लागि, माल्दिभ्स, अफगानिस्तान जस्ता टिम प्ले-अफमा सहभागी हुनेछन् । त्यस्तै, पूर्वी एसियामा इन्डोनेसिया, सिंगापुर जस्ता टिमको यात्रा पनि प्ले-अफतर्फ नै मोडिने सम्भावना छ ।  त्यसकारण अल्मुताइरी र उनका खेलाडीका लागि अबको यात्रा ‘ट्रिकी’ हुनेछ ।

अल्मुताइरीले नेपालको जिम्मेवारी लिएको दिनबाटै साफ कप आफ्नो लक्ष्य भएको बताउँदै आएका छन् । उसो त साफ कप जित्ने सपना नेपालका लागि नौलो होइन । यद्यपि नेपाली टिमलाई न त स्वदेशी न त विदेशी प्रशिक्षकले नै सेमिफाइनल पार गराउन सकेका छन् । साफ कपमा निश्चय पनि भारत र माल्दिभ्सको दबदबा छ ।

सन् २०११, २०१३ र २०१५ को संस्करणमा अफगानिस्तानले ती दुई टिमलाई टक्कर दियो । तर अफगानिस्तानले साफ नखेल्ने निर्णय गरेपछि दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगितामा फेरि भारत र माल्दिभ्स नै दाबेदार रहने छन् । त्यसकै उदाहरण हो, साफ कप २०१८ को फाइनल । जहाँ माल्दिभ्सले भारतलाई हराएर उपाधि उचालेको थियो । 

जारी विश्वकप छनौटमा भारतले समूह ‘इ’ को तेस्रो स्थानमा छ । समूहको शीर्षस्थानमा रहेको कतारलाई पहिलो लेगमा गोलरहित बराबरीमा रोकेको भारतको एसियन कप छनौटको सिधै तेस्रो चरणमा पुग्‍ने सम्भावना जीवित छ । उता समूह ए मा चौथो रहेको मालिदभ्सले भने तेस्रो चरण पुग्‍न प्ले-अफ नै खेल्नुपर्नेछ । नेपालको अर्को प्रतिद्वन्द्वी बंगलादेशले पनि प्ले-अफ नै खेल्नेछ । 

‘बेस्ट इलेभेन खोज’

‘नेपालले अब आक्रामक फुटबल खेल्नेछ,’ अल्मुताइरीको सुरुवाती अभिव्यक्ति हो यो । अल्मुताइरीले नेपाली फुटबलमा नयाँ शैली र भिन्न प्रकारको रणनीति प्रयोग गरिरहेका छन् भनेर नेपाली फुटबल विश्लेषकहरूले भनिरहेका पनि छन् । बलिया विपक्षीसँग खेल्नु परेर हुनसक्छ, नेपाली टिमले अल्मुताइरीले भनेझैँ आक्रमक खेल देखाइहालेको भने  छैन । जोर्डनसँगको खेलमा नेपाल आफ्नै क्षेत्रमा खुम्चिन बाध्य थियो । यद्यपि चाइनिज ताईपेईविरुद्ध भने नेपालले केही राम्रा मुभ बनायो । 

त्यस खेलमा नेपालले गरेको दोस्रो गोल दर्शनीय थियो । अस्टे«लियासँगको दोस्रो हाफमा १० जनामा सीमित नेपालले बहादुरीपूर्वक खेल्यो । केही सन्दर्भमा अल्मुताइरी आफ्ना पूर्ववर्तीभन्दा फरक देखिएका छन् । उनले निरन्तर टिम ‘रोटसन’ गरिरहेका छन् । अनि खेलको आवश्यकताअनुसार चाँडोचाँडो खेलाडी पनि परिवर्तन गरिरहेका छन् ।  अल्मुताइरीको यो रणनीतिलाई ‘बेस्ट इलेभेन’को खोजीको  रुपमा पनि अर्थ्याउन सकिन्छ । 

