खेलकुद

बराबरीपछि निराश बनेका इंग्लिस प्रशिक्षक साउथगेट भन्छन्, ‘खेल जित्‍न पर्याप्त प्रयास भएनन्’

इकागज |
असार ५, २०७८ शनिवार १३:३२ बजे

काठमाडौँ : युरो २०२० मा इंगल्यान्डको सुरुवात बलियो रह्‍याे । समूह ‘डी’ मा आफ्नो पहिलो खेलमा इंगल्यान्डले बलियो मानिएको क्रोएसियामाथि १-० को जित दर्ता गरेको थियो । यस्तोमा इंगल्यान्डका लागि शुक्रबार स्कटल्यान्डलाई हराउँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्ने मौका थियो । तर ग्यारेथ साउथगेटको टिमले स्कटिस रक्षापंक्ति तोड्न सकेन ।

२० हजारभन्दा केही बढी दर्शक उपस्थित रहेको खेलमा इंगल्यान्डले गोलको मौका सिर्जना गर्न नसकेको होइन । तर स्कटिस रक्षकहरूका अगाडि इंग्लिस फरवार्डहरुको जोड चलेन । खेलपछि इंगल्यान्डका प्रशिक्षक साउथगेट निराश देखिए । 


‘मलाई लाग्छ हामीले निराशाजनक खेल देखायौँ । खेल जित्न हामीले पर्याप्त प्रयास गरेनौँ । आफ्नो स्तर अनुसारको खेल्न सकेनौँ । त्यसकारण आउँदा खेलमा हामीले सुधार गर्नुपर्छ । हामी स्वमुल्याकंन गर्नुपर्छ । त्यसका लागि मैले पनि आफ्नो रणनीतिबारेमा विश्लेषण गर्न आवश्यक छ,’ साउथगेटले भने ।

साउथगेटले स्कटल्यान्डसँगको खेलमा दुई खेलाडी परिवर्तन गरेका थिए । कायल वाल्कर र केइरन ट्रिपियरको स्थानमा रेसे जेम्स र लुक शलाई मौका दिइएको थियो । तर चोटबाट फर्केका ह्यारी मग्वायरलाई भने बेन्चमा पनि राखिएन ।  

पहिलो खेलमा संघर्षरत देखिएका कप्तान ह्यारी केनले स्कटल्यान्डसँगको खेलमा पनि उल्लेख्य योगदान गर्न सकेनन् । टोटनहमका स्ट्राइकरको स्थानमा म्यानचेस्टर युनाइटेडका मार्कस रासफोर्डलाई मैदान प्रवेश गराइएको थियो । अन्तिम १५ मिनेट खेल्दा रासफोर्डले खेलमा परिवर्तन ल्याउन सकेनन् । 

‘अग्रपंक्ति र मिडफिल्डबीच समन्वयको अभाव देखियो । त्यसकारण रासफोर्डलाई मैदान प्रवेश गराइएको हो । ता कि उनले मिडफिल्डबाट बल संकलन गर्न सकुन् । यस प्रकारको परिवर्तन गर्न आवश्यक हुन्छ । हाम्रो टिममा अधिकांश खेलाडी युवा छन् । कतिपय खेलाडीसँग यो स्तरको अनुभव छैन । त्यसकारण हामीले निरन्तर मेहेनत गर्नुपर्ने आवश्यक छ,’ साउथगेटको भनाइ थियो ।


Author

थप समाचार
x