खेलकुद

सन् २०२२ को बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग

इकागज |
असार १०, २०७८ बिहिवार ६:२२ बजे

म्युनिख, जर्मनी : आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् । 

कोरोनाभाइरसको महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य भइ नसकेकाले आगामी बर्ष नै यति ठूलो खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नहुने उनीहरुको भनाई छ । बेइजिङ ओलम्पिक स्थगित गर्नुपर्ने एक सूत्रीय अभियान स्वरुप चिनियाँहरुले आज विश्वका प्रमुख ६० भन्दा बढी सहरमा प्रदर्शन गरेका छन् ।  


विभिन्न देशमा छरिएर रहेका चीन विरोधी ती चिनियाँ आप्रवासीहरुले आगामी बर्ष पनि खेलकुद प्रतियोगिता गराइ हाल्ने अवस्था नरहेको दावी गरेका छन् । उनीहरुले खेल स्थगित गर्नुपर्ने सन्देश विभिन्न माध्यमबाट चिनियाँ राष्ट्रपति र ओलम्पिक कमिटिका जिम्मेवार पदाधिकारीहरुसम्म पुर्याउन पनि आग्रह गरेका छन् । 

चिनियाँ प्रदर्शनकारीहरुले यसलाई कुनै राजनीतिक वा अन्य दृष्टीकोणले नहेर्न र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् ।  उनीहरुले ओलम्पिक स्थगित गराउन यस्ता दवावमुलक अभियानलाई निरन्तरता दिइरहने पनि जानकारी गराएका छन् । 

बेइजिङ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि फेब्रुअरी २०सम्म बेइजिङ नेश्नल स्टेडियममा गर्ने तय भएको छ । सो प्रतियोगितामा ७ खेलका १०९ प्रतियोगिता हुने तय गरिएको छ । (एएनआई)


Author

थप समाचार
x