कुनै पनि प्रशिक्षकका लागि आफ्नो ‘बेस्ट इलेभेन’ पत्ता लगाउनु सजिलो काम होइन । तर अल्मुताइरी सुरुदेखि नै यो खोजमा दत्तचित्त भएको महसुस गर्न सकिन्छ । यसो गर्दा अल्मुताइरीले सेन्ट्रल डिफेन्समा रोहित चन्द र अन्‍नत तामाङको जोडीलाई नै विश्वास गरिरहेका छन् भने  विश्वकप छनौटका दुई र इराकसँगको मैत्रीपूर्ण खेलमा सुमन अर्याल र गौतम श्रेष्ठको जोडीलाई फुलब्याक पोजिसिजनमा उपयोग गरेका छन् ।
  
मिडफिल्ड र अग्रपंक्तिमा भने अल्मुताइरीले निरन्तर परिवर्तन गरिरहेका छन् । डिफेन्सिभ मिडफिल्डमा पुजन उपरकोटीको स्थान सुरक्षित रहे पनि मिडफिल्डका अन्य दुई पोजिसनमा भने अल्मुताइरीले फरक फरक खेलाडीलाई टेस्ट गरेका थिए ।  इराक र चाइनिज ताईपेईविरुद्ध गोल गरेका अन्जन अस्ट्रेलियाविरुद्ध घोषित पहिलो एघारमा परेनन् । जोर्डनसँगको खेलमा स्ट्राइकरको भूमिकामा देखिएका अभिषेक रिजाल अस्ट्रेलियाविरुद्ध मैदान टेक्ने पाएनन् । जबकि ती दुवै खेलमा सुमन लामाले आफ्नो स्थान सुरक्षित गरे । त्यसकारण पनि पछिल्ला चार खेलको विश्लेषण गर्ने हो भने, अल्मुताइरी आफ्नो ‘बेस्ट इलेभेन’ पत्ता लगाउने भगीरथ प्रयत्‍नमा छन् भन्‍न सकिन्छ ।
 
उसो त विदेशी प्रशिक्षकको आगमनले सबै खेलाडीलाई बराबरी मौका प्रदान गर्छ । आफूले प्रयोग गर्न चाहेको शैलीमा कुन खेलाडी उपयुक्त हुन्छन्, भन्‍ने पत्ता लगाउन पनि प्रशिक्षकलाई समय र खेलको आवश्यकता पर्छ । यसअर्थमा अल्मुताइरीका लागि विश्वकप छनौट र इराकसँगको मैत्रीपूर्ण खेल फलदायी भएको छ । तत्काल लिग नहुने भएकाले पनि अल्मुताइरीका लागि अहिले भएकै खेलाडी मुख्य अस्त्र हुन् ।बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई पुनः प्रशिक्षण शिविरमा बोलाएर थप टेस्ट गर्ने विकल्प पनि अल्मुताइरीसँग छ । उनी आफैँले पनि लामो प्रशिक्षण शिविरको आवश्यकता रहेको औंल्याएका छन् । 

इराक र कुवेतसँगको खेलमा नेपाली रक्षापंक्तिबाट गल्ती भइरह्यो । बलिया टिमसँग खेल्दा नेपाल जस्तो कमजोर टिमका रक्षकबाट हुने गल्तीलाई असामान्य मानिँदैन । तर बारम्बार उस्तै प्रकृतिका गल्ती हुनु क्षम्य मान्‍न सकिन्‍न । मिस पास, गलत स्थानमा ट्याकल, कम्युनिकेसनको अभाव, विपक्षीको मुभमेन्टदेखि सर्तक नहुने लगायतका समस्या रक्षापंक्ति देखिनु पनि राष्ट्रिय टोलीको भविष्यका लागि राम्रा संकेत होइनन् । यी समस्यालाई अल्मुताइरीले बन्द प्रशिक्षण शिविरमा सम्बोधन गर्न सक्छन् । तर त्यसका लागि खेलाडी पनि ‘ओपन’ रहन पर्छ । किनकि प्रशिक्षकले जे भने पनि मैदानमा लागू गर्ने खेलाडी नै हुन् ।   


 


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x