खेलकुद

क्याम्प नौउमा फेरि होला त मेस्सी र रोनाल्डोको भेट ?

इकागज |
साउन ९, २०७८ शनिवार १३:४९ बजे

काठमाडौँ - जोआन गाम्पर ट्रफी अन्तर्गत बार्सिलोना र युभेन्टसले मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । खेल अगस्ट ८ मा क्याम्प नौउमा हुनेछ । दुई क्लबका महिला टिम पनि आपसमा भिड्नेछन् । प्रतियोगिताका लागि क्याम्प नौउको २० प्रतिशत भाग मात्रै खुल्ला गरिनेछ । बार्सिलोनाको रंगशालामा पुनःनिर्माण जारी छ । 

युरोपियन क्लब फुटबलमा कयौँ पटक आमनेसामने भएका बार्सिलोना र युभेन्टस जोआन गाम्परमा पछिल्लो पटक सन् २००५ मा भिडेका थिए । यस्तोमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो फेरि एकपटक क्याम्प नौउमा भिड्ने सम्भावना छ । तर त्यसका लागि एउटा शर्त छ, मेस्सीको सम्झौता नविकरण । हाल बार्सिलोनासँग औपचारिक रुपमा नरहेका मेस्सीले नयाँ सम्झौता गरिसकेका छैनन् । न त अर्को क्लबसँग नै आबद्ध भइसकेका छन् । 


जोआन गाम्पर ट्रफीको इतिहास 
बार्सिलोनाले सन् १९६६ देखि जोआन गाम्पर आयोजना गर्दै आएको छ । गत वर्ष बार्सिलोनाको पाहुना स्पेनी क्लब एल्चे बनेको थियो भने त्यो भन्दा अगाडिको संस्करणमा आर्सनलले भाग लिएको थियो । 

जोआन गाम्परको २००५ को संस्करणमा युभेन्टस सहभागी हुँदा मेस्सी पनि बार्सिलोनाको सिनियर टिमको सदस्य भइसकेका थिए । यद्यपि त्यस खेलमा आयोजक पराजित भएको थियो । 

जोआन गाम्परका पछिल्ला आठ संस्करण बार्सिलोनाले जितेको छ । सन् २०१२ मा इटालियन क्लब साम्पडोरियासँग हारेको बार्सिलोना त्यसपछिका संस्करणमा अपराजित छ । 

मेस्सीविरुद्ध रोनाल्डो 
लामो समय देखि युरोपियन क्लब फुटबलमा प्रतिद्वन्द्वी रहँदै आएका मेस्सी र रोनाल्डो पछिल्लो पटक डिसेम्बर, २०२० मा भिडेका थिए । च्याम्पियन्स लिगको त्यस भेटमा युभेन्टस विजयी बनेको थियो । क्याम्प नौउमै खेलिएको खेलमा रोनाल्डोले दुई गोल गरेका थिए । कयौँ वर्ष स्पेनी ला लिगामा परस्पर प्रतिद्वन्द्वी क्लबबाट मैदानमा उत्रने गरेका मेस्सी र रोनाल्डोबीच फेरि भेट भए क्याम्प नौउ तरंगित हुनेछ । 


Author

थप समाचार
x