खेलकुद

ह्युङ मिन सन टोटनहममै रहने

इकागज |
साउन ८, २०७८ शुक्रबार १७:२९ बजे

काठमाडौँ- दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले टोटनहमसँगको सम्झौता नविकरण गरेका छन् । शुक्रबार इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले सनले जुन, २०२५ सम्मका लागि नयाँ सम्झौँता गरेको जानकारी दिएको हो । 

पछिल्लो समय स्ट्राइकर ह्यारी केनले टोटनहम छाड्ने हल्ला चलिरहेका बेला सनले भने लन्डनमै बस्‍ने निधो गरेका हुन् । लगातार प्रभावशाली प्रदर्शन गरिरहेका २९ वर्षीय सनले टोटनहमको जर्सीमा कुल दुई सय ८० खेल खेल्दै एक सय सात गोल गरेका छन् । अगस्ट, २०१५ मा जर्मन क्लब बायर्न लेभरकुजनबाट टोटनहम पुगेका सनको नाममा ६४ असिस्ट पनि छ । 


रोचक के छ भने टोटनहमको नयाँ रंगशालामा पहिलो प्रिमियर लिग तथा च्याम्पियन्स लिग गोल गर्ने खेलाडी पनि सन नै हुन् । डिसेम्बर, २०१९ मा बर्नलीविरुद्ध गरेको गोलले सनलाई पुस्कास अवार्ड पनि जितायो । ‘टोटनहममा मैले छ वर्ष बिताइसकेको छु । क्लबले मप्रति विश्सास देखाएको छ । टोनहम मेरा लागि घर पनि हो । अनि प्रशिक्षकहरू, समर्थक र क्लबका अन्य सदस्य मेरा लागि परिवारका सदस्य हुन् । त्यसकारण म लामो समय यही क्लबमा रहन चाहन्छु,’ सनले भनेका छन् । 

टोटनहमले आफ्नो टिममा केही महत्वपूर्ण परिवर्तन गरेको छ । उल्भ्सका पूर्व प्रशिक्षक नुनो इस्प्रिटो सान्टोलाई टिमको जिम्मेवारी दिइएको छ भने फुटबल निर्देशकमा इटालीका फाबियो पाराटिसी नियुक्त भइसकेका छन् । जसको मुख्य जिम्मेवारी खेलाडी किनबेच गर्दै टिमलाई बलियो बनाउने हो । यस्तोमा सनको सम्झौता नविकरण टोटनहमका लागि महत्वपूर्ण उपलब्धी हो । 


Author

थप समाचार
x