खेलकुद

ओलम्पिक २०२० : ब्राजिल पुरुष फुटबलको क्‍वार्टरफाइनलमा

इकागज |
साउन १३, २०७८ बुधबार १७:२० बजे

काठमाडौँ - ब्राजिल ओलम्पिकको पुरुष फुटबलको क्‍वार्टरफाइनल प्रवेश गरेको छ । बुधबार साउदी अरबमाथि ३–१ को जित दर्ता गरेपछि ब्राजिलको अन्तिम आठ यात्रा पक्का भयो । जितसँगै ब्राजिलले तीन खेलबाट सात अंक बनायो र, समूह समूह ‘डी’को विजेता बन्यो । 

ब्राजिलको जितमा रिचारलिसनले दुई गोल गरे । इंग्लिस क्ल‍ब एभरटनका फरवार्डले ७६औँ मिनेटमा पहिलो गोल गरे भने इन्जूरी समयमा दोस्रो गोल थपे । जारी ओलम्पिक फुटबलमा रिचारलिसनले पाँच गोल गरिसकेका छन् । 


ब्राजिलले खेलमा अग्रता भने माथ्युस कुन्हाको गोलबाट १४औँ मिनेटमा लिएका थिए । तर त्यसको १३ मिनेटपछि नै साउदीले बराबरी गोल गरेको थियो । साउदीका लागि अबदुलेलाह अल्मारीले गोल गरेका थिए । 

ब्राजिल समूह विजेता बन्दा आइभरी कोस्टले उप–विजेताको हैसियतले क्‍वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । यस समूहमा जर्मनी पनि छ । तर एक जित मात्र निकालेको जर्मनी र साउदी भने पुरुष फुटबलबाट बाहिरिएका छन् । 

ओलम्पिक २०१६ मा पुरुष फुटबलतर्फ स्वर्ण पदक जितेको ब्राजिलको यसपटकको लक्ष्य पनि उही हो । तर घरेलु भूमिमा स्वर्ण जित्दा मुख्य खेलाडी रहेका नेयमार टोकियो ओलम्पिकमा भने छैनन् । बरु रिचारलिसन टिमका मुख्य अस्त्र बनेका छन् ।


Author

थप समाचार
x