खेलकुद

स्पेनी टिमका वर्तमान तथा भविष्य, पेड्री गोन्जालेज

इकागज |
असार १८, २०७८ शुक्रवार १९:११ बजे

काठमाडौँ: पेड्री गोन्जालेज जारी युरोमा स्पेनी टिमका कान्छा सदस्य हुन् । त्यतिमात्रै होइन, उनी प्रशिक्षक लुइस एनरिकेका लागि मुख्य अस्त्र पनि । बार्सिलोनाका १८ वर्षिय मिडफिल्डरले समूह चरणमा स्पेनका सबै चार खेल खेलेका छन् । उनी बाहेक गोलरक्षक उनाई सिमोन र रक्षक एैमेरिक लापोर्टेले मात्रै युरोका प्रत्येक खेलमा मौका पाएका छन् । 

पेड्रीले गत मार्चमा मात्रै स्पेनका लागि डेब्यु गरेका हुन् । स्पेनी क्लब लास पाल्मसबाट सेप्टेम्बर, २०१९ मा बार्सिलोनाको ला मासिया एकेडेमी पुगेका पेड्रीलाई अग्रज मिडफिल्डर आन्द्रेस इनिएस्टासँग पनि दाँज्‍ने गरिन्छ । हुन पनि उनको खेल शैली इनिएस्टाको जस्तै छ । विशेषगरी स्लोभाकिया र क्रोएसियाविरुद्ध पेड्रीको प्रदर्शन गज्जब थियो । 


जारी युरोमा स्पेनले आफ्नो पुरानै शैलीलाई पछ्याउने प्रयत्‍न गरेको छ । त्यो भनेको बल पोसेसन र पासिङमा विपक्षी भन्दा बलियो हुने हो । सन् २००८ मा युरो जित्दा स्पेनको प्रदर्शनको तारिफ गरिएको थियो । विशेषगरी स्पेनी खेलाडीहरूको बलमा नियन्त्रण राख्‍ने कलाको । यसपटक स्पेनले सुन्दर फुटबल खेल्ने प्रयत्न गर्दा, पेड्री यस किसिमको लक्ष्यको केन्द्रविन्दु बनेका छन् । 

हाल स्पेनी टिममा मात्रै होइन, गत सिजन बार्सिलोनामा पनि पेड्रीको खेल अब्बल दर्जाको थियो । कप्तान लियोनल मेस्सीसँगको उनको तालमेल हेर्नलायकको थियो । आक्रमक भूमिका निर्वाह गर्न मन पराउने पेड्रीलाई कतिपय अवस्थामा रोनाल्ड कुमनले ‘नम्बर सिक्स’को भूमिकामा पनि उतारे । जसको मुख्य जिम्मेवारी रक्षापंक्तिलाई सहयोग गर्ने र बलमा नियन्त्रण राख्दै अगाडिका खेलाडीलाई पास दिने हुन्थ्यो । 

स्पेनको टिममा पेड्रीले सर्जियो बुस्क्‍वेट्ससँग बलियो साझेदारी कायम गरेका छन् । उनी कप्तान बुस्क्‍वेट्स र अर्का मिडफिल्डर कोके भन्दा अगाडि बढेर खेलिरहेका हुन्छन् । मतलब उनी स्पेनी टिमको मुख्य प्लेमेकर हुन् । सानै उमेरमा स्पेन तथा बार्सिलोनाको टिममा स्थापित भएका पेड्री आफूले धेरै कुरा सिक्न भने बाँकी रहेको मान्छन् ।

‘स्पेनबाट खेल्दा होस् वा बार्सिलेनाबाट खेल्दा, म सधैँ सिनियर खेलाडीहरूबाट सिक्ने प्रयास गरिरहेको हुन्छु । मैदानमा मेरो ध्यान विपक्षीको क्षेत्रमा बल पुर्‍याउने नै हुन्छ । यदि मैले विपक्षीलाई उनीहरू कै क्षेत्रमा छक्याउन सके भने, गोलको मौका सिर्जना हुनसक्छ,’ उनले स्पेनी अखबार डिआरियो स्पोटर्ससँग भनेका छन् ।      

पेड्रीले हाल जे जति प्रशंसा बटुलिरहेका छन्, उनी त्यसको हकदार हुन् । तर युरो सुरु हुनु पहिले उनी स्पेनको पहिलो एघारमा पर्छन्, पर्दैनन् भन्‍ने अन्योल थियो । तर उनी स्विडेनसँगको खेलका लागि घोषित टिमको पहिलो एघारमा परे । स्पेनले निराशाजनक बराबरी खेल्दा एनरिकेलाई कसैले प्रभावित गर्‍यो भने ती खेलाडी पेड्री नै थिए । युवा प्लेमेकर ६६ मिनेट मैदानका रहँदा गोलको मौका सिर्जना गर्न हरसम्भव प्रयास गरे । 

पेड्रीले देखाएकै लयले गर्दा अनुभवी मिडफिल्डर थियागो अल्कन्ट्रा जारी युरोमा स्पेनको पहिलो एघारमा पर्न सकेका छैनन् । हुन त पेड्रीले आफ्नो प्रभाव छाड्न थालेको केही वर्षअघि देखि नै हो । १६ वर्षको उमेरमै पेड्रीले लास पाल्मासको सिनियर टिमबाट खेल्न सुरु गरिसकेका थिए । उनको वृत्ति विकास बार्सिलोनामा पनि जारी छ । त्यसकै नतिजा हो कुमनले पेड्रीलाई गत सिजन लिगमा ३७ खेलमा खेलाएको । 

‘पेड्री अन्य स्पेनी खेलाडी भन्दा विल्कुलै फरक छन् । उनको खेल शैलीले हामीलाई थप आक्रमक बन्‍न मद्दत गर्छ,’ स्पेनी प्रशिक्षक एनरिकेले भनेका छन् । एनरिकेले मात्रै होइन, पेड्रीको क्षमताबारे धेरैले चर्चा गरिरहेका छन् । अनि माथि भनेझै उनलाई इनिएस्टासँग दाँज्नेको संख्या पनि कम छैन । यसलाई पेड्री आफैँले चाँहि कसरी लिएका छन् त ? ‘इनिएस्टासँग दाँजेको देख्दा अवश्य पनि खुशी लाग्छ । तर म आफ्नै नामबाट चिनिन चाहन्छु । मलाई मानिसले पेड्री नै भनेर चिनुन,’ पेड्रीको जवाफ थियो । 

बार्सिलोनाका युवा खेलाडी करियरको सुरुवातमा छन् । तर अहिलेबाटै उनलाई स्तरिय खेलाडीको सूचीमा राख्न थालिसकिएको छ । क्लबमा मेस्सीसँग साझेदारी गर्न पाउनु र स्पेनको टिममा मुख्य प्लेमेकरको भूमिकामा देखिनुले पेड्रीको प्रतिभाको स्तर झल्काउँछ नै । 

अल्भारो मोराटाले पेड्रीका बारेमा रोचक टिप्पणी गरेका छन् । ‘उनले गाडीको लाइसेन्स पाउनुअघि स्पेनको सिनियर टिमबाट खेल्ने मौका पाएका छन् । उनी १८ वर्षका मात्र भए तर उनको खेल शैलीमा एकदमै परिपक्वता छ । उनी स्पेनको इतिहासकै उत्कृष्ट खलाडीहरूमध्येका एक हुनेछन्,’ मोराटाले भनेका छन् । 

 


Author

थप समाचार
x