खेलकुद

अल्मुताइरीले औपचारिक रुपमा राजीनामा दिएनन्, एन्फा भन्छ छलफल जारी छ

इकागज |
साउन ११, २०७८ सोमबार १९:२३ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिम(पुरुष)का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्‍मुताइरीले आइतबार सामजिक सञ्जाल फेसबुकमार्फत एउटा घोषणा गरे, राजीनामा दिने । फेसबुकमा निकै सक्रिय रहने अल्मुताइरीले महत्वपूर्ण घोषणा गर्दा पनि सोही माध्यमलाई छाने । 

अल्मुताइरीको दाबी थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष पंकज नेम्बाङले उनलाई बारम्बार अवरोध गरिरहे । ‘प्रिय नेपाली फुटबल समर्थकहरू, आज म एन्फा पुगेर राजीनामा दिँदैछु । मैले राजीनामा दिनुका कारण एन्फा उपाध्यक्ष पंकज नेम्बाङ हुन् । किनभने पछिल्ला तीन सातादेखि उनले मसँग ड्रामा गरिरहेका छन्,’ अल्मताइरीले फेसबुकमा लेखेका छन् ।


अल्मुताइरीले अकास्मात यस्तो निर्णय लिएपछि एन्फा पदाधिकारीहरू तनावमा देखिए । एन्फाकै महत्वपूर्ण ओहोदामा रहेका व्यक्तिविरुद्ध आरोप लगाउँदै अल्मुताइरीले राजीनामा घोषणा गरेपछि सामाजिक सञ्जाल पनि तात्तियो । सामाजिक सञ्जालमा आएका अधिकांश प्रतिक्रिया अल्‍मुताइरीका पक्षमा थिए । यसै पनि अल्मुताइरी समर्थकमाझ लोकप्रिय छन् । त्यसकारण उनको पक्षमा प्रतिक्रिया व्यक्त गरिनु अनपेक्षित थिएन । 

उता नेम्बाङले आफूमाथि षड्यन्त्र भएको र अल्मुताइरीले व्यक्त गरेको प्रतिक्रियालाई लिएर छानबिन हुनुपर्ने माग पनि राखे । उपाध्यक्ष रहेका नेम्बाङको माग आफ्नै संस्थाको नेतृत्वमा रहेकाहरूसँग थियो । 

हुन त अल्मुताइरीले राजीनामा दिने मिति खुलाएका थिएनन् । उनले एन्फासमक्ष राजीनामा दिने मात्रै बताएका थिए । उनले सोमबार साँझसम्म पनि औपचारिकरुपमा राजीनामा दिएका छैनन् । बरु उनी एन्फाका महासचिव इन्द्रमान तुलाधर र प्रवक्ता किरण राईसँग बैठकमा व्यस्त रहे । बैठकबाट आएको निष्कर्ष सुनाइएको छैन । 

‘हामीले उहाँसँग छलफल गर्‍यौँ । छलफल निकै गम्भीर रह्यो । बुहत विषयमा छलफल भएको छ । तर सबै सूचना अहिले नै दिइहाल्ने अवस्थामा छैनौँ । अध्यक्ष ज्यू (कर्मा छिरिङ शेर्पा) आएपछि हामी फेरि छलफलमा जुट्छौँ,’ प्रवक्ता किरण राईले भने ।

एन्फा अध्यक्ष शेर्पा हाल पोखरामा रहेका र चाँडै नै काठमाडौँ फर्किने प्रवक्ता राईले जानकारी दिए । सोमबारको छलफलमा एन्फा उपाध्यक्ष नेम्बाङ भने उपस्थित थिएनन् । र, छलफलमा अल्मुताइरीबाट कस्तो प्रतिक्रिया आयो भन्नेबारेमा पनि केही बताइएको छैन । 
 


Author

थप समाचार
x