सातौ मेयर कप ब्याडमिन्टनको उपाधि पविन र निश्चलको जोडीलाई
काठमाडौँ- त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र भोजपुरका निश्चल खत्रीको जोडीले भोजपुरमा सम्पन्न सातौं मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।
भोजपुरमा भएको पुरुष युगल फाइनल खेलमा पविन र निश्चलको जोडीले आर्मीका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई २१–१८, २०–२२, २१–११ ले पराजित गर्दै उपाधि जितेको हो ।
विजयी खेलाडीहरूले नगद ५० हजार र उपविजेताले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेस्रो स्थान प्राप्त गर्ने एपिएफका भोजबहादुर गुरुङ र भोजपुरका लाक्पा शेर्पा तथा संखुवासभाका सुनिल कार्की र भोजपुरका महेश खड्काको जोडीले नगद १२/१२ हजारका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
मिक्स डबल्स खुल्लातर्फको प्रतिस्पर्धामा पूर्व नम्बर एक भोजपुरकी नङ्गशल तामाङ र एपिएफका भोजबहादुर गुरुङको जोडीले उपाधि जित्यो । उक्त जोडीले संखुवासभाका सुनिल कार्की र ईलामकी निसम सुब्बालाई २१–१७, २१–११ ले पाखा लगाउँदै उपाधि उचालेको हो । उदयपुरका बिनय चौधरी र फिदिमकी छाया केरुङ्ग तथा आर्मीका नरेन्द्र बम र रिहाना शेरचनको जोडी संयुक्त तेस्रो भए ।
विजयी जोडीले नगद ५० हजार, उपविजेताले नगद २० हजार र तेस्रो हुनेले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिताको यू–१५ गर्ल्सतर्फको प्रतिस्पर्धामा आर्मीकी रिहाना शेरचनले आफ्नै क्लबकी सम्बृद्धि श्रेष्ठलाई २१–१६, २१–५ ले पराजित गर्दै जित हात पारिन् । तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई र भोजपुरकी नदिरा तामाङ रहे ।
यस्तै ब्वाईजतर्फ आर्मीका सुविन श्रेष्ठले आफ्नै क्लबका सुदेश राजकोटीलाई पराजित गर्दै उपाधि जिते । सुविनले सुदेशमाथि २१–१०, २१–१७ को जित निकालेका हुन् । एनटिएससीका सुजल चौधरी र भोजपुरका सदीप राई संयुक्त तेश्रो भए ।
यू–१५ तर्फ पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
९० वर्षमाथिको मास्टर्स डबल्सतर्फ भोजपुरका राम राई र दानबहादुर तामाङ्गको जोडीले जित हात पार्यो । उक्त जोडीले सुनसरी ब्याडमिन्टन एकेडेमीका भजनलाल चौधरी र सावन चौधरीको जोडीलाई २१–१८, २१–१९ ले पराजित गरेको हो । तेश्रो स्थानमा एनटिएससीका सन्तोष कटुवाल र सुनिल परियारको जोडी तथा भोजपुरका जीवन बोगटी र एलबिएका राजेन्द्र महर्जन रहे । जोडीको कुल उमेर ९० बर्ष मानेर ९० बर्ष माथिको मास्टर्स प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक पूर्व च्याम्पियन बिवेक श्रेष्ठले जानकारी गराए ।
विजयी जोडीले नगद ३० हजार उपविजेता जोडीले नगद २० हजार र तेश्रोले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
यस्तै पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा दमक एनबिएका जुनुन राई र प्रकाश राइको जोडीले पाँचथरका कुशल बस्नेत र दर्पण केरुङ्गको जोडीलाई २१–१८, २१–१७ ले पराजित गरे ।
विजयी खेलाडीहरूलाई भोजपुरका मेयर, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव वीरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया