खेलकुद

ओलम्पिक २०२० : अत्याधिक गर्मीका कारण महिला फुटबल फाइनल हुन सकेन

इकागज |
साउन २१, २०७८ बिहिवार १८:४१ बजे

अभ्यास दौरान क्यानडाका खेलाडीहरू

काठमाडौँ- टोकियोमा तापक्रम निरन्तर उकालो लागेपछि ओलम्पिकको महिलातर्फको फुटबल फाइनल खेल अर्को दिनलाई सरेको छ । क्यानडा र स्विडेनबीचको स्वर्ण पदकको भिडन्त बिहीबार हुने तालिका थियो ।

तर अत्याधिक गर्मीका कारण सो खेल शुक्रबार साँझका लागि सारिएको अन्तर्राष्ट्रिय ओलिम्पक कमिटी (आईओसी)ले जनाएको छ । अब खेल टोकियोमा होइन, योकोहामामा खेलाइनेछ । 


सुरुमा आईओसीले खेल मिति तथा स्थान परिवर्तन गर्न चाहेको थिएन । फाइनल पुगेका दुवै टोलीले खेल सार्न अनुरोध गरे पनि आईओसीले स्वीकार गरेको थिएन । तर बिहीबार भने आईओसी खेल मिति र स्थानमा परिवर्तन गर्न राजी भयो । शुक्रबार तापक्रम घट्ने अनुमान गरिएको छ । 

‘हामी खेलाडीको स्वास्थ्यप्रति सजग छौँ । त्यसकारण खेल मिति र स्थान परिवर्तन गर्न अनुरोध गरेका हौँ । हामीलाई यसै पनि गर्मीमा खेल्न गाह्रो हुन्छ । झन् अहिले त अवस्था निकै खराब छ,’ स्विडिस प्रशिक्षक मारिका डोमानस्की लाइफोर्सले रोयटर्ससँग भनेकी छन् । ओलम्पिकमा अन्य केही प्रतिस्पर्धाको पनि समय र स्थान परिवर्तन गरिएको छ । टेनिस, म्याराथन लगायतका खेलहरु गर्मीकै कारण प्रभावित बनेका छन् ।  


Author

थप समाचार
x