खेलकुद

माला राईको बक्सिङ

पूजा बस्‍नेत |
साउन १६, २०७८ १३:४ बजे

तस्बिर : माला राईबाट ।

कोभिड-१९ महामारीले विश्व नै आक्रान्त बनेको छ । यसबाट नेपाल पनि अछुतो छैन । सबै क्षेत्र महामारीले पीडित बनेका छन् । खेलकुद पनि मारमा परेको छ । कोभिडकालमा नेपाली खेलकुद ठप्प जस्तै रह्यो । निषेधाज्ञा केही खुकुलो भएपछि भने खेलाडीहरू बिस्तारै अभ्यासमा फर्किरहेका छन् । तर स्थिति सामान्य भइसकेको छैन । 

कोभिड महामारीका कारण नेपाली खेलाडीहरूको करियर कयौँ वर्षका लागि पछाडि धकेलिएको बताउँछिन्, बक्सर माला राई । जो नेपाली खेल जगत्मा नसुनिएको नाम होइनन् । माला आफू मात्र खेलकुदमा छैनन्, उनका श्रीमान् पनि यसै क्षेत्रमा स्थापित छन् । तर फरक खेलमा । मालाका श्रीमान् मिलन राई फुटबल खेलाडी हुन् । 


माला सानैबाट मार्सल आर्टमा लागिन् । ११ वर्षको उमेरमा उनले कराते खेल्न थालिन् । तर कालान्तरमा उनी बक्सिङतर्फ लागिन् । साथीको लहैलहैमा मालाले बक्सिङमा करियर बनाउने निधो गरिन् । फेरि हेटौँडामा उनका धेरैजसो साथी पनि बक्सिङमै थिए । त्यसकारण उनलाई लाग्यो, एक्लै करातेमा रहिरहनुभन्दा साथीहरूसँग बक्सिङ खेल्नु नै जाती । 

फर्केर हेर्दा मालाले सही निर्णय लिएको देखिन्छ । किनभने घरेलु प्रतियोगिताहरूमा उनी कयौँ पटक च्याम्पियन बनेकी छिन् । राष्ट्रिय खेलकुदमै पनि उनले धेरै पटक स्वर्ण जितेकी छिन् । माला हाल ३७ वर्ष पुगिसकिन् । तर उनले सन्यास लिनेबारे सोचेकी छैनन् । उसो त उनले मेरी कोमबाट पनि प्रेरणा लिएकी छिन् । जो मालाभन्दा जेठी छिन् र हाल टोकियो ओलिम्पकमा प्रतिस्पर्धा गरिरहेकी छिन् । कतिपयले उनलाई खेल करियर समापन गर्ने उमेर भयो भनेर पनि सम्झाउने प्रयास गर्छन् । तर उनी अझै केही वर्ष खेल्ने योजनामा छिन् । विशेष गरी नवौँ राष्ट्रिय खेलकुदमा उनी सहभागिता जनाउन चाहन्छिन् । 

मालाका अनुसार उनले २०६२ सालमा सशस्‍त्र प्रहरी बलबाट बक्सिङ खेल्न सुरु गरेकी हुन् । आफूलाई त्यसबेला कोच किरण थापाले बक्सिङमा अघि बढ्न निकै सहयोग गरेको उनी सम्झन्छिन् । त्यसबखत महिलाले बक्सिङ खेललाई करियर बनाउँछु भनेर उद्घोष गर्नु सामान्य थिएन । यद्यपि मालालाई परिवारबाट भने रोकावट भएन । बक्सिङमै लागी परिरहँदा उनले प्रथम महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता भिडिन् । राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्दा नै उनी च्याम्पियन बनिन् । सशस्त्र प्रहरीको एपीएफ क्लबबाट उनले राष्ट्रिय खेलकुदका चौथोदेखि आठौँ संस्करणमा प्रतिस्पर्धा गरिन् । आठौँ संस्करणलाई छाडेर बाँकी संस्करणमा उनल स्वर्ण पदक जितिन् । 

धेरै पटक राष्ट्रिय च्याम्पियन बनेकी मालाले आफ्नो करियरमा उतारचढाव भोगेकी छिन् । एक त महिला खेलाडी त्यसमाथि नेपाली खेलकुदका विद्यमान समस्या । तर पनि उनले कहिले पनि हिम्मत हारिनन् । निरन्तर खेलकर्ममा लागिरहिन् । ‘महिलालाई बक्सर बन्‍न त्यति सजिलो छैन । तर हिम्मत र धैर्य भएमा गर्न नसकिने भन्‍ने हुँदैन,’ मालाले भनिन् । 

खेलप्रति चाहना राख्दैमा सफल होइन्छ भन्‍ने छैन । अनि सबैसँग धैर्य राख्ने सुविधा पनि हुँदैन । ‘बक्सिङमा लाग्‍न मलाई केही हदसम्म सजिलो भयो । तर आर्थिकरूपमा विपन्‍नका लागि यो खेलमा लाग्‍न र टिकिरहन असाध्यै गाह्रो छ । अनि परिवारबाट आउने अड्चन त छँदै छ । फेरि बक्सिङ कठिन खेल पनि हो । जहाँ शारीरिक कठिनाइ भोग्‍नुपर्छ,’ मालाले भनिन् । 

