खेलकुद

टोटनहमका प्रशिक्षक सान्टो भन्छन्, केनसँग कुरा भएको छैन

इकागज |
साउन २१, २०७८ बिहीबार १६:२६ बजे

काठमाडौँ-ह्यारी केन गत सोमबारबाटै टोटनहमको अभ्यासमा सहभागी हुनुपर्थ्यो । तर, उनी अभ्यासमा उपस्थिति भएनन् । उनी अझैँ पनि छुट्टी मै छन् । बहमासमा रहेका केन कहिले इंग्ल्यान्ड पुग्छन् टुंगो छैन । 

यसैबेला उनी म्यानचेस्टर सिटी जाने हल्ला पनि चलिरहेको छ । अभ्यासमा उपस्थिति नभएको पनि सिटी स्थान्तरणका लागि दबाब दिन हो, भनिँदैछ । क्लब छाड्न टोटनहमका अध्यक्ष डानियल लेभीसँग आफ्नो ‘जेन्टलम्यान एग्रिमेन्ट’ रहेको केनको भनाइ छ । तर टोटनहमले भने केनको सम्भावित स्थान्तरणबारे कुरा गर्न चाहिरहेको छैन । 


तोकिएको समयमा क्लबको अभ्यासमा सहभागी नहुँदा केनमाथि जरिवाना लगाइने सम्भावना छ । केन समयमै किन अभ्यासमा आइनपुगेको भन्ने बारेमा नुनो एस्पिरिटो सान्टो बेखबर छन् । केही महिनाअघि मात्रै टोटनमको प्रशिक्षकमा नियुक्त भएका सान्टोले केनसँग कुराकानी पनि गरेका छैनन् ।   

‘मैले केनसँग कुरा गर्न पाएको छैन । तर चाँडै नै हाम्रो कुराकानी हुनेछ भन्‍ने आश छ । अहिले जे भइरहेको छ, यसबारेमा सार्वजनिक टिप्पणी गर्नु उचित हुँदैन । त्यसबारेमा हामी आन्तिरक रुपमै छलफल गर्नेछाैँ । हामीबीचमै छलफल गरी समस्या समाधान गर्नुको विकलप छैन,’ सान्टोले भनेका छन् । 

२८ वर्षिय केनको टोटनहमसँगको सम्झौता तीन वर्ष बाँकी छ । त्यही पनि उनी क्लब छाड्न चाहन्छन् । टोटनहमले उपाधिका प्रतिस्पर्धा गर्न नसकिरहेको भन्दै केनले स्थान्तरण चाहेको बताइएको छ । हुन पनि टोटनहमले सन् २००८ यता कुनै पनि उपाधि जितेको छैन । 

टोटनहमका लागि कुल तीन सय ३६ खेलमा दुई सय २१ गोल गरेका केनलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी इच्छुक छ । तर स्थान्तरण रकममा कुरा मिलिरहेको छैन । बेलायती अखबारहरूका अनुसार टोटनहम अध्यक्ष लेभीले केनका लागि १५ करोड पाउन्ड मागिरहेको गोल डटकमले लेखेको छ ।  


Author

थप समाचार
x