खेलकुद

लुकाकु मात्र होइन अन्य धेरै खेलाडी पनि चेल्सी आउन चाहन्छन् : थोमस टुचेल

इकागज |
साउन २१, २०७८ बिहिवार १२:४९ बजे

काठमाडौँ- पछिल्ला दिनमा रोमेलु लुकाकु चेल्सी फर्कने हल्ला चलिरहेको छ । चेल्सीले इन्टर मिलानसमक्ष औपचारिक प्रस्ताव राखि नसकेको भएपनि लुकाकु लन्डन फर्कन तयार रहेको बेलायती अखबारहरूले दाबी गरेका छन् । 

यस्तोमा चेल्सीका प्रशिक्षक थोमस टुचेललाई लुकाकुको स्थान्तरणका बारोमा सोधिएको थियो । जवाफमा टुचेलले भने,‘ लुकाकु मात्र होइन, अन्य धेरै खेलाडी पनि चेल्सीसँग आबद्ध हुन लालायित छन्,’


टुचेललाई यो प्रश्न बुधबार राति चेल्सी र टोटनहमबीचको खेल सकिएपछि सोधिएको थियो । ‘हुन त मैले आफ्नो टिममा नभएका खेलाडीहरूबारे टीप्पणी गर्न उचित हुँदैन । तर यति भन्छु, लुकाकु असाध्यै प्रतिभाशाली खेलाडी हुन् । तर हाल उनी इन्टर मिलानमा छन् । उनको बारेमा धेरै नभनौँ,’ टुचेलले भने । 

जर्मन प्रशिक्षक टुचेलले आफ्नो एकल निर्णयमा चेल्सीमा खेलाडी अनुबन्ध नहुने पनि प्रष्ट पारे । ‘हामीले क्लब प्रशासनसँग कुरा गर्ने हो । खेलाडीबारेमा आफ्नो राय राख्‍ने हो । निर्णयमा पुग्‍ने प्रक्रिया हुन्छ । तर के सत्य हो भने धेरै खेलाडी चेल्सी आउन चाहन्छन् । तर ती खेलाडीका बारेमा टीप्पणी गर्न उचित हुँदैन,’ टुचेलले भने । 

गत सिजन चेल्सीमा टुचेलले टिमो बारनर, ट्यामी अब्राहम र काई हार्बट्सलाई स्ट्राइकरका रुपमा उपयोग गरेका थिए । तर यी तीनै खेलाडी दिइएको भूमिकमा सशक्त देखिएनन् । यसकारण चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको हो । र, त्यसै अनुरुप लुकाकु आफ्नो पूरानो क्लबसँग जोडिएका हुन् । झन् ओलिभर जिरुड पनि एसी मिलान लागेपछि चेल्सी कमसेकम एक जना सेन्ट्रल फरवार्ड भित्र्याउनै पर्ने दबाबमा छ । 

के लुकाकुको स्थान्तरण सफल होला त ? यो प्रश्नको उत्तर चेल्सीले इन्टरलाई औपचारिक प्रस्ताव पठाएपछि मात्रै आउनेछ । इन्टर हाल आर्थिक समस्यामा फसेकाले पनि चेल्सी उत्साहित देखिएको छ । केही समयअघि इन्टरले आफ्ना प्रभावशाली फुलब्याक अचरफ हाकिमीलाई बेचिसकेको छ । उता लुकाकु आफैँले पनि चेल्सी फर्कन तयार रहेको सन्देश इन्टरलाई दिइसकेका छन् । त्यसकारण अब ध्यान स्थान्तरण रकममाथिको सहमतितर्फ हुनेछ ।


Author

थप समाचार
x