खेलकुद

नाडाल करिब दुई महिनापछि टेनिस कोर्टमा

इकागज |
साउन २१, २०७८ बिहीबार १७:१७ बजे

काठमाडौँ- राफाएल नाडाल करिब दुई महिनापछि टेनिस कोर्ट फर्किएका छन् । सिटी ओपनको पहिलो खेलमा बिहीबार नाडालको प्रदर्शन पनि त्यस्तै थियो, धेरैपछि खेलमा फर्किएकै जस्तो । त्यही भएर उनले जितका लागि राम्रै मेहेनत गर्नुपर्‍यो  । 

वासिङ्टनको हार्ड कोर्टमा डेब्यु गरेको नाडालले ज्याक सोकमाथि ६–२, ४–६ र ७–६ (१) को जित दर्ता गरे । करिब सात हजार पाँच सय दर्शकका अगाडि जित हासिल गरेपछि स्पेनका नाडालले आफ्ना समर्थकलाई अभिवादन गरे । खुट्टाको चोटका बाबजुद पनि खेलेका नाडाल टोकियोमा जारी ओलम्पिकमा सहभागी भएनन् । न त उनले विम्बल्डन नै खेले । यसबीचमा उनले तीन साता र्‍याकेट नसमातेको प्रतिक्रिया दिए । 


३५ वर्षिय नाडाले पछिल्लो खेल नोभाक जोकोभिचविरुद्ध खेलेका थिए । फ्रेन्च ओपनको सेमिफाइनल रहेको त्यस खेलमा नाडाल पराजित भएका थिए । आफूले १३ पटक जितेको प्रतियोगिताबाट बाहिरिएपछि नाडालले केही समय आराम गर्ने बताएका थिए ।

नाडाल आराम गरिरहँदा उता जोकोभिचले भने २० औँ ग्रान्डस्लाम जिते । अब नाडाल, जोकोभिच र रोजर फेडेररले जितेका ग्रान्डस्लामको संख्या बराबर भएको छ । त्यसकारण अगस्ट २० बाट सुरु हुने यूएस ओपन तीन स्टारका लागि एकअर्कालाई उछिन्‍ने मौका हुनेछ । 


Author

थप समाचार
x