खेलकुद

चेल्सी फर्केलान् त रोमेलु लुकाकु ?

इकागज |
साउन २१, २०७८ बिहीबार ६:५३ बजे

काठमाडौँ- रोमेलु लुकाकु इन्टर मिलानमा खुशी छन् । उनी इटाली छाड्न चाहँदैनन् । युरोपेली फुटबलमा सरुवा बजार खुल्ला रहँदा लुकाकुबारेमा यही भनिएको छ । त्यसो भए के चेल्सीको प्रयास व्यर्थै जान लागेको हो त ? होइन । 

लुकाकु इंग्लिस प्रिमियर लिग फर्कन तयार छन् । अझ भन्ने हो भने, पूरानो क्लब चेल्सीसँग आबद्ध हुन तयार छन् । तर एउटै शर्तमा । त्यो भनेको महंगो स्थान्तरण । बेलायती अखबार दी टेलिग्राफ भन्छ, लुकाकुको स्थान्तरणका लागि चेल्सीले प्रस्ताव राख्दैछ । जुन करिब १० करोड पाउन्डको आसपास हुनेछ । चेल्सीको प्रस्ताव यही साताको अन्त्यसम्ममा सिरी ए च्याम्पियन इन्टरले प्राप्त गर्नेछ । टेलिग्राफको रिपोर्टमा यही उल्लेख गरिएको छ । 


हुन त क्लबबीचको सहमति मात्र स्थान्तरणका लागि पर्याप्त नहुन सक्छ । तर लुकाकुका हकमा भने यस्तो सहमति काफी हुनेछ, स्थान्तरणका लागि । किनभने लुकाकु आफैँ पनि लालयित छन्, चेल्सी फर्कन । हुन त अर्को सिजन इन्टरमै बिताउन पनि उनका लागि आपत्तिको विषय हुने छैन । 

गत सिजनबाटै लुकाकुलाई अनुबन्ध गर्न इंग्ल्यान्डका ठूला क्लबले अनौपचारिक प्रस्ताव राखिरहेकै हुन् । तर इन्टरले त्यस किसिमको प्रस्तावलाई ठाँडै इन्कार गर्दै आएको थियो । त्यसो भए यसपटक के परिवर्तन भयो त ? इन्टरको आर्थिक अवस्था । 

उसै पनि इन्टरको चिनियाँ मालिक संस्था आर्थिकरुपमा कमजोर बनिरहेको बताइएको छ । त्यसमाथि भलन्, कोभिड-१९ महामारीले युरोपेलि फुटबललाई पारेको प्रभाव त छँदैछ । कोभिडका कारण गत सिजन सान सिरोमा दर्शकलाई प्रवेश दिइएन । जसकारण टिकटबाट हुने आम्दानी भएन । यसकारण लुकाकुको महंगो स्थान्तरणले इन्टरलाई राहत प्रदान गर्नेवाला छ ।

लुकाकु पनि चेल्सीको प्रयासबाट मख्ख छन् । के पनि भनिएको छ भने, लुकाकु थोमस टुचेलको योजनाबाट पनि सन्तुष्ट छन् । टुचेलले आउँदो सिजनका लागि चेल्सीको रणनीति लुकाकुलाई सुनाइसकेका छन् । आफू टुचेलको रणनीतिमा फिट हुनसक्ने अपेक्षा लुकाकुले गरेका छन् । जसरी गत सिजन उनी एन्टोनियो कोन्टेको रणनीतिमा फिट भएका थिए । 

फेरि चेल्सीले लुकाकुलाई राम्रै तलब दिने पनि प्रस्ताव गरेको छ । टेलिग्राफका अनुसार लुकाकुले प्रति साता दुई लाख ५० हजार पाउन्ड पाउनेछन् । यसरी नै धेरै तलब दिनसक्ने अर्को इंग्लिस क्लबले पनि लुकाकुलाई अनुबन्ध गर्ने इच्छा नदेखाएको होइन । त्यो पनि गत मार्चमै । तर लुकाकुले म्यानचेस्टर सिटीको त्यस्तो प्रस्ताव स्वीकार गरेनन् । जसकारण, सिटी हाल ह्यारी केनमाथि केन्द्रित छ । 

चेल्सीले लुकाकुलाई अनुबन्ध गर्दागर्दै टिममा पहिल्यैबाट रहेका केही खेलाडी बेच्ने प्रयास गर्नेछ । त्यसमा ट्यमी अब्राहाम पनि पर्छन् । अनि केही नयाँ खेलाडी थप्नु पर्ने आवश्यकता त छँदैछ । जस्तै, रक्षक जुल्स कोन्डे । सेभियाका रक्षकका लागि चेल्सीले औपचारिक प्रस्ताव भने राखिसकेको छैन । किनभने उसलाई कोन्डे अनुबन्ध गर्नुअघि कर्ट जुमालाई बेच्नु छ । जसले हालै वेस्टह्याम नजाने निर्णय सुनाइसकेका छन् ।  


Author

थप समाचार
x