खेलकुद

क्रिस्टियन एरिक्सन मैदान फर्कन सक्छन्, तर एउटा शर्तमा

इकागज |
साउन ८, २०७८ शुक्रवार १७:१३ बजे

काठमाडौँ- डेनमार्कका प्लेमेकर क्रिस्टियन एरिक्सनलाई युरो २०२० दौरान हृदयघात भएको थियो । समूह चरणमा फिनल्यान्डविरूद्धको खेलमा उनी मैदानमै ढलेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । र, उनको मुटुमा ‘डेफिब्रिलटर’ जडान गरियो । 

‘डेफिब्रिलटर’ले एरिक्सनको प्राणरक्षा त गर्‍यो तर यसले इन्टर मिलानका मिडफिल्डरलाई मैदान फर्कन नदिने सम्भावना बढेको छ । मुटुको धड्कनमा कुनै समस्या नआओस भनेर लगाइएको यस उपकरणका विषयमा इटालियन फुटबल संघको ‘टेक्निकल साइन्टिफिक कमिटी’ले प्रारम्भिक प्रतिक्रिया दिएको छ । 


एरिक्सनले आफू मैदान फर्कन योग्य भएको प्रमाण पेश गर्नुपर्ने संघको भनाइ छ । ‘एक्सिनलाई इटालीको फुटबलमा फर्कन अनुमति दिन सजिलो छैन । उनले आफू पूर्णरुपमा स्वास्थ्य रहेको प्रमाण पेश गर्नुपर्छ । डेफिब्रिलटर हटाउनु पर्छ । नत्र उनी सिरी ए फर्कन पाउँदैनन्,’ टेक्निकल साइन्टिफिक कमिटीका तर्फबाट फ्रान्सेस्को ब्राकोनारोले भनेका छन् ।

तर के एरिक्सनको मुटुबाट ‘डेफिब्रिलटर’ हटाउन सम्भव छ त ? यसको जवाफ तत्कालै आउने सम्भावना छैन । किनभने यो प्रश्न एरिक्सन र उनका परिवारका लागि मात्र होइन उनीसँग नजिक रहेको मेडिकल टिमका लागि पनि हो । 

‘यो उपकरण हृदयघात भएकाहरूका लागि एकदमै महत्वपूर्ण छ । एरिक्सनले भागेको स्वासथ्य समस्याको समाधान डेफिब्रिलटरले मात्रै दिन्छ । एरिक्सन आफैँले पनि यसलाई स्वीकार गरेका छन् । डेनमार्कका तथा अन्य मुलुकका विशेषज्ञहरूको सुझाव पनि यही हो,’ डेनिस डाक्टर मोर्टेन बोइसेनले गत जुन १८ मा भनेका थिए । 

‘डेफिब्रिलटर’ जडान गरिएका फुटबल खेलाडीले खेल्नै नसक्ने भने होइन । नेदरल्यान्ड्सका डेले ब्लाइन्डको मुटुमा पनि ‘डेफिब्रिलटर’जडान गरिएको छ । डिसेम्बर, २०१९ मा उनको मुटुमा समस्या देखिएपछि डेफिब्रिलटर जडान गरिएको थियो । तर उनी केही समयपछि मैदान फर्किए । गत युरोमा पनि उनले नेदरल्यान्ड्सबाट खेलेका थिए । 


Author

थप समाचार
x