खेलकुद

सूर्य नेपाल गल्फः पहिलो दिन दिनेश शीर्ष स्थानमा

इकागज |
असार ४, २०८१ मंगलबार १७:५५ बजे

काठमाडौँ- सूर्य नेपाल गल्फ टूर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको पहिलो दिन दिनेश प्रजापति ७-अन्डर ६५ को सानदार स्कोरमा शीर्ष स्थानमा रहेका छन् ।

उनले तोरण विक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारे । गोकर्ण गल्फ क्लबमा आज तोरण र सुमनले ६-अन्डर ६६ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थान बाँडे ।


डिफेन्डिङ च्याम्पियन सुबाश तामाङ, भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्य ४-अन्डर ६८ सहित संयुक्तरुपमा चौथो स्थानमा रहे । ३-अन्डर ६९ को स्कोरमा एमेच्योर विजय श्रेष्ठ आइन्हाउस सातौं र अर्का एमेच्योर वाङचेन ढोन्डुप २-अन्डर ७० सहित ढोन्डुप आठौं स्थानमा छन् ।

१-अन्डर ७१ स्कोर खडा गरेका रवि खड्का, निरज तामाङ, धन बहादुर थापा र सञ्जय लामा तथा एमेच्योर तेन्जिङ पाल्देनले संयुक्तरुपमा नवौं स्थान बाँडे ।

पहिलो दिन उत्कृष्ट स्कोर निकाल्ने क्रममा दिनेशले बोगी रहित ७-अन्डरको स्कोर दर्ज गरे । सात बर्डी प्रहार गरेका दिनेशले सुरूवात राम्रो गरे । दोस्रो, तेस्रो, चौथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । यसपछि ब्याक नाइनमा पनि यही लयलाई निरन्तरता दिए । १३औं, १४औं र १७औं होलमा पनि एक-एक सट बचाए । उनले ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे ।

तोरणले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए । दोस्रो होलमा एक सट खेर फाले भने तेस्रो होलमा बर्डी प्रहार गरे । यसपछि ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे । १०औं, १३औं, १५औं र १७औं होलमा बर्डी प्रहार गरे । ५-पारको पाँचौँ होलमा इगलको सफलता हात पार्दै ब्याक नाइन ६-अन्डर ३० मा सकाए ।

एमेच्योर सुमनले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ५-अन्डर ३१ मा सकाए । उनले तेस्रो देखि छैटौं होलमा लगातार चार बोगी प्रहार गरे । आठौं होलमा पनि एक सट बचाए । यसपछि सुमनले दशौं होलमा एक सट खेर फाले भने ११औं र १३औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।

पुरस्कार राशीको आधारमा सिजनकै ठूलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।

कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमश: १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ । दुई दिनको खेल पश्चात कट लागू हुनेछ । ३६ होलको समाप्तिमा उत्कृष्ट २१ र टाइमा पर्ने खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन् । एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो-एम प्रतियोगिता शनिबार हुनेछ । जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागिता रहनेछ ।


Author

थप समाचार
x