खेलकुद

युरो २०२० : खतरामा योकिम लोको विरासत

इकागज |
असार ५, २०७८ शनिबार १९:१६ बजे

काठमाडौँ : युरो २०२० मा शनिबार राती पोर्चुगल र जर्मनी आमने सामने हुँदैछन् । दुई टिम म्युनिखको आलियान्ज एरेनामा भिड्दा घरेलु टिम जर्मनी दबाबमा हुनेछ । किनभने जर्मनी जारी युरोमा जितविहिन छ । उता पोर्चुगलको खातामा भने तीन अंक छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १-० ले हार्दा पोर्चुगलले भने हंगेरीलाई ३-० ले हराएको थियो ।
 
जर्मनीको लय कमजोर देखिए पनि पोर्चुगलविरुद्धको उसको ‘रेकर्ड’ कमजोर छैन । जर्मनीले क्रिस्टियानो रोनाल्डो सम्मिलत पोर्चुगलसँग चार खेल खेलेको छ । ती चारै खेलमामा विजयी भएको छ । चार भिडन्तमा जर्मनीले ११ गोल गरेको छ भने तीन गोल मात्रै खाएको छ ।
 
जारी युरोमा समूह विजेता र उप-विजेता अन्तिम १६ का लागि स्वत छनौट हुनेछन् । त्यस्तै तेस्रो स्थानमा रहने चार उत्कृष्ट टिमलाई पनि प्रि-क्‍वार्टरफाइनलमा स्थान दिइनेछ । तसर्थ जर्मनीको ध्यान कमसेकम समूह उप-विजेता बन्‍ने हो । जर्मनीले समूहको आफ्नो अन्तिम खेलमा हंगेरीको सामना गर्नेछ । तर त्यस खेल भन्दा अगाडि युरोको सम्भावित विजेता मानिएको प्रतिद्वन्द्वीलाई हराउनु पर्ने चुनौती छ । यस्तोमा प्रश्‍न उठ्छ, सात वर्षपछि पोर्चुगलसँग भिड्दा जर्मनीको लय कस्तो हुनेछ ? 

हुन त जर्मनीले फ्रान्सविरुद्ध खराब प्रदर्शन गरेको होइन । बल पोसेसन राख्ने, गोलका मौका सिर्जना गर्ने, आक्रमण बुन्नेलगायतका मामलामा जर्मनी अगाडि देखिएको थियो । तर अन्ततः माट हुमल्सको आत्मघाती गोलले जर्मनी नतिजामा पछि पर्‍यो । अब पोर्चुगलसँग भिड्दा जर्मनीसँग गल्ती गर्ने सुविधा रहने छैन । कमसकेम नक आउट चरण पुग्‍नु पर्ने बाध्यतामा रहेको जर्मनीका लागि बलियो पोर्चुगलविरुद्धको खेल आफूलाई सुधार गर्ने मौका हो । 


पहिलो खेलमा फितलो देखिएको जर्मनको अग्रपंक्तिदेखि समर्थक खुशी छैनन् । शुक्रबार जर्मन टिमले अभ्यास गरिरहेको स्थानमा पुगेर ‘जर्मनी, गोल गर’ भनेर चिच्याएर समर्थकले त्यसको छनक दिइसके । जर्मनीको अग्रपंक्ति साच्चै भुत्ते भएको हो त ? फ्रान्ससँगको खेलमा जर्मनीले कुल १० आक्रमण बुन्यो । तर ‘सट अन टार्गेट’ को संख्या एक मात्रै थियो । जर्मन अग्रपंक्तिको लय देखेरै हुनसक्छ, फ्रान्सले बल पोसेसन बढाउन उति मेहेनत नगरेको ।
 
हुन त जर्मनीका खेलाडीले नै गोलको पर्याप्त मौका सिर्जना गर्न सकेनौँ भनेका छन् । कठिन समूहमा रहेको जर्मनीका यो सुखद संकेत होइन । यस्तोमा सबैको नजर जर्मन प्रशिक्षक योकिम लोमाथि छ । हाल उत्पन्‍न संकटलाई लोले कस्तो रणनीति प्रयोग गरेर टार्छन् ? यसको उत्तर पोर्चुगलसँगको खेलमा खोजिनेछ । 

