खेलकुद

उत्तरार्द्धमा नायक बनेका इमिलियानो मार्टिनेज

इकागज |
असार २३, २०७८ बुधबार १६:४८ बजे

काठमाडौँ: इंग्लिस प्रिमियर लिगको २०१९/२० सिजन । ब्राइटन र आर्सनलबीचको खेल । ब्राइटनको मैदानमा भइरहेको खेलमा आर्सनलले ४० औँ मिनेटमा आफ्ना गोलरक्षक बर्नाड लेनोलाई गुमायो । लेनो घाइते भएर मैदान छाडेपछि उनलाई प्रतिस्थापन गरे, इमिलियानो मार्टिनेजले । अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजका लागि त्यो सिजनको पहिलो लिग खेल थियो ।  

मार्टिनेजले त्यसपछिका आठ लिग खेल खेले । त्यस दौरान आर्सनलले पाँच जित दर्ता गर्‍यो । तीमध्ये तीन खेलमा मार्टिनेजले गोल नै खाएनन् । लिभरपुल जस्तो बलियो टिममाथि आर्सनलले जित दर्ता गर्दा मार्टिनेजको भूमिका उल्लेख्य थियो । चेल्सीविरुद्धको एफए कप फाइनलमा पनि गोलरक्षक मार्टिनेज नै थिए । जे होस, पाएको थोरै मौकामा उनले आफूलाई  प्रमाणित गरे ।


मार्टिनेज जुलाई, २०१० मै आर्सनलसँग आबद्ध भएका थिए । तर उनले लन्डन क्लबमा बिरलै मौका पाए । लिगमा उनले जम्मा १५ खेल मत्रै खेल्न पाए । आर्सनलमा निरन्तर नजरअन्दाज गरिँदा मार्टिनेजले आफूमाथि विश्वास नै गर्न छाडेका थिए । अनि कतिपय अवस्थामा खेल प्रति वितृष्णा पनि जाग्यो । ‘मैले कयौँ वर्ष पर्खिएँ । तर आर्सनलमा मौका पाइन । किन खेल्न नपाएको होला जस्तो लाग्थ्यो । विस्तारै आफ्नै क्षमतामाथि विश्वास लाग्‍न छाड्यो । अनि खेलसँगको प्रेम पनि घटेको हो कि भन्‍ने महसुस हुन थाल्याे । तर मेहेनत गर्न चाँहि कहिले पनि छाडिन,’ एस्टन भिल्लासँग आबद्ध भएपछि मार्टिनेजले भनेका थिए । 

१० वर्ष आर्सनलसँग रहेपछि मार्टिनेज सेप्टेम्बर २०२० मा भिल्लातर्फ लागे । हुन त बीचमा पनि पटक-पटक मार्टिनेजले आर्सनल छाडेका थिए । तर अस्थायी रुपमा मात्रै । फुटबलको भाषमा भन्दा ‘लोन’मा । उनले इंगल्यान्डकै रिडिङदेखि स्पेनको गेटाफे सम्मबाट खेले । तर भिल्लातर्फको स्थान्तरण भने ‘लोन मुभ’ थिएन । 

भिल्लाले मार्टिनेजका लागि १७ मिलियन पाउण्ड खर्च गर्‍यो । जसले उनलाई अर्जेन्टिनाको इतिहासकै महंगो गोलरक्षक बनायो । फेरि मार्टिनेजले भिल्लालाई निराश बनाएनन् । त्यसको उदाहरण हो, लिगमा उनले गरेको प्रदर्शन । गत सिजन उनले १५ खेलमा गोल खाएनन् । सबैभन्दा धेरै क्लिनसिट राख्ने गोलरक्षकको सूचीमा उनी तेस्रो स्थानमा रहे । 

‘भिल्ला आउनु अघि मेरो अर्थिक अवस्था खराब थियो । कहिलेकाँहि परिवारको खर्चै धान्‍न मुश्किल हुन्थ्यो । अहिले विगतलाई फर्केर हेर्दा रमाइलो लाग्छ,’ गत सिजन भिल्लामा ‘प्लेयर अफ दी सिजन’ बनेका मार्टिनेजले दी इन्डिपेन्डेन्टसँग भनेका छन् । 

मार्टिनेज गत सिजन भिल्लाका नायक त बने नै, हाल अर्जेन्टिनाको राष्ट्रिय टिमको पनि स्टार बनेका छन् । कोपा अमेरिकामा बुधबार बिहान उनले कोलम्बियाविरुद्ध तीन पेनाल्टी रोके । उनकै सशक्त प्रदर्शनले अर्जेन्टिनालाई कोपाको फाइनल पुर्‍यायो । गत महिना मात्रै अर्जेन्टिनाका लागि पहिलो खेल खेलेका मार्टिनेजले स्वभाविकरुपमा प्रशंसा बटुलेका छन् । उनको खेलले कप्तान लियोनल मेस्सी समेत अवाक् भएका छन् । 

