खेलकुद

नयाँ सिजनको सुरुवातमा रासफोर्ड नखेल्ने

इकागज |
साउन १५, २०७८ शुक्रबार १८:३६ बजे

काठमाडौँ- म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डले इंग्लिस प्रिमियर लिगको आउँदो सिजनका सुरुवाती खेलहरू गुमाउने भएका छन् । नयाँ सिजन सुरु हुनु अगाडि नै उनको काँधको शल्यक्रिया गरिने भएकाले आरामका लागि उनी केही समय मैदान बाहिर रहने युनाइटेडले जनाएको छ । 

पछिल्ला दुई वर्षमा उनलाई काँधको चोटले पटक पटक सताइरहेकाले यस पटक भने उनको शल्यक्रिया नै गर्ने निर्णयमा खेलाडी स्वयम र क्लब पुगेको बताइएको छ । ‘प्रशिक्षक ओले गनर सोल्स्यार र क्लबको मेडिकल टिमसँगको छलफलपछि मार्कसले शल्‍यक्रिया गर्ने निधो गरेका हुन् । उनको चाँडै नै शल्यक्रिया हुनेछ र त्यसपछि उनी रिह्याबिलिटेसनका लागि केही समय मैदान बाहिर रहनेछन्’ युनाइटेडले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ । 


इंग्लिस टिमसँग युरो २०२० मा संलग्न रहेका रासफोर्डलाई तीन साताको बिदा दिइएको थियो । बिदा सकेर यही सोमबार उनी अभ्यासमा फर्कने तालिका थियो । तर अब उनी शल्यक्रिया र आरामपछि मात्रै अभ्यासमा फर्कनेछन् । उनको शल्यक्रिया र अभ्यासमा फर्कने सम्भावित मितिका बारेमा केही जानकारी दिइएको छैन । यद्यपि बेलायती सञ्चार माध्यमहरूका अनुसार रासफोर्ड अक्टोबरमा मात्रै अभ्यासमा फर्कनेछन् । 

रासफोर्डको अनुपस्थितिमा भर्खरै अनुबन्ध गरिएका अर्का इंग्लिस फरवार्ड जेडोन सान्चोले उनको स्थान लिनेछन् । बोरुसिया डर्टमन्डबाट प्रिमियर लिग फर्केका सान्चो लेफ्ट विङमा पनि खेल्न सक्छन् । उसो त त्यस पोजिसनमा खेल्नसक्ने युनाइटेडमा एन्थोनी मार्सियल र डानियल जेम्स जस्ता खेलाडी पनि छन् । 


Author

थप समाचार
x