बक्सिङका प्रतियोगिता एकै स्थानमा हुन्छन् भन्‍नेछैन । हुन त यो तथ्य प्रायः सबै खेलमा लागू हुन्छ । प्रतियोगिताहरूमा भाग लिन माला विभिन्‍न जिल्ला पुगिरहनुपर्छ । यही कारणले करियरको सुरुवातमा मालाले कठिनाइ भोग्‍नुपर्‍यो । ‘घरबाट सधैँ हिँडिरिहनुपर्ने । फलानाकी छोरी यता गई, यता गई भनेर समाजमा कुरा पनि काटिन्थे । तर आमा बुवाले त्यसको प्रवाह गर्नु भएन । मलाई खेलमै लाग्‍न स्वतन्त्र छाड्दिनु भयो,’ माला सुरुवाती दिन सम्झिन्छिन् । प्रतिभावान् भए पनि पारिवारिक समर्थन नपाउँदा कतिपय खेलाडीले चाँडै करियर टुग्यांएको देखेकी छिन् मालाले । यस्तो यथार्थले मालालाई खिन्‍न बनाउँछ । 

मालाले २०६४ सालमा एपीएफबाटै फुटबल खेल्ने मिलनसँग बिहे गरिन् । अहिले उनीहरूको नौ वर्षकी छोरी छिन् । लकडाउनले खेल क्षेत्र ठप्प पार्दा उनले परिवारसँग समय बिताउन मौका पाएकी छिन् । सँगसँगै कोभिडका कारण ठप्प भएको खेलक्षेत्रले उनलाई निराश पनि बनाएको छ । ३७ वर्ष पुगिसकेकी मालाको चिन्ता छ, अर्को राष्ट्रिय खेलकुदमा भाग लिन पाउँदिनँ कि भन्‍ने । ४० वर्ष पुगेपछि सन्यास लिने योजना बनाएकी माला त्यसअघि महत्वपूर्ण पदक जित्न चाहन्छिन् ।

करियरको उत्तरार्द्धमा पुग्दा मालालाई ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाएकामा पनि नमज्जा लाग्छ । हुन त उनले नेपालमै सम्पन्‍न गत दक्षिण एसियाली खेलुदमा रजत पदक जितिन् । तर उनी थप सफलता हासिल गर्न चाहन्थिन् । ओलम्पिकमा भाग लिने उनको इच्छा नभएको होइन । टोकियो ओलम्पिकमा प्रवेश पाउन उनले कठोर मेहनत पनि गरिन् । तर सफल भइनन् । अब उनको इच्छा छ, बक्सिङ रुचाउने छोरी खेलाडी बनून् र ओलम्पिकमा सहभागी होऊन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई दरिलो रूपमा प्रस्तुत गर्ने सपना बुनेकी मालाले आफूलाई मन पर्ने खेलाडीविरुद्ध खेल्ने मौका पनि पाइन् । त्रिभुवन आर्मी क्लबकी विमला श्रेष्ठले भारतीय बक्सिङ च्याम्पियनसिपमा भाग नलिने भएपछि उनको स्थानमा माला भारत पुगिन् । जहाँ उनको भेट भयो मेरी कोमसँग । भारतीय महिला बक्सिङकी लेजेन्ड कोमसँग सजिलै पराजित भए पनि माला निराश भइनन् । किनभने उनले मेरीविरुद्ध खेल्न पाउनुलाई नै ठूलो मौका मानेकी छिन् । 

‘भारत पुग्दा चारैतिर मेरी कोमको ठूलाठूला होडिङ बोर्ड लगाइएको थियो । खेलमा पनि मेरीको पक्षमा चर्को हुटिङ थियो । म नर्भस भएँ । तर म तेस्रो राउन्डसम्म टिकेँ । विजयी मेरीले मेरो प्रशंसा गरिन् । त्यो अविस्मरणीय क्षण थियो,’ मालाको भनाइ छ । 

नेपाली बक्सिङमा पनि थुप्रै महिला छन् । तर मेरीजस्ता खेलाडी अहिलेसम्म उत्पादन हुन सकेका छैनन् । उनी जस्तो प्रतिभाशाली बन्‍न नेपाली खेलाडीहरूले धेरै मेहनत गर्नुपर्ने मालाको भनाइ छ । अनि बक्सिङ संघ र सरकारको पनि यथेष्ट ध्यान पुग्‍नुपर्ने उनको सुझाव छ । नेपाली बक्सिङमा आर्थिक अभावका कारण कयौँ पुरुष खेलाडी रोजगारका लागि विदेश पलायन हुनु परेको मालाले देखेकी छिन् । त्यसकारण पनि उनले सरकारले खेलकुदमा आफ्नो भूमिका बढाउनुपर्ने सुझाव दिएकी हुन् । ‘पुरुष खेलाडी नै पलायन भइरहेका छन्, महिला खेलाडीको हालत झन् कस्तो होला ?’ माला प्रश्न गर्छिन् । 

