खेलकुद

टी-ट्‍वान्टी विश्वकपबारे शोएब अख्तरको अनुमान

इकागज |
साउन ९, २०७८ शनिबार २०:१३ बजे

काठमाडौँ- टी-ट्‍वान्टी क्रिकेट विश्वकप अक्टोबरमा आयोजना हुँदैछ । यसका लागि युनाइटेड अरब इमिरेट्स (युएई) र ओमानका खेल मैदान चुनिएका छन् । खासमा यो विश्वकप भारतमा हुनेवाला थियो । तर कोभिड-१९ महामारी नियन्त्रणमा आउन नसकेपछि भारत हच्कियो । 

बरु भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले निर्णय गर्‍यो, विश्वकप खाडीमा गराउने । विश्वकपलाई लिएर भारत र पाकिस्तानका समर्थक उत्साहित छन् । किनभने दुवै टिम एकै समूहमा परेका छन् । टी-ट्वान्टी क्रिकेटमा उनीहरूको भेट पाँच वर्षपछि हुन लागेको हो ।  


भारत र पाकिस्तानबीच हुने खेल र समग्र विश्वकपबारे अहिलेबाटै अनुमान गर्न सुरु गरिसके, क्रिकेट प्रेमीहहरुले । यसमा पाकिस्तानका पूर्व खेलाडी शोएब अख्तर पनि थपिएका छन् । उनको अनुमान छ, भारत र पाकिस्तान विश्वकपको फाइनलमा पुग्‍नेछन् । अनि उपाधि भिडन्तमा बाजी मार्नेछ, पाकिस्तानले । 

‘मलाई लाग्छ, पाकिस्तान र भारतले फाइनलमा स्थान बनाउनेछन् । दुवै टिमका लागि युएईको वातावरण उचित छ । तर फाइनल चाँहि पाकिस्तानले जित्‍नेछ,’ अख्तरले स्पोटर्स तकसँगको कुराकानीमा भनेका छन् । 

अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुने विश्वकपमा भारत र पाकिस्तान बाहेक समूह दुईमा न्यूजिल्यान्ड र अफगानिस्तान पनि हुनेछन् । कुल छ टिम रहने समूहमा बाँकी दुई टिम प्रारम्भिक चरणबाट आउनेछन् । प्रारम्भिक चरणमा आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह ए मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह बी मा बंगलादेश, स्कटल्यान्ड, पपुवा न्यू गिनी र ओमान रहेका छन् । दुवै समूहबाट विजेता र उप-विजेता सुपर १२ मा पुग्नेछन् । जहाँ भारत, पाकिस्तान, न्यूजिल्यान्ड, अफगानिस्तान बाहेक इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका र वेस्ट इन्डिज छन् ।  

भारत र पाकिस्तानको भेट आईसीसीले आयोजना गर्ने प्रतियोगितामा मात्रै हुने गरेको छ । उनीहरूले द्विपक्षीय क्रिकेट नखेलेको एक दशक भन्दा बढी भइसकेको छ । यसकारण पनि विश्वकपलाई लिएर दुई टिमका समर्थक अत्याधिक उत्साहित भएका हुन् ।  


Author

थप समाचार
x