खेलकुद

कोपा अमेरिकामा भावुक बने नेयमार

इकागज |
असार ४, २०७८ शुक्रवार १७:१९ बजे

काठमाडौँ: ब्राजिलमा जारी कोपा अमेरिकामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । आयोजक ब्राजिल समूह बी को शीर्षस्थानमा छ । आफ्नो दोस्रो खेलमा शुक्रबार बिहान पेरुलाई ४-० ले पराजित गरेपछि ब्राजिलले नकआउट चरणमा आफ्नो स्थान पक्का गर्‍यो । 

ब्राजिलका गोल नेयमारले फेरि एकपटक गोल गरे । नेयामार बोहक ब्राजिलका लागि एलेक्स सान्ड्रो, एभरटन रिबेरो र रिचारलिसनले पनि एक-एक गोल गरेका थिए । नेयमारले भेनेजुएलासँगको खेलमा पनि एक गोल गरेका थिए । 


घरेलु भूमीमा जारी कोपामा नेयमारले ब्राजिलका लागि बलियो खेल देखाइरहेका छन् । पेरुविरुद्धको खेलमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । खेलपछि उनी भावुक पनि देखिए । ‘पछिल्ला दुई वर्ष मेरा लागि कठिन रहे । मैले कोपा पनि गुमाए । यसपटक भने ब्राजिलका जर्सी लगाएर खेल्न पाइरहेको छु । त्यसकारण पनि म भावुक भएको छु,’ नेयमारले भने । 

ब्राजिलमै सम्पन्‍न कोपा २०१९ मा चोटका कारण नेयमार अनुपस्थित थिए । फेरि प्रतियोगिता सुरु हुँदै गर्दा नेयमार विवादमा पनि तानिए । उनीमाथि बलात्कारको आरोप लाग्यो । यद्यपि त्यो आरोप पुष्टि भएन । ब्राजिले नवौँ पटक कोपा विजेता बन्दा घरमा रहेका नेयमार यसपटक भने टिमको नेतृत्व गरिरहेका छन् । 

पेरुविरुद्ध गरेको गोलले नेयमारलाई पेलेको कीर्तिमान नजिक पुर्‍याएको छ । नेयमारले एक सय ७ खेलमा ६८ गोल गरिसकेका छन् । थप नौ गोल गरे नेयमारले पेलेको ब्राजिलको राष्ट्रिय टिममा राखेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्नेछन् । 

‘ब्राजिलियन टिमको हिस्सा बन्न पाउनु भाग्यको कुरा हो । यो मैले देखेको सपना पनि हो । किनभने ब्राजिलको फुटबल इतिहास सम्मानजनक छ । तर मैले यत्तिको संख्यामा गोल गर्नसक्छु भनेर कहिले पनि सोचेको थिएन,’ नेयमारको भनाइ थियो । 


Author

थप समाचार
x