खेलकुद

सार्वजनिक बसमा झुण्डिएर रंगशाला जाने १८ वर्षे ठिटोको विश्‍व विजेता बन्‍ने सपना

प्रविणबिक्रम कट्‍वाल |
साउन १२, २०७८ मंगलबार २०:३४ बजे

काठमाडौँ- फुटबल टिम गेम हो । त्यहाँ एक खेलाडीको प्रदर्शनले मात्रै खेल वा उपाधि जितिन्छ भन्‍ने हुन्‍न । तर एथलेटिक्समा यसको ठीक उल्टो हुन्छ । यो खेलमा भने व्यक्तिको प्रदर्शनले मात्र खेलमा आनका तान फरक पर्छ । जित वा उपाधि व्यक्तिको आफ्नै मेहेनतमा निर्भर हुन्छ । एथलेटिक्सको यही विशेषताले सप्तरी राजबिराजका अजितकुमार यादवलाई लोभ्यायो । अनि अजितले निधो गरे, करियर नै यही खेलमा बनाउने । 

अजितको रहर थियो, राष्ट्रिय टिमको स्ट्राइकर बन्ने । तर आठ कक्षा पढ्दै गर्दा भाग लिएको एक दौड प्रतियोगिताले उनको सपना परिवर्तन भयो । शिक्षा दिवसका अवसरमा आयोजित ‘रोड रेस’मा उनी तेस्रो बने । पाँच हजार पुरस्कार पाए । अनि, उनलाई लाग्यो, व्यक्तिगत मेहेनतकै भरमा सफल भइने खेल पनि रहेछ । अब यसमै लाग्छु । 


‘करिब एक हजार सहभागी थिए जस्तो लाग्छ । त्यत्तिको भिड मैले जीवनमा कहिल्यै देखेको थिइँन । नडराई दौडेँ,’ अजितले जीवनको पहिलो टर्निङ प्वाइन्ट सम्झँदै भने,‘ भाग लिएको पहिलो स्पर्धामै तेस्रो भएँ । नगद पुरस्कार पाएँ, पत्रिकामा नाम आयो । आज पनि समाचारको कटिङ सुरक्षित राखेको छु । यहीबाट एथलेटिक्सतर्फ आकर्षित भएँ ।’

त्यसको एक महिनापछि अजितले अर्को प्रतियोगितामा भाग लिए । ‘प्यारागन रोड रेस’ नाम गरेको सो प्रतियोगितामा अजित प्रथम भए । च्याम्पियन अजितले २५ हजार पुरस्कार थापे । जसले उनलाई थप उत्साहित बनायो । एथलेटिक्समा करियर बनाउने अजितको लक्ष्य झनै सुदृढ भयो । 

नेपाल एपीएफ स्कुलमा अध्ययन गरिरहेका अजित प्रशिक्षकविनै अभ्यास गर्थे । कसैको मार्गदर्शनविना अभ्यास गर्दा सफल हुन मेहेनत मात्र एउटै विकल्प थियो । यसबीचमा उनले राष्ट्रपति शिल्डमा भाग लिने भए । विद्यालयस्तरको प्रतियोगिता भएकाले वडा, क्षेत्रीय हुँदै राष्ट्रियस्तरको प्रतिस्पर्धाको बाटो तय गर्नुपथ्र्यो । यसरी उनी राष्ट्रियस्तरको प्रतिस्पर्धा हुँदै पोखरासम्म पुगे । उनी १५ सय  मिटरमा त चौथो भए तर ५ हजार मिटरको दौड भने उनले पूरा गर्नै सकेनन् । 

पहिलो असफलताले अजितलाई गम्भीर बनायो । ‘पोखरा पुग्दा उत्साहित थिएँ । किनभने धेरै मेहेनतपछि त्यहाँ पुगेको थिएँ । तर दौड नै पूरा गर्न नसकेपछि स्वभाविक रुपमा निराश भएँ । त्यसपछि इख लिएँ र थप मेहेनत गर्न थालेँ,’अजित भन्छन् । कतिसम्म भने उनले स्कुलको छात्रावास पुगेकै दिनबाट अभ्यास सुरु गरे । कहिलेकाहीँ त उनी राति १२ बजेर उठेर पनि दौडिन्थे । 

