खेलकुद

गरिबीले थलिएकी शान्ता नेपालीलाई नेपाली राष्ट्रिय फुटबल टिमबाट १ लाख सहयोग

इकागज |
साउन ९, २०७८ शनिबार ११:५३ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमले वालिङ नगरपालिका टिमकी स्ट्राइकर शान्ता नेपालीलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । उनको अवस्थाबारे सार्वजनिक भएपछि साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमले एक लाख रुपैयाँ सहयोग गरेको हो ।

गरिबीकै कारण शान्ता अहिले फुटबलमा अघि बढ्न सकिरहेकी छैनन् । परिवारको जिविक चलाउनका लागि उनी अहिले अरुको घरमा काम गर्न बाध्य छिन् भने बाबु आमालाई राख्‍नका लागि भनेजस्तो घर पनि छैन । जसका कारण उनी अहिले वालिङ नगरपालिकाले बनाएको सार्वजनिक शौचालयको छतमा ब्लक बनाएर बस्ने योजनाका साथ काम गरिरहेकी छिन् ।


नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सहयोगमा नेपाली टिमका खेलाडीहरुले उक्त सहयोग रकम नेप्लेज डटकमका सम्पादक मुक्तिबाबु रेग्मीलाई हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय टिम बसेकै होटेलमा नेपाली खेलाडी विकेश कुथु र सुमन अर्यालले रेग्मीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । सो अबसरमा कुथुले नेप्लेजको युट्युव च्यानलमा शान्ताको कथा हेरेपछि आफू भावुक भएको बताए ।

खेलाडीहरुलाई खेल्ने वातावरण मिलाउनका लागि सक्दो सबैले सहयोग गर्दा देशलेनै उत्कृष्ट खेलाडी पाउने विश्वास व्यक्त गरे । उनले आफूहरुले गरेको सहयोग शान्ताको हातमा पुर्‍याई दिन पनि अनुरोध गरेका थिए ।

यसैगरी स्यान्सु भुसालले ५ हजार सहयोग गरेका छन् । अहिले पनि सहयोग गर्नका लागि सम्पर्क गर्नेहरुको संख्या बढेको छ । अहिले देश विदेशबाट शान्ताको भिडियो हेरेपछि सहयोग गर्नेहरुले निरन्तर सम्पर्क गरिरहेको र उनीहरुले पठाउने क्रम पनि जारी रहेको छ ।


Author

थप समाचार
x