खेलकुद

सागमा पदक जित्‍ने एथलेटिक्सका खेलाडी सम्मानित

इकागज |
साउन ११, २०७८ सोमबार १७:३९ बजे

काठमाडौँ- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीहरूलाई नेपाल एथलेटिक्स संघले नगद पुरस्कारले सम्मान गरेको छ । मंसिर, २०७६ मा काठमाडौँमै सम्पन्न सागमा पदक जित्ने आठ खेलाडीलाई सोमबार सम्मान गरिएको हो । 

सागमा नेपालले तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जितेको थियो । सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले पाँच हजार मिटर र किरणसिंह बोगटीले म्याराथनमा स्वर्ण पदक जितेका थिए । नेपालका लागि एक मात्र रजत पुष्पा भण्डारीले जितेकी थिइन् । उनले महिलातर्फको म्याराथनमा प्रतिस्पर्धा गरेकी थिइन् । 


त्यसैगरी, चार खेलाडीले कास्य जितेका थिए । सोमबहादुर कुमालले आठ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजामर मिटर र दीपक अधिकारीले १० हजार मिटर दौडमा कास्य प्राप्त गरेका थिए । 

एथलेटिक्स संघले स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको थियो । 


एथ्लेटिक्स संघले अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने अजितकुमार यादवलाई पनि बिदाइ गरेको थियो । अजितले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

त्यसबाहेक, केन्याको नौरबीमा आयोजना हुने वल्र्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन् । त्यहाँ उनी तीन हजार मिटर दौडमा सहभागी हुनेछन् । अजितले सन् २०१८ मा हङकङमा आयोजना भएको एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपको म्याराथनमा स्वर्ण पदक जितेका थिए ।


Author

थप समाचार
x