खेलकुद

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्‍न्यास

इकागज |
साउन १९, २०७८ मगलवार ७:५६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्‍न्यास लिएका छन् । सन् २००२ मा १५ वर्षको हुँदा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेर अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका पारसले मंगलबार सामाजिक सञ्जालबाट सन्‍न्यासको घोषणा गरेका हुन् ।

'अन्तर्राष्ट्रिय क्रिकेटका रुपमा मेराे यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटको लागि मेरा सपना भने अझै बामे सर्दै छन्' खड्‍काले लेखेका छन् ।


पारसले यसअघि नै कप्तानी छाडेका थिए । उनी पछिल्लो समय नेपाली क्रिकेट टोलीका सदस्य मात्रै थिए । पारसकै कप्तानीमा नेपालले टी–ट्वान्टी विश्वकप खेलेको थियो । उनी नेपालबाट टी–ट्वान्टी क्रिकेटमा अन्तराष्ट्रिय शतक बनाउने पहिलो नेपाली क्रिकेटर समेत हुन् ।

पारसको कप्तानीमा नेपालले घरेलु र अन्तराष्ट्रिय क्रिकेटमा धेरै सफलता पाएको थियो । झण्डै दुई दशक अन्तराष्ट्रिय क्रिकेट खेलेका पारसले मंगलबार अचानक सन्न्यासको घोषणा गरेका हुन् । यद्यपी उनले घरेलु क्रिकेटमा निरन्तर खेलिरहने बताएका छन् । 

'नेपालका लागि खेल्‍नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो' खड्‍काले लेखेका छन् '२००२ मा १५ वर्ष हुँदा मैले गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु ।'


Author

थप समाचार
x