खेलकुद

१३ वर्षीय ब्राउनलाई ओलम्पिक पदक

इकागज |
साउन २१, २०७८ बिहिवार १७:४९ बजे

काठमाडौँ- १३ वर्षीय स्काइ ब्राउनले टोकियो ओलम्पिकमा पदक जितेकी छन् । ब्राउनले स्केटबोर्डको महिलातर्फका प्रतिस्पर्धामा बुधबार कास्य पदक जितेकी हुन् । यससँगै उनी बेलायती इतिहासमा सबैभन्दा सानो उमेरमा ओलम्पिक पदक जित्ने खेलाडी पनि बनेकी छन् । 

स्केटबोर्डमा पदक जित्ने किशोरी ब्राउन मात्र होइनन् । गत साता जापानकी मोमिजी निसियाले पनि पदक जितेकी थिइन् । निसिया पनि १३ वर्षकै खेलाडी हुन् । उनले ‘वुमन्स स्ट्रिट’मा स्वण पदक हात पारेकी थिइन् । सोही स्पर्धामा ब्राजिलकी १३ वर्षीय खेलाडी रायसा लिएलले रजत पदक जितिन् । 


ब्राउन ओलम्पिक पदकाधारी हुनुअघि नै सामाजिक सञ्जालमा लोकप्रिय रहँदै आएकी छिन् । १० वर्षका छँदा नै बेलायतीमाझ प्रख्यात रहेकी ब्राउनको इन्स्टाग्राममा मात्रै १० लाख फलोवर्स छन् । उनी चार वर्षकी थिइन्, जब उनले ‘स्केटबोर्डीङ’ गरिरहेको एक भिडियो युट्युबमा भाइरल भएको थियो । 

ब्राउनलाई विश्वका चर्चित ब्रान्डहरुले प्रायोजन गरेका छन् । सन् २०१८ मा मात्रै व्यवसायिक खेलाडी बनेकी ब्राउनको हालको प्रायोजक नाइकी हो । उनी सेरेना विलियम्स, सिमोने बाइल्स जस्ता स्टारहरुसँग विज्ञापनमा पनि देखा परेकी छिन् । यतिमात्र होइन, उनले अमेरिकी रियालटी शो ‘डान्सिङ विथ दी स्टार्स’ पनि जितेकी छन् । 

स्केटबोर्डलाई पहिलो पटक ओलम्पिकमा समावेश गरिएको हो । जसमा आयोजक जापानका १२ वर्षीय खेलाडीले पनि पदक जितेकी छन् । उनको नाम हो, कोकोना हिरकी । उनले ‘वुमन्स पार्क इभेन्ट’ मा रजत पदक जितेकी हुन् ।  


Author

थप समाचार
x