‘हामी कोपाको फाइनल प्रवेश गरेका छौँ । यस सफलतामा मार्टिनेजको भूमिका उल्लेख्य रहेको छ । उनी वास्तवमै असाधारण खेलाडी हुन्,’ मेस्सीले भनेका छन् । उता प्रशिक्षक लियोनल स्कालोनीले पनि अर्जेन्टिनाको टिममा मार्टिनेजको प्रभाव असाध्यै बलियो रहेको प्रतिक्रिया दिएका छन् । ‘हामी मार्टिनेजको प्रदर्शनले प्रशन्‍न छौँ । पेनाल्टीका कारणले मात्रै होइन, समग्र प्रदर्शनको आधारमा । उनका कारण हाम्रा रक्षकहरूमा पनि आत्मविश्वास बढेको छ,’ स्कालोनीले कोलम्बियासँगको खेलपछि भने । 

मार्टिनेज २८ वर्षका भए । यसै पनि गोलरक्षक अन्य पोजिसनका खेलाडीहरू भन्दा लामो समयसम्म खेल्न सक्छन् । त्यसकारण ढिलै मौका पाए पनि मार्टिनेज विश्व फुटबलमा स्थापित हुने समय अझै बाँकी छ । यो त बस् सुरुवात हो । 

मार्टिनेज जुन परिवेशबाट आएका छन्, त्यसले उनलाई अरुको भन्दा बढी मेहेनत गर्न सिकाउँछ । अनि धैर्य राख्न पनि । चरम गरिबीको माझबाट फुटबलमा होमिएका मार्टिनेजकी आमा स्थानीय होटलमा सरसफाईको काम गर्थिन् । परिवारमा गरिबी यति गहिरो थियो कि, मार्टिनेज बस्ने घरमा ढोकै थिएन । नत शौचालय नै थियो । मार्टिनेज सानै छँदा घरमा डकैती भयो । उनको प्यारो कुकुरसमेत मारियो ।

‘हामी बस्ने मार डेल प्लाटाको वातावरण खतरनाक थियो । वातावरणले नै मलाई निडर बनायो । फेरि गरिबीका कारण पनि अत्यन्तै दु:ख थियो । हामीलाई मात्रै होइन, त्यहाँ बस्ने सबैलाई । यद्यपि भोकै बस्नुपर्ने अवस्था भने थिएन,’ मार्टिनेजले भनेका छन् । 

अन्य प्रतिभाशाली अर्जेन्टाइन बालक÷किशोर जस्तै मार्टिनेज पनि ठूला क्लबको नजरमा नपर्ने कुरै भएन । उनी १२ वर्षको उमेरमा इन्डिपेन्डिएन्टेसँग आबद्ध भए । जुन मार्टिनेजको घर भन्दा दुई सय पचास माइल परको ब्युनोस आयर्समा अवस्थित थियो । इन्डिपेन्डिएन्टको बसाइ मार्टिनेजका लागि सहज थिएन । उनी प्रत्येक रात घरमा टेलिफोन गरेर रुने गर्थे । ‘सुरुवातमा म डराएको थिए । तर विस्तारै म मानसिकरुपमा बलियो हुँदै गए । त्यसैले पनि मैले आफ्नो खेलमा ध्यान दिन पाए । कतिपय साथी कुलतमा पनि लागेका थिए । तर म आफ्नो लक्ष्य भन्दा विचलित भइन,’ मार्टिनेजले एक अन्तवार्तामा भनेका छन् । 

मार्टिनेजलाई इन्डिपेन्डिएन्टे प्रशासनले बैठकका लागि बोलायो । त्यहाँ उनलाई सुनाइयो, क्लबले आर्सनलको प्रस्ताव स्विकारेको छ । उनी आर्सनल जाने त भए तर घरमा रुवाबासी चल्न थाल्यो । उनकी आमा र भाईले अर्जेन्टिना नछाड्न अनुरोध गरे । तर मार्टिनेजले सुनेनन् । किनभने आर्सनलले मार्टिनेजलाई करिब पाँच हजार पाउण्ड दिँदै थियो । लन्डन क्लबसँग आबद्ध भएवापत । ‘मैले सोचे यो पैसाले घरको ऋण तिर्न पुग्छ । अनि बुवालाई एउटा गाडी पनि किनिदिन सक्छु । त्यसकारण मैले अरु केही सोचिन । बस् इंगल्यान्ड हानिए,’ मार्टिनेजले दी इन्डिपेन्डेन्टसँगको अन्तवार्तामा भनेका छन् ।

