खेलकुद

युरो २०२० : खेल १२, आत्मघाती गोल तीन

इकागज |
असार २, २०७८ बुधबार १०:५८ बजे

काठमाडौँ : युरोको समूह ‘एफ’मा मगंलबार राति दुई ठूला टिम फ्रान्स र जर्मनीले भिडे । खेल फ्रान्सले जित्यो । त्यो पनि आफूले गोल नगरी । खेलको एक मात्रै गोल जर्मनीका माट हुमल्सले गरे । अनुभवी हुमल्सले २० औँ मिनेटमा आत्मघाती गोल गरेपछि विश्वकप विजेता फ्रान्सले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुवात गर्‍यो । 

हुमल्सले गरेको आत्मघाती गोल जारी युरोमा भएको तेस्रो आत्मघाती गोल हो । यसअघि पोल्यान्डका गोलरक्षक वोइजाक सेज्‍नी र टर्कीका रक्षक मेरी डेमिरालले आत्मघाती गोल गरिसकेका छन् । युरोमा थप आत्मघाती गोल भए त्यो नयाँ कीर्तिमान सावित हुनेछ । किनभने यसअघिका संस्करणमा तीन भन्दा बढी आत्मघाती गोल भएको छैन । 


हुमल्सको आत्मघाती गोल जर्मनीले मुख्य प्रतियोगितामा गरेको सन् १९७८ यता कै पहिलो आत्मघाती गोल हो । पछिल्लो पटक मुख्य प्रतियोगितामा जर्मनीको जर्सीमा आत्मघाती गोल गर्ने खेलाडी बेर्टी भोग्ट्स हुन् । उनले विश्वकपमा अस्ट्रियाविरुद्ध आफ्न पोस्टमा गोल गरेका थिए । 

उता हुमल्सका लागि भने यो दोस्रो आत्मघाती गोल हो । उनले सन् २०१५ मा स्कटल्यान्डसँगको युरो छनौट खेलदौरान पनि म्यानुएल नुएरविरुद्ध गोल गरेका थिए । 
उता जर्मनीका प्रशिक्षक योकिम लोले हुमल्सको आलोचना गर्न नहुने बताए ।

‘त्यो बल क्लियर गर्न सजिलो थिएन । फेरि खेल पनि कठिन थियो । हामीले अन्त्यसम्मै मेहेनत गर्‍यौ । मैले खेलाडीहरूको आलोचना गर्ने ठाउँ छैन । यद्यपि हामी फाइनल थर्डमा भने केही कमजोर देखियौँ । गोलका धेरै मौका सिर्जना गर्न सकेनौँ,’ लोले भने । 


Author

थप समाचार
x