खेलकुद

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

इकागज |
साउन ९, २०७८ शनिवार ९:१० बजे

काठमाडौँ- जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । 

परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडिन् ।


परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियार सागमा चौथो भएकी थिइन् । उनी टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहनुका साथै प्रतियोगिताबाट बाहिरिएकी थिइन् । 

परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव नौ अङ्कका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव सात अङ्कसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव चार अङ्कका साथ तेस्रो भइन ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । टोकियो ओलम्पिक यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । रासस


Author

थप समाचार
x