यही मेहेनतले उनलाई २०७२ सालमा शिक्षा दिवसको अवसरमा आयोजना भएको प्रतियोगिता जितायो । अनि राष्ट्रपति रनिङ शिल्डको केन्द्रीयस्तरको प्रतिस्पर्धामा पनि सफल बनायो । २०७३ सालमा काठमाडौँमै सम्पन्‍न राष्ट्रपति शिल्डमा त उनले राष्ट्रिय कीर्तिमान नै राखे । त्यो पनि, १५ सय र ३ हजार मिटरका दुवै स्पर्धामा । विद्यालयस्तरमा अजितले राखेको कीर्तिमान अरु कसैले नभई उनी आफैँले भंग गर्दै आएका छन् । २०७३ मा राखेको कीर्तिमान उनले २०७४ मा भंग गरे । त्यसको एक वर्षपछि त्यसमा पनि सुधार गरे । २०७५ मा उनले १५ सय  मिटरको दौड चार मिनेट दुई सेकेन्डमा पूरा गरे । जुन कीर्तिमान आजको दिनसम्म पनि कायम छ । अनि तीन हजारतर्फ भने उनले ८ मिनेट ४८ सेकेन्डमा पूरा गरे । 

राष्ट्रियस्तरको कीर्तिमान त छँदैछ, उनले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलता झनै अवाक् बनाउने किसिमको छ । चैत, २०७५ मा उनी एसियन जुनियर एथलेटिक्स (यू–१८ तर्फ) को ३ हजार  मिटर स्पर्धामा च्याम्पियन बने । जुन नेपाली एथलेटिक्सले महादेसीय प्रतियोगितामा प्राप्त गरेको पहिलो स्वर्ण थियो । पहिलो सहभागितामै स्वर्ण पदक जितेका अजितले राष्ट्रिय कीर्तिमान पनि बनाए । आफूले राखेको कीर्तिमान अर्को खेलाडीलाई भंग गर्न नदिने गरेका अजितले ८ मिनेट ३०.३२ सेकेन्डमा दौड सकेका थिए । जुन उनी आफैँले राखेको कीर्तिमानमा सुधार थियो । 

हङकङको सफलताले अजितलाई विश्व एथलेटिक्स च्याम्पियनसिप (यू-२०) मा पुर्‍याएको छ । अगस्टमा केन्याको नैरोबीमा हुने च्याम्पियनसिपमा उनी ३ हजार मिटरमा दौडनेछन् । तर त्यसभन्दा अगाडि उनी अर्को प्रतियोगितामा सहभागी हुँदैछन् । भारतको पन्जाबमा हुने फेडेरेसन कपमा सहभागी हुनेछन् । यसै साता हुने प्रतियोगितामा उनी १५ सय मिटरको दौडमा प्रतिस्पर्धा गर्दैछन् । पन्जाब हुने प्रतियोगितामा भाग लिन अजित बुधबार त्यता जाँदैछन् । त्यहाँबाट फर्केर एक साता लामो अभ्यासपछि उनी अफ्रिका लाग्‍नेछन् ।

विश्व च्याम्पियनसिपमा ३ हजार मिटरमा दौडने भए पनि अजित भारतीय प्रतियोगितामा भने १५ सय मिटरमा प्रतिस्पर्धा गर्नेछन् । ३ हजार मिटरमै एसियन च्याम्पियन बनेकाले उनी विश्व च्याम्पियनसिपमा पनि सोही स्पर्धामा सहभागी हुन लागेका हुन् । ‘अबका केही वर्ष म १५ सय मिटरमा केन्द्रित हुन चाहन्छु । पन्जाबमा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाउने लक्ष्य छ,’ अजितले भने । 

विश्व च्याम्पियनसिपका लागि गरिएको तयारीप्रति भने उनी सन्तुष्ट छैनन् । उनले जम्माजम्मी एक महिना मात्रै अभ्यास गर्न पाए । त्यसमा पनि रोकावट आइरह्यो । कारण ? अभ्यास स्थलमा सजिलै प्रवेश गर्न नपाउनु । ‘सुरुका तीन साता लगातार अभ्यास गर्न पाएँ । किनभने ओलम्पिकमा जान लागेका खेलाडीहरूसँग दशरथ रंगशाला छिर्न पाइन्थ्यो । तर उनीहरू टोकियो गएपछि रंगशालामा सहज प्रवेश पाउने स्थिति भएन । नयाँ अनुमतिपत्र मागियो । जुन हामीसँग थिएन,’ अजितले थपे, ‘नयाँ कसले बनाइदिन्छ भन्नेबारे पनि थाहा थिएन । खेलाडीले आउँदै गरेको विश्व स्तरिय प्रतियोगिताको लागि तयारी गर्ने हो कि कागजपत्र खोज्दै हिड्ने हो ? म खेलाडी हो, अभ्यास गर्न रंगशाला छिर्न पाउनु पर्‍यो नी ।’ 