त्यही अभिवृतीले मार्टिनेजलाई इंगल्यान्ड पुर्‍यायो । हुन त सुरुमा उनी दोधारमै थिए । आर्सनलले सन् २०१० मा ‘ट्रायल’मा बोलाउँदा मार्टिनेज १६ वर्ष कटेका थिएनन् । तर उनी इन्डिपेन्डिएन्टेको पहिलो रोजाइको गोलरक्षक बन्ने संघारमा थिए । मार्टिनेज आर्सनलमा ट्रायल दिएर अर्जेन्टिना फर्किए । आमा बुवालाई भेट्न घर पुगे ।

जहाँ उनको साक्षात्कार भयो, निकै खराब क्षणसँग । घर पुग्दा उनले बुवा रोइरहेको भेटे । जो त्यही दिन कामबाट निकालिएका थिए । घर खर्च चलाउन भएको एउटा कार पनि बेचिसकिएको थियो । ‘त्यस दिन मैले सोचे, जे गरेर भएपनि परिवारको आर्थिक अवस्था सुधार्छु,’ मार्टिनेज आफ्नो विगत सम्झिन्छन् ।

एक सातापछि मार्टिनेजलाई इन्डिपेन्डिएन्टे प्रशासनले बैठकका लागि बोलायो । त्यहाँ उनलाई सुनाइयो, क्लबले आर्सनलको प्रस्ताव स्विकारेको छ । उनी आर्सनल जाने त भए तर घरमा रुवाबासी चल्न थाल्यो । उनकी आमा र भाईले अर्जेन्टिना नछाड्न अनुरोध गरे । तर मार्टिनेजले सुनेनन् । किनभने आर्सनलले मार्टिनेजलाई करिब पाँच हजार पाउण्ड दिँदै थियो । लन्डन क्लबसँग आबद्ध भए वापत । ‘मैले सोचे यो पैसाले घरको ऋण तिर्न पुग्छ । अनि बुवालाई एउटा गाडी पनि किनिदिन सक्छु । त्यसकारण मैले अरु केही सोचिन । बस् इंगल्यान्ड हानिए,’ मार्टिनेजले दी इन्डिपेन्डेन्टसँगको अन्तवार्तामा भनेका छन् । 

लन्डनमा सुरुवात सुखद भएन । बेलायती राजधानी पुगेको केही महिनसम्म उनको पासपोर्ट सम्बन्धी समस्या आयो । त्यसकारण उनले तत्काल आर्सनलबाट खेल्ने मौका पाएनन् । उनको आर्सनल करियर अण्डर–२१ टिमबाट सुरु भयो । थप अनुभवका लागि उनलाई तल्लो श्रेणीका विभिन्न इंग्लिस क्लबहरूमा पठाइयो । जुन धेरै वर्षसम्म जारी रह्यो । 

मार्टिनेजको करियरको दोस्रो अध्याय भिल्ला पुगेपछि सुरु भयो । सुरुवात पनि दमदार रह्यो । उनले पहिलो खेलमै पेनाल्टी बचाए । त्यसपछिका चार खेलमा गोलै नै खाएनन् । परिणामस्वरुप उनी भिल्ला समर्थकमाझ लोकप्रिय भए । करियरमै पहिलो पटक उनले आफ्नो भविष्य सुरक्षित देख्न थाले । तर त्यस्तो भावनाले उनलाई अल्छी भने बनाएन । बरु सफलताले उनलाई थप आत्मविश्वासी बनायो । 

मार्टिनेजले भिल्लामा देखाएको लयबारे अर्जेन्टिना बेखबर थिएन । विश्वकप छनौटका लागि उनलाई टिममा बोलाइयो । गत जुनमा चिलीविरुद्धको खेलमा उनी पहिलो एघारमा परे । त्यसयता उनी अर्जेन्टिनाको नम्बर एक गोलरक्षक बनेका छन् । उनको पछिल्लो सफलतालाई अर्जेन्टिनाका किशोर खेलाडीहरूले प्रेरणा मानेका छन् । ‘मलाई किशोर तथा युवा खेलाडीहरूले सोध्छन्, म कसरी सफल हुन सकेँ भनेर । खासमा उनीहरू म बाट सल्लाह र सुझावको अपेक्षा गर्छन् । मेरो सल्लाह भनेको मेहेनत गर्नुपर्छ भन्ने नै हो । प्रतिभाले मात्र पुग्दैन । म आफूलाई प्रतिभा भएको खेलाडी ठान्थेँ । तर प्रत्येक दिन मेहेनत नगरेको भए यो स्थानसम्म आइपुग्दिन थिएँ,’ मार्टिनेज भन्छन् ।     


Author

थप समाचार
x