‘ओलम्पिकमा फिलिपिन्सका खेलाडीले स्वर्ण जित्दा सरकारबाट घर र नगद पुरस्कार पाए । यसरी पो खेलाडीको मनोबल बढाउने हो त । यहाँ त अभ्यासकै वातावरण पनि छैन । न त पदक पाएकालाई सरकारको तर्फबाट कुनै मूल्यांकन गरिन्छ,’ माला भन्छिन् । 

खेल खेल्न देशका कयौँ स्थान पुगेकी मालाले विकट ठाउँमा पनि प्रतिभाशाली युवा खेलाडी देखेकी छिन् । ‘हुन त नेपालका विकट भेगमा शिक्षा नै राम्रोसँग पुगेको छैन । खेलकुद पूर्वाधार र अभ्यास स्थल त परको कुरा । तर त्यस्ता ठाउँमा खेल सामग्री तथा प्रशिक्षणको व्यवस्था गर्नुपर्छ,’ माला थप्छिन् ।   

नेपाली खेलकुद विकासका लागि आवश्यक नीति तर्जुमा गर्ने ठाउँमा खेलकुद बुझेका व्यक्ति हुनुपर्ने धारणा छ । नीतिपछि पूर्वाधार, खेलाडीका लागि प्रशिक्षण, सुविधा लगायतका आधारभूत कुराको ग्यारेन्टी गर्न सके नेपालमा पनि विश्वस्तरीय खेलाडी उत्पादन हुन सक्ने मालाको दाबी छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूलाई बढीभन्दा बढी सहभागी गराउन सकियो भने मात्रै पदक आउने उनको विचार छ ।  

कोभिड महामारी दौरान बक्सिङ मात्रै होइन अन्य खेलका खेलाडीहरूका लागि पनि अभ्यास स्थल छैन । सामाजिक दूरी पालना गर्नुपर्ने हुँदा खेलाडीले स्वाभाविक तवरमा प्रशिक्षण गर्न पाएका छैनन् । खेल्न र अभ्यास गर्न खेलाडीहरूले आर्थिक तथा मानसिक समस्या भोगिरहेका छन् । ‘हामी घरमै अभ्यास त गछौँ तर फलदायी हुँदैन । प्रायः खेलाडी डेरामा बस्ने भएकाले अभ्यास गर्न खुल्ला स्थान पनि पाउँदैनन् । घरको छत वा बार्दलीमा ट्रेनिङ गर्न घरबेटीले अनुमति दिन्छन् भन्‍ने छैन,’ माला दुखेसो पोख्छिन् । 

माला नेपाली महिला बक्सिङ टोलीसँगै १३ औँ सागको तयारीका लागि थाइल्यान्ड पुगेकी थिइन् । उनले त्यहाँ स्थानीय खुला बक्सिङ च्याम्पियनसिपमा पनि भाग लिइन् । त्यहाँ उनले महसुस गरिन्, ‘नेपालमा पनि यस्तै पूर्वाधार, प्रविधि र अन्य सुविधा भइदिए सायद हामीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट धेरै पदक ल्याउँथ्यौँ होला,’ उनले थाइल्यान्डमा गरेको तयारीका कारण नै सागमा पदक जितिन् । 

‘कयौँ विदेशी प्रतियोगितामा महिला बक्सरलाई पठाइँदैन । हामीलाई मौका कम छ । तर मौका पाए भने महिलाले पनि पदक ल्याउन सक्छन् । त्यसकारण मेरो सुझाव छ, महिलाहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउन कन्जुस्याइँ नगर्नुस्,’ माला भन्छिन् । छोरीहरूलाई सेल्फ डिफेन्सकै लागि मात्रै भए पनि बक्सिङ जस्ता खेल सिकाउनुपर्ने मालाको धारणा छ । ‘महिलाले खेलमा लाग्‍न हुँदैन वा सक्दैनन् भन्‍ने धारणा राख्नु हुँदैन । बरु हौसला दिनुपर्छ,’ माला थप्छिन् । 

माला अझै एपीएफमै रहेर खेल्न चाहन्छिन् । उमेर ढल्कदै गएको हेक्का छ उनलाई, तर रिङमा उत्रन सक्ने आत्मविश्वास सकिएको छैन । ‘सन्यासपछि कोच बनेर नयाँ खेलाडी उत्पादन गर्ने योजना छ । त्यसमै लाग्छु । एक जना मात्र भए पनि राम्रो खेलाडी उत्पादन गर्न सकेँ भने पनि त्यो मेरा लागि सफलता हुनेछ,’ माला भन्छिन् ।



Author

पूजा बस्‍नेत

सामाजिक राजनीतिक विषयमा रुची राख्‍ने बस्‍नेत प्रशिक्षार्थी संवाददाता हुन् ।


थप समाचार
ad
x