खेलकुद

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

इकागज |
साउन २५, २०७८ सोमवार १६:३६ बजे

काठमाडौँ- साफ च्याम्पियनसिप आयोजना अधिकारको दौडमा माल्दिभ्सले नेपाललाई उछिनेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोमबार गरेको निर्णय अनुसार अब साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ । साफ च्याम्पियनसप आयोजनाका लागि माल्दिभ्स र नेपालले प्रस्ताव राखेका थिए । 

‘कोभिड-१९ संक्रमण दर नेपालमा भन्दा माल्दिभ्समा कम भएकाले साफ च्याम्पियनसिप त्यही आयोजना गर्ने निर्णय भयो । फेरि माल्दिभ्सले साफ च्याम्पियनसिप आयोजना नगरेको पनि निकै समय भयो । त्यसकारण पनि माल्दिभ्स प्राथमिकतामा पर्‍यो,’ अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधारले भनेका छन् ।  


आइतबार जारी गरिएको तथ्यांक अनुसार नेपालमा २५ सय ४८ जनामा कोभिड संक्रमण देखिएको थियो भने माल्दिभ्समा एक सय १३ जना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य विभागले बताएको छ ।  

माल्दिभ्सले पछिल्लो पटक सन् २००८ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यो पनि छिमेकी श्रीलंकासँग मिलेर । नेपालले भने सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजक बनेको थियो । 

१३ औँ संस्करणको साफ च्याम्पियनसिपमा पाँच टिमले भाग लिनेछन् । आयोजक माल्दिभ्स बाहेक, बंगलादेश, भारत, नेपाल र श्रीलंकाले आफ्नो सहभागिता पक्का गरिसकेका छन् । यसअघि भुटानले साफ च्याम्पियनसिपमा भाग नलिने बताएको थियो । यद्यपि उसले तीन दिन भित्र सहभागी हुने वा नहुने भन्ने बारेमा निर्णय दिने बताइएको छ । 


Author

थप समाचार
x