खेलकुद

ला-लिगा अध्यक्ष टेबसविरुद्ध रियल म्याड्रिड किन जाँदैछ अदालत ?

स्पेनी ला-लिगाको शेयर बेच्‍ने निर्णयको विरोध किन ?

इकागज |
साउन २७, २०७८ बुधबार १७:५२ बजे

काठमाडौँ- रियल म्याड्रिड स्पेनी ला-लिगाका अध्यक्ष हाभियर टेबासविरुद्ध अदालत जाने भएको छ । टेबास नेतृत्वको ला-लिगाले एक प्राइभेट कमपनीसँग व्यापारिक सम्झौता गरेपछि रियल त्यसका विरुद्ध उभिएको हो । र, लिगकै अध्यक्षविरुद्ध कानुनी उपचार खोज्‍ने निचोडमा पुगेको हो । 

गत साता ला-लिगा र अमेरिकी कम्पनी सीभीसी पाटनर्सबीच एक सम्झौता भयो । जस अनुसार ला-लिगाको १० प्रतिशत शेयर सीभीसीको नाममा स्थान्तरण गरियो । शेयरको मूल्य दुई अर्ब ७० करोड रहेको बताइएको छ । शेयर विक्रिबाट आएको रकम स्पेनी लिग खेल्ने क्लबहरूले नै खर्च गर्न पाउने टेबासको भनाइ छ । खर्चको क्षेत्र, पूर्वाधार सुधारका बाहेक सरुवा बजार पनि हुनेछ । 


तर रियल, टेबासको कदमसँग सहमत छैन । उसको प्रतिद्वन्द्वी क्लब बार्सिलोना पनि विरोधमा छ । यसैकारण रियल टेबास र सीभीसीविरुद्ध अदात जान लागेको हो । उता बार्सिलोनाले भने यस किसिमको निर्णय गरिसकेको छैन । 

रियलको निर्णयलाई टेबासले क्लब अध्यक्ष फ्लोरिन्टनो पेरेजको धम्कीका रुपमा लिएका छन् । ‘पेरेज सधैँ धम्कीको भाषा प्रयोग गर्छन् । हामीबीचको कुराकानीमा पेरेजले सधैँ धम्की दिन्थे । उनले यस्तो शैलीलाई सार्वजनिक रुपमै प्रयोग गर्न थालेका छन्,’ टेबासले भनेका छन् । 

ला-लिगा र सीभीसीबीचको सम्झौता अनुसार संयुक्त रुपमा एउटा नयाँ कम्पनीको स्थाना गरिनेछ । जसले ला-लिगाको सम्पूर्ण व्यापार सम्हाल्नेछ । यो कम्पनीमा सीभीसीको १० प्रतिशत शेयर रहनेछ । कम्पनीमा सीभीसीको शेयर हुने भएपनि, खेल र अन्य महत्वपूर्ण विषयमाथि आफ्नै नियन्त्रण रहने ला-लिगाको दाबी छ । 

ला-लिगाको मूल्यांकन चौबिस अर्ब दुई सय ५० करोड युरो गरिएको छ । विश्वकै ठूला क्लबहरूमध्येका रियल र बार्सिलोनाले खेल्ने यो लिगले प्रिमियर लिगको तुलनामा कम आम्दानी गर्छ । अझ गत सिजन त यो लिगले गत सिजन ७३ करोड भन्दा बढी बढी घाटा व्यहोर्यो । ला-लिगाको उदेश्य विश्वमै बढी हेरिने लिग बन्‍नु हो ।

यस्तो सफलता हासिल गर्न उसले प्रिमियर लिगसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । तर अहिलेको अवस्थामा प्रिमियर लिगको लोकप्रियता र आम्दानी ला-लिगाको भन्दा निकै माथि छ । यसकारण ला-लिगा आफ्नो आम्दानी बढाउने ध्येयमा छ । यही उदेश्य अनुरुप ला-लिगाले सीभीसीलाई व्यापारिक समझेदार बनाएको हो । 

रियल लगायतका क्लब किन सीभीसीसँगको सम्झौताको विरोधमा छन् ?

