खेलकुद

लुई भान हाल तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षक

इकागज |
साउन २०, २०७८ बुधबार २०:४८ बजे

काठमाडौँ- लुई भान हाल तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षक बनेका छन् । भान हाल सन् २०००-२००२ र २०१२-२०१४ मा पनि डच टिमको प्रशिक्षक थिए । म्यानचेस्टर युनाइटेडका समेत पूर्व प्रशिक्षक रहेका भान हालका लागि सुरुवाती चुनौती कतार विश्वकप हुनेछ । 

भान हालले फ्राङ्क डे बोरलाई प्रतिस्थापन गरेका हुन् । गएको युरोमा नेदरल्यान्ड्स अन्तिम १६ बाट अघि बढ्न नसकेपछि नयाँ प्रशिक्षक ल्याउने निर्णय गरिएको थियो । यस्तोमा नेदरल्यान्ड्सले पूरानै अनुहार भान हाललाई विश्वास गरेको हो । 


सन् २०१६ मा युनाइटेड छाडेपछि भान हाल कुनैपनि जिम्मेवारीमा थिएनन् । डच टिमको प्रशिक्षकको भूमिकामा फर्कन पाउँदा आफूले गर्व महसुस गरिरहेको प्रतिक्रिया दिएका छन् । ‘डच फुटबल सदैव मेरो हृदयमा छ । आफ्नै राष्ट्रिय टोलीको प्रशिक्षक बन्‍ने प्रस्ताव आउँदा म पक्कै पनि भावुक भए । किनभने यो जिम्मेवारी गर्विलो छ । तत्कालका लागि हाम्रो ध्यान विश्वकप छनौट खेलहरुमा हुनेछ,’ भान हालले भनेका छन् । उनलाई ड्यानी ब्लाइन्ड र हेन्क फ्रेजरले सघाउनेछन् । त्यसैगरी गोलकिपिङ प्रशिक्षकमा फ्रान्स होइक रहनेछन् । 

भान हालले सन् २०१९ मा फुटबलबाट सन्‍नयास लिएको घोषणा गरेका थिए । तर उनी फेरि फुटबलमा फर्किएका छन् । यसको कारणबारे भने केही खुलाईएको छैन । 

भान हालले सन् २००० मा पहिलो पटक नेदरल्यान्ड्सले जिम्मेवारी सम्हालेका थिए । बार्सिलोनालाई सरासर दुई पटक स्पेनी च्याम्पियन बनाएपछि भान हाल नेदरल्यान्ड्स फर्किएका थिए । तर उनको पहिलो कार्यकाल सम्झन लायकको रहेन । डच टिम विश्वकप २००२ का लागि छनौट नै हुन सकेन । 

तर दोस्रो पटक डच टिमको प्रशिक्षक बन्दा भने भान हाल तलनात्मकरुपमा सफल दरिए । उनको नेतृत्वमा डच टिमले विश्वकप २०१४ मा तेस्रो स्थान प्राप्त गरेको थियो । विश्वकप लगत्तै उनी युनाइटेडको प्रशिक्षक बने । जहाँ उनले एफए कप जिते । 

युरोपियन क्लब फुटबलमा भान हालले कुल पाँच क्लबलाई प्रशिक्षण दिएका छन् । तीमध्ये आयाक्स, एजेअल्कमार, बार्सिलोना र बायर्न म्युनिखबाट लिग जितेका छन् । ६९ वर्षीय भान हालले प्रशिक्षण करियरमा कुल २० उपाधि हात पारिसकेका छन् । 


Author

थप समाचार
x