खेलकुद

एमबाप्पेलाई विशेष व्यवहार गरिने छैन

इकागज |
साउन १५, २०७८ शुक्रबार १९:२८ बजे

काठमाडौँ- किलियान एमबाप्पेको पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता सकिन एक वर्ष बाँकी छ । फुटबलको भाषामा भन्दा, उनी आगामी जुन ३० पछि ‘फ्रि–एजेन्ट’ बन्‍नेछन् । यसको मतलब, उनी आफूले चाहेको क्लबसँग अनुबन्धित हुन सक्नेछन् । अनि पीएसजीले स्थान्तरण रकम पाउने छैन । 

पीएसजीले २२ वर्षिय फरवार्डलाई क्लबमै राख्न चाहेको छ । तर सम्झौता नवीकरणमा अहिलेसम्म सहमति भएको छैन । जसकारण उनी रियल म्याड्रिड जाने हल्ला चलिरहेको छ । पीएसजी दुविधामा छ, यसै सरुवा बजारमा एमबाप्पेलाई बेच्‍ने कि अर्को वर्ष उनलाई सित्तैमा गुमाउने । 


आउँदो सिजनका लागि एमबाप्पे पीएसजीमै रहने भए भने उनलाई प्रशिक्षक माउरिसयो पोचेटिनोलेले कसरी प्रयोग गर्छन् वा कस्तो व्यवहार गर्छन् भन्‍ने कौतहुल छ । पोचेटिनोले यस प्रश्नको उत्तर दिएका छन् । 

‘किलियानको सम्झौता सकिन अझै एक वर्ष बाँकी छ । यसकारण उनले आउँदो सिजन पीएसजीबाट खेल्ने नै छन् । अनि उनलाई व्यवहार पनि सामान्य ढङ्गले गरिनेछ । उनी र अर्को खेलाडी जसको सम्झौता सकिन पाँच वर्ष बाँकी छ, दुवै मेरा लागि समान हुन्,’ टोटनहमका पूर्व प्रशिक्षकले भने । उनले आफूसँग एमबाप्पेले सम्झौता नवीकरणका विषयमा कुरा नगरेको पनि स्पष्ट पारे । 

एमबाप्पेले पीएसजी छाड्ने हल्ला चलिरहेका बेला फ्रान्सेली क्लबले केही नयाँ खेलाडी भने भित्र्याइसकेको छ । लिभरपुलबाट जर्जिनो वाइनाल्डम, जियानलुजी डोनारुमा र इन्टर मिलानबाट आचरफ हाकिमी पीएसजी पुगेका छन् । पीएसजी अरु नयाँ खेलाडी पनि थप्ने योजना बनाएको बताइएको छ । यस्तोमा म्यानचेस्टर युनाइटेडका पउल पोग्बा फ्रान्स फर्कने हल्ला चलिरहेको छ । 

‘सरुवा बजारमा पीएसजी सक्रिय छ । सिजनको सुरुवातमा हाम्रो टिम कस्तो हुनेछ थाहा छैन । केही खेलाडीले क्लब छाड्न सक्छन् र केही नयाँ खेलाडी हामीसँग जोडिन सक्छन् । अहिले नै केही भन्‍न सकिने अवस्था छैन,’ पोचेटिनोले भनेका छन् । 


Author

थप समाचार
x