खेलकुद

टोकियो ओलम्पिकमा रुस छैन, रुसी खेलाडी भने छन्

इकागज |
साउन १०, २०७८ आइतबार ७:३३ बजे

काठमाडौँ – डिसेम्बर, २०१९ मा रुसलाई निराश बनाउने एउटा निर्णय आयो । वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाडा) ले डोपिङको कारण देखाउँदै रुसलाई चार वर्षका लागि अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाउने निधो गर्‍यो । जसकारण रुसले ओलम्पिक २०२० मा भाग लिन नपाउने भयो । ओलम्पिक मात्रै होइन, अन्य अन्तर्राष्ट्रिय खेलकुद इभेन्टमा पनि रुसलाई सहभागी हुनबाट बर्जित गरियो । 

सन् २०२० मा आएर रुसले राहत पायो । उमाथि लागेको प्रतिबन्ध दुई वर्षले घट्यो । कोर्ट अफ आर्बिटे«सन फर स्पोटर्स (सीएएस)ले प्रतिबन्ध घटाइदिए पनि रुसले बेइजिङमा हुने २०२२ विन्टर ओलम्पिक र २०२२ विश्वकप फुटबल गुमाउनेछ । 


रुसमाथि लागेको प्रतिबन्धका बावजुद पनि रुसी खेलाडीहरू जापानी राजधानी टोकियोमा जारी ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन् । टिमका रूपमा रुसको सहभागितामाथि प्रतिबन्ध लागे पनि उसका खेलाडीहरूले भने खेल्न पाइरहेका छन् । ‘आरओसी’ को नामबाट ।  

किन प्रतिबन्धमा पर्‍यो रुस ? 

वाडाको आरोप छ, रुसी सरकारी निकाय नै डोपिङमा संलग्न भए । रुसी खेलाडीहरूको डोपिङसम्बन्धी डाटा उपलब्ध गराउँदा रुसी एन्टी डोपिङ एजेन्सीले त्यसमा छेडछाड गर्‍यो । यस्तो निक्र्योलमा पुगेपछि वाडाले रुसलाई तत्कालै कारबाही गरियो । जसकारण रुसले सन् २०१८ को विन्टर ओलम्पिकमा सहभागी हुन पाएन । उसो त एथ्लेटिक्समा सन् २०१५ देखि नै टिमका रूपमा रुसलाई सहभागी गराउन बन्द गरिएको थियो । 

रुसले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएको छ । र, उसले प्रतिबन्ध हटाउने माग पनि राख्यो । रुस पुनरावेदनका लागि स्विटजरल्यान्डस्थित सीएएस पुग्यो । जहाँ सीएएस पनि सहमत भयो, वाडाले मागेको सूचना रुसले समयमै उपलब्ध गराएन । 

यसको मतलब रुसको नाम, झण्डा र राष्ट्रिय गान प्रयोग गरी रुसी खेलाडी टोकियो ओलम्पिक, पारा ओलम्पिक, बेइजिङ विन्टर गेम्स र कतार विश्वकपमा सहभागी हुन नपाउने भए । उनीहरूले कुनै फरक नामबाट यी इभेन्टमा सहभागी हुनुपर्ने भयो । 

रुसमाथि लागेको प्रतिबन्ध १६ डिसेम्बर, २०२२ मा मात्रै अन्त्य हुनेछ । तर यसको पनि शर्त छ । यसबीचमा रुसले सबै नियम मान्नुपर्नेछ । जरिवाना तिर्नुपर्नेछ । अनि वाडाले पालाना गर्नु भनेका सबै प्रक्रिया पालना गर्नु पनि रुसको दायित्व हुनेछ । 

ओलम्पिक, पारा ओलम्पिक र अन्य अन्तर्राष्ट्रिय इभेन्टमा सहभागी हुन नपाउने नियम त छँदैछ, ती प्रतियोगिता आयोजना गर्नबाट पनि रुस बञ्चित छ । यदि विश्व खेलकुदका प्रतियोगिता आयोजना अधिकार रुसले पहिल्यै पाएको छ भने पनि ती अधिकार खोसिनेछ । 

रुसी ओलम्पिक कमिटी (आरओसी) 

आरओसीका नामबाट कुल तीन सय ३५ रुसी खेलाडीले टोकियोमा भइरहेको ओलम्पिकमा सहभागिता जनाइरहेका छन् ।  तर आरओसी भनेको के हो त ? आरओसी भनेको रुसी ओलम्पिक कमिटी हो । उसकै नेतृत्वमा रुसी खेलाडीहरू टोकियो पुगेका हुन् । टिमको नाम रुस, रुसी झण्डा र त्यहाँको राष्ट्रिय गान प्रयोग गरी अन्तर्राष्ट्रिय इभेन्टमा सहभागी हुन नपाइने हो तर अन्य तटस्थ नाममा भने रुसी खेलाडीहरूलाई प्रतिस्पर्धा गर्न रोकावट छैन । यही कारणले आरओसीको नाम प्रयोग गरिएको हो । 

आरओसीको लोगो रुसी झण्डा भन्दा फरक छ । अनि खेलाडीहरूले लगाउने पोशाकमा पनि रुस होइन, आरओसी लेखिएको छ । कतिसम्म भने आरओसीको सट्टामा रुसी ओलम्पिक कमिटी पनि लेख्‍न पाइँदैन । कतै रुस लेखिएको छ भने, त्यहाँ ‘न्यूट्रल एथ्लेट’ भनेर पनि लेखिएको हुनुपर्छ । 

अनि अर्को महत्वपूर्ण तथ्य, जारी ओलम्पिकमा भाग लिने रुसी खेलाडी डोपिङ काण्डमा संलग्न नभएका हुन् । वा उनीहरूले आफू त्यसमा संलग्न नभएको प्रमाण पेस गरेपछि मात्रै टोकियो पुगेका हुन् । अनि उनीहरू रुसी झण्डाको रंग झल्किने पोशाकमा टोकियोमा अन्य टिमका खेलाडीहरूविरुद्ध उत्रिएका छन् । 


Author

थप समाचार
x