कोभिड–१९ महामारीका कारण जारी लकडाउनले गर्दा अजितले सुरुदेखि नै अभ्यास गर्न पाएनन् । ‘अभ्यास गर्न पाउने आशसहित लकडाउनमा घर नगई यहीँ बसेँ । विश्व च्याम्पियनसिपमा सहभागी हुन लागेको खेलाडी अभ्यासमा रहनुको साटो घर जाने कुरा पनि भएन । धेरै समस्याका बावजुद पनि घर फर्किँन । तर त्यो अवधिमा एक दिन पनि अभ्यास गर्न पाइँन । च्याम्पियनसिप सुरु हुन एक महिना बाँकी छ भन्‍ने भएपछि मात्रै तयारी सुरु भयो,’ अजित भन्छन् । 

अभ्यासस्थल र अवधिको कमी त नेपाली खेलकुदका स्थायी समस्या भइगए । यीबाहेक पनि अन्य धेरै समस्या छन, जुन अजित जस्ता खेलाडीले बारम्बार भोगिरहन्छन् । आर्थिक समस्यादेखि आधुनिक खेलमा खेलाडीलाई आवश्यक पर्ने आधारभुत सुविधा नेपाली खेलाडी भोग्‍ने नियमित समस्या हुन् । त्योबाहेक फिजियोथेरापी, कन्डिस्निङ, डायट प्लान आदि पनि नेपाली खेलाडीका लागि अप्राप्य सुविधा हुन् । विश्व च्याम्पियनसिपका लागि कडा मेहेनत गरिरहेका खेलाडीलाई न त डायट प्लान उपलब्ध गराइन्छ, न त आवश्यक फिजियो सेवा नै छ । हुन त खेलाडीका लागि पर्याप्त डायट नै छैन, प्लान त परको कुरा । फेरि अजित जस्ता युवा खेलाडीसँग डायट किन्न आवश्यक आर्थिक स्रोत पनि कसरी होस् ?  

‘अहिले क्लोज क्याम्प छैन । म गुरुसँग अभ्यास गरिरहेको छु । डायट, जुत्ता जस्ता आधारभुत कुरामा हुने खर्चका लागि आर्थिक स्रोत नै जुटाउन सकिँदैन । एथलेटिक्स संघका अध्यक्षबाट महिनावारी केही रकम पाउँछु । तर अपुग हुन्छ । त्यसकारण प्रतियोगिता जितेवापत् पाउने नगद पुरस्कार बचत गर्ने र त्यसबाटै चल्नुपर्ने अवस्था छ । जागिर छैन । धन्न पढेको पैसा लाग्दैन,’ पिनाकल एकेडेमीको छात्रावासमा बस्‍ने अजित भन्छन् । तर अजित यी समस्याका कारण निराश छैनन् । अधिकांश नेपाली खेलाडीको हालत यही हो भन्ने बुझेका छन्, अजितले । ‘यही अवस्थामा खेल्नु छ । र, म तयार पनि छु,’ अजित थप्छन् ।  

नेपाल सरकारमा खेलाडी संरक्षणको नीति छैन । अजित एसियन च्याम्पियन बन्दा पनि नेपालको संघीय सरकार खासै उत्साहित भएन । जम्मा १ लाख नगद दिएर झारा टा¥यो । जबकि अन्य खेलमा अन्तर्राष्ट्रिय उपाधि जित्ने खेलाडीलाई ९ लाख रुपैंयाँसम्म दिएको दृष्टान्त छ  । धन्‍न, प्रदेश नम्बर दुई सरकारबाट अजितले पाँच लाख पाए । यद्यपि अजितलाई पैसाको धेरै मोह छैन । उनी बस् आधारभूत सामाजिक सुरक्षा होस् भन्‍ने चाहन्छन् । ‘खेलले नाम, प्रतिष्ठा दिएको छ । कीर्तिमानका कारण मेरो नाम इतिहासमा लेखिनेछ । यी कुराले मलाई सन्तुष्टि दिएको छ । पैसा नै चाहिएको भए त सायद विदेश नै गतिलो विकल्प हुन्थ्यो होला,’ जम्मा १८ वर्ष पुगेका अजित बुझ्झकी कुरा गर्छन् । 

युट्युब हेरेर डायट प्लान बनाउने अजितको दैनिकीको एक हिस्सा रंगशालाको अभ्यास पछि बसमा झुन्डिएर होस्टेल पुग्नु हो । थकित दिमाग र शरीरलाई अध्ययनमा लगाउनु पर्ने त छँदैछ । स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेका अजितलाई गृहकार्य पनि गर्नुपर्ने हुन्छ । उनका लागि त्योभन्दा ठूलो गृहकार्य छ, थप अन्तर्राष्ट्रिय पदक ल्याउनु । यही कारण अजित स्वतःस्फूर्त दबाबमा छन् । तर पदकको गृहकार्यमा अब्बल अंक ल्याउने आत्मविश्वासमा छन् अजित भलै उनले व्यवस्थित अभ्यास गर्न पाएका छैनन् ।   


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x