खेलकुद

दोस्रो महंगा इंग्लिस खेलाडी बने जेडोन सान्चो

इकागज |
साउन ८, २०७८ शुक्रबार १८:३९ बजे

तस्बिरः म्यानचेस्टर युनाइटेडको ट्वीटर अकाउन्टबाट

काठमाडौँ- इंग्लिस विङ्गर जेडोन सान्चो म्यानचेस्टर सहर फर्केका छन् । शुक्रबार उनी म्यानचेस्टर युनाइटेडसँग आबद्ध भएका हुन् । उनी अगस्ट, २०१७ मा म्यानचेस्टर सिटीबाट बोरुसिया डर्टमन्ड पुगेका थिए । २१ वर्षीय सान्चोलाई म्यानचेस्टर फर्काउन युनाइटेडले जर्मन क्लब डर्टमन्डलाई आठ करोड ५० लाख युरो बुझाउनेछ । 

सान्चोले युनाइटेडसँग पाँच वर्षे लामो सम्झौता गरेका छन् । स्थान्तरणका लागि आवश्यक स्वास्थ्य जाँच भने उनले गएको महिना नै गरिसकेका थिए । अब उनी सर्वाधिक दोस्रो महंगा इंग्लिस खेलाडी बनेका छन् । सर्वाधिक महंगा खेलाडी भने ह्यारी मग्वायर हुन् । उनी पनि युनाइटेडमै छन् । 


‘डर्टमन्डले मलाई सिनियर टिममा खेल्ने मौका दियो । यसका लागि म कृतज्ञ छु । डर्टमन्डमा म खुशी भए पनि मेरो चाहना इंग्ल्यान्ड फर्कने नै थियो । त्यसकारण म युनाइटेडसँग आबद्ध भएको छु । इंग्लिस प्रिमियर लिग खेल्न म आतुर छु,’ सान्चोले भनेका छन् । उनले युनाइटेडमा प्रतिभाशाली युवा खेलाडीहरू भएकाले टिमले समर्थकले चाहेको सफलता प्राप्त गर्नसक्ने प्रतिक्रिया दिए । 

उता युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले सान्चो युनाइटेडको परम्परामा भिज्न सक्ने फरवार्ड भएको बताए । ‘उनी युनाइटेडको अभिन्न अंग बन्ने छन् । उनी हाम्रा लागि फिट हुने खेलाडी हुन् । युनाइटेडको इतिहास हेर्ने हो भने, क्लबका लागि उत्कृष्ट फरवार्डहरुले खेलेका छन् । सान्चे पनि त्यही सूचीमा पर्छन्,’ सोल्सयारले भनेका छन् । 

सिटीमा मौका नपाएर डर्टमन्ड लागेका सान्चोले त्यहाँ उत्कृष्ट खेल देखाए । उनले बुन्डेसलिगामा कुल एक सय चार खेल खेल्दा ३८ गोल गरे भने ५१ अस्सिट दर्ता गरे । २०१९÷२० सिजन उनका लागि सर्वाधिक सफल रह्यो । त्यस सिजन उनले ४० लिग गोल तथा अस्सिटको योगदान गरे । सान्चोको प्राथमिक पोजिसन राइट विङ भए पनि उनी एट्याकिङ मिडफिल्ड तथा लेफ्ट विङमा पनि खेल्न सक्छन् । 
 


Author

थप समाचार
x