जर्मनीमा प्रतिभाशाली खेलाडीको कमी छैन । तर ती खेलाडीले आफ्नो स्तर अनुसारको खेल देखाउन सकेका छैनन् । लोले पहिलो खेलमा तीन सेन्ट्रल डिफेन्डरको प्रयोग गरे । अनि विङब्याकको भूमिका जोसुआ किमिच र रोबिन गोसेन्सलाई दिइयो । ती दुवै खेलाडीले आफ्नो भूमिकालाई न्याय गरे । तर अग्रपंक्तिमा रहेका सर्ज गानाब्री, काई हाबर्टस र थोमस मुलरको प्रदर्शनमा प्रश्‍न उठ्यो । 

खेल सुधारका लागि जर्मनीले ‘ब्याक फोर’मा फर्कनु पर्ने सुझाव आइरहेको छ । लोले त्यस्तो शैलीको प्रयोग गर्ने हो भने सम्भवत किमिच मिडफिल्डमा देखिनेछन् । अनि लेरो साने पहिलो एघारमा अट्ने सम्भावना पनि रहन्छ । जर्मनको एट्याक बलियो बनाउन टिमो बेरनरको उपयोग गरिनुपर्ने सुझाव पनि लोलाई दिइएको छ । यस्तोमा मुलरको स्थान धरापमा पर्न सक्छ ।
 
सानेका बारेमा मिडफिल्डर एल्काई गुन्डोगनले पनि आफ्नो विचार राखेका छन् । ‘उनलाई पर्याप्त मौका दिइनुपर्छ जस्तो लाग्छ । किनभने अन्तिम २० मिनेटमा मैदान प्रवेश गर्दा सानेले खेलमा परिवर्तन गर्न सक्छन् जस्तो लाग्दैन । सायद उनलाई खेलमा सुरुवाती एघारमा राख्नुपर्छ,’ सानेले भनेका छन् । उसो त लो आफैँ पनि दबाबमा छन् । रुस विश्वकपमा भोगेको असफलता लो युरोमा दाहोर्‍याउन चाहँदैनन् । अनि उनीसँग जर्मनीको लयमा सुधार ल्याउन आवश्यक अस्त्र नभएको पनि होइन । 
  
उता पोर्चुगल भने उच्च मनोवलसाथ युरोको मैदानमा छ । यसभन्दा अगाडिको संस्करण जितेकाले पनि पोर्चुगल उत्साहित देखिन्छ । तर पहिलो खेलमा पोर्चुगिज खेलाडीको प्रदर्शन उत्कृष्ट मान्‍न सकिने प्रकारको थिएन । तर निर्णायक क्षणमा गोल गर्न सकेपछि पोर्चुगलले हंगेरीलाई पराजित गर्न सक्यो । त्यसमा गोल-नायक बने रोनाल्डो । फेरि नतिजाबाट पोर्चुगिज खेलाडी फुर्किएका पनि छैनन् । त्यसको प्रमाण हो रबेन डायसले दिएको प्रतिक्रिया । ‘हामीले आफ्नो खेलमा धेरै सुधार गर्न आवश्यक छ,’ डायसले भनेका थिए ।
 
रोनाल्डोका अगाडि पनि चुनौती छ, जर्मनीविरुद्ध गोल गर्ने । हुन त जर्मनीसँगको खेलमा गोल नगर्दैमा उनको सफलता ओझेलमा पर्ने होइन । तर पछिल्ला चार हारमा गोल गर्न नसकेका रोनाल्डोका लागि आलियान्जमा गोल गर्ने सही मौका यही नै हो । उसो त पोर्चुगलको अग्रपंक्ति रोनाल्डोले मात्रै थामेका छैनन् । उनी बाहेक जर्मनीलाई निराश बनाउन सक्ने क्षमता ब्रुनो फर्नान्डेज, डिएगो जोटा र बर्नादो सिल्भामा पनि छ ।  
  
पछिल्लो पटक जर्मनी र पोर्चुगल भिडेको विश्वकप २०१४ मा हो । त्यस खेलमा जर्मनीले सजिलो जित दर्ता गरेको थियो । पोर्चुगललाई हराउन ह्याट्रिक गरेका मुलर अहिले पनि जर्मन टिममा छन् । त्यस बखत मुलर र लो दुवै करियरको उत्कर्षमा थिए । अहिले दुवै जर्मन करियरको उत्तरार्धमा छन् । त्यसकारण जारी युरो खेलाडी र प्रशिक्षक दुवैका लागि राष्ट्रिय टिमको करियर सुखद ढङ्गले टुङग्याउने मौका हो । तर त्यस लक्ष्यमा सफल हुन पोर्चुगलको चुनौती पन्छाउनु पर्नेछ । 


Author

थप समाचार
x