रियल के ठान्छ भने, ला-लिगाले सीभीसीलाई बेचेको शेयर धेरै हो । र, भविष्यमा यही शेयरबाट सीभीसीले निकै मुनाफा कमाउनेछ । बार्सिलोनाको धारणा पनि यही हो । किनभने यी दुवै क्लबको ठम्माई छ, ला-लिगाको लोकप्रियता उनीहरूको प्रदर्शनमा आश्रित छ । 

सन् २०१५ मा ला-लिगाले टेलिभिजन प्रशारण अधिकार बेच्न खोज्दा पनि रियलले विरोध गरेको थियो । त्यसबखत ला-लिगाले लिगको समग्र प्रशारण अधिकार बेचेको थियो । टेबासको निर्णयमा रियलले आपत्ति जनाउनुको मुख्य कारण यही थियो, ‘ला-लिगा हेर्ने दर्शकको ठूलो हिस्सा रियल समर्थक हुन् । रियल ला-लिगाको सबैभन्दा ठूलो क्लब हो । यसकारण प्रशारण अधिकार बेच्दा आउने रकमको ठूलो हिस्सामाथि उसको अधिकार छ,’ अरु क्लबसँग आम्दानी बाढ्नु भन्दा रियल आफूले खेल्ने खेलको प्रशारण अधिकार आफैँले बेच्न चाहन्छ  । 

टेबाससँगको सघंर्षको कारण अर्को पनि छ । त्यो हो, सुपर लिग । युरोपका ठूला क्लबहरूलाई मनाएर सुपर लिग गठन गर्ने योजनाका मुख्य योजनाकार पेरेज हुन् । उनलाई बार्सिलोनाको पनि साथ छ । तर टेबास भने सुपर लिगको विरोधमा छन् । 

पेरेज र बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले गत साता मात्रै युभेन्टसका अध्यक्ष आन्द्रेइ आग्नेलीलाई भेटेका थिए । भेटमा सुपर लिगका विषयमा छलफल गरिएको बताइएको छ । सुपर लिगमा युरोपका दुई दर्जन क्लबलाई सहभागी गराउने योजना बनाइएको थियो । तर सुपर लिगको चर्को आलोचना भएपछि हाललाई यो योजना थन्किएको छ । 

च्याम्पियन्स लिगलाई प्रतिस्थापन गर्ने उदेश्यका साथ सुरु गर्ने भनिएको सुपर लिग आयोजना भए, सबै ठूला लिगले विद्रोही सुपर लिगमा सहभागी हुने क्लबहरूलाई कारबाही गर्नुपर्ने हुन्छ । यस्तोमा, ला-लिगाले रियल र बार्सिलोनालाई पनि कारबाही गर्नुपर्ने हुन्छ । कारबाही भनेको लिगबाट निलम्बन नै हो । तर यदि ला-लिगामा रियल र बार्सिलोना नहुने हो भने सीभीसीको लगानीको प्रतिफल उठ्ने सम्भावना न्यून रहन्छ । किनभने दुई ठूला क्लबविनाको ला-लिगाको लोकप्रियता हवात्तै घट्नेछ । 
ला-लिगासँग रियल र टेबाससँगको सम्बन्ध ? 
ला-लिगा प्रशासन, विशेषगरी टेबाससँग रियलको सम्बन्ध राम्रो छैन । टेबास सन् २०१३ मा ला-लिगाको अध्यक्ष बनेका हुन् । स्पेनी फुटबलको पहिलो श्रेणी ला-लिगा बाहेक दोस्रो डिभिजन सेगुन्डाको प्रमुख पनि टेबास नै हुन् । उनी अध्यक्ष हुँदा ला लिगका साना क्लबहरू तथा सेगुन्डामा रहेका क्लबहरूले समर्थन गरेका थिए । आफ्नो कार्यकालमा टेबासले ला-लिगामा दुई ठूला क्लबको प्रभाव घटाउने प्रयास गरेका छन् । 

गत साता सीभीसीलाई लिगको शेयर बेच्ने विषयमा राखिएको बैठकमा रियल उपस्थित थिएन । न त बार्सिलोना नै त्यो बैठकमा सहभागी थियो । शेयर विक्रिको विषयमा आउँदो बिहीबार मतदान हुँदैछ । मतदानमा ४२ स्पेनी क्लब सहभागी हुनेछन् । मतदानमा रियल र बार्सिलोनाले पनि भाग लिनसक्छन् । 

के भनिएको छ भने, ला-लिगाले शेयर विक्रि सम्बन्धी कागजात १९ क्लबलाई देखाईयो तर रियललाई यसबारेमा कुनै जानकारी दिइएन । सो कागजातको अध्ययन गरेपछि बार्सिलोना पनि विपक्षमा उभिएको छ । बार्सिलोना अध्यक्ष लापोर्टालाई सीभीसीसँगको सम्झौताको विपक्षमा उभिन पेरेजले नै दबाब दिएका हुन् । कमसेकम स्पेनमा यही भनिँदैछ । दी एथ्लेटिकबाट 


Author

थप समाचार
x