खेलकुद

अफ्रिकन कप अफ नेसन्स (एफकोन): अफ्रिकी फुटबल उत्सवमा अल्जेरिया र आइभरी कोस्टको प्रतिद्वन्द्वीता

इकागज |
भदौ ३, २०७८ बिहिवार १२:५१ बजे

काठमाडौँ- अफ्रिकन कप अफ नेसन्स (एफकोन) २०१९ को च्याम्पियन हो, अल्जेरिया । अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्दा अल्जेरियाले सबै टिमलाई निर्धारित समयमै पराजित गरेको थियो, सिवाय आइभरी कोस्ट । क्वार्टरफाइनलमा आइभरी कोस्टलाई पन्छाउन अल्जेरियालाई पेनाल्टीसम्म पुग्नु पर्‍यो । 

यसपालीको एफकोनमा पनि यी दुईले आफ्नो प्रतिद्वन्द्वीतालाई पुर्नजागृत गर्ने भएका छन् । त्यो पनि, समूह चरणमै । क्यामरुनले आयोजना गर्ने एफकन २०२१ को ‘ड्र’ सार्वजनिक हुँदा अल्जेरिया र आइभरी कोस्ट समूह ‘ई’ मा परेका छन् । एफकोन जनवरी ९ देखि फेब्रुअरी ६ सम्म आयोजना हुनेछ । एफकोन सन् २०२१ हुनुपर्ने भए पनि कोभिड–१९ लगायतका कारणले सन् २०२२ का लागि सरेको हो । एक वर्षपछि हुने भएपनि प्रतियोगिताको नाम एफकोन २०२१ नै राखिएको छ । 


समूह ‘ई’ मा अल्जेरिया र आइभरी कोस्ट बाहेक सिरिया लियोन र इक्वेटोरियल गिनी पनि छन् । एफकनका लागि छनौट भएका कुल २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट दुई–दुई टिमले अन्तिम १६ मा स्थान पक्का गर्नेछन् । त्यस्तै तेस्रो स्थानमा रहने चार बलिया टिमले पनि प्रि–क्वार्टरफाइनल खेल्ने मौका पाउनेछन् । 

समूह ‘ई’ बाट अल्जेरिया र आइभरी कोस्ट अन्तिम १६ मा पुग्ने अनुमान गरिएको छ । ‘हामी रहेको समूह असाध्यै प्रतिस्पर्धात्मक रहने देखिएको छ । सबै टिम युवा प्रतिभाले भरिएका छन् । आशा छ आइभरी कोस्टले समूह चरणको प्रतिस्पर्धा छिचोल्ने छ,’ डिडियर ड्रोग्बाको प्रारम्भिक प्रतिक्रिया थियो ।  

अफ्रिकी टिमहरूको वरियातामा अल्जेरिया तेस्रो स्थानमा छ । पहिलो र दोस्रो स्थानमा क्रमशः सेनेगल र ट्युनिसिया छन् । तर अल्जेरियाको हालको लय लोभलाग्दो छ । उसले नोभेम्बर, २०१८ यता कुनै पनि खेल हारेको छैन । २७ खेलमा अपराजित रही अफ्रिकी कीर्तिमान कायम गरेको छ ।   

एफकोनका दाबेदार टिमबारे कुरा गर्दा छुटाउनै नहुने नाम हो, क्यामरुन । जो छैठो पटक च्याम्पियन बन्ने ध्येयमा छ । क्यामरुन यसपटक समूह ए मा परेको छ । यो समूहका अन्य तीन टिम बुकरिना फासो, इथियोविया र कापेभार्डे हुन् । यस समूहबाट क्यामरुन र बुकरिना फासो अन्तिम १६ मा पुगेनन् भन्ने अचम्म मानिनेछ । 

सर्वाधिक सात पटक एफकोन जितेको इजिप्ट समूह ‘डी’ मा परेको छ । यो समूहमा तीन पटकको च्याम्पियन नाइजेरिया, सुडान र गिनी बिसाउ पनि छन् । कुनै बेला कमजोर अफ्रिकी टिमहरुको सूचीमा रहने गिनी बिसाउ लगातार तेस्रो पटक एफकोनमा छनौट भएको हो । 

एफकोनमा युरोपका विभिन्न लिग खेलिरहेको खेलाडीहरू प्रमुख आकर्षण बन्नेछन् । जस्तै, मोहम्मद सलाह । उनको काँधमा इजिप्टलाई उपाधि दाबेदार बनाउने जिम्मेवारी छ । पछिल्लो संस्करणमा अन्तिम १६ मा दक्षिण अफ्रिकासँग पराजित भएको इजिप्टका लागि सलाहको उपस्थिती सर्वाधिक महत्वपूर्ण हुनेछ । 

लिभरपुलकै अर्का स्टार साडियो माने पनि एफकोनमा हुनेछन्, सेनेगलसँग । उनको टिम समूह ‘बी’ मा छ । जहाँ सेनेगलको प्रतिस्पर्धा जिम्बाबे, गिनी र मलावीसँग हुनेछ । गएको संस्करणमा सेनेगल सेमिफाइनलसम्म पुगेको थियो । ट्युनिसियासँग आतिरिक्त समयमा १–० को पराजय भोगेको सेनेगलका लागि यसपटक उपाधिको थप नजिक पुग्ने मौका छ । 

सन् १९९४ यता प्रत्येक एफकोनका लागि छनौट हुँदै आएको ट्युनिसिया यसपटक समूह ‘एफ’मा छ । यस समूहमा ट्युनिसिया बाहेक माली, मरुटनिया र गाम्बिया पनि छन् । गाम्बियाले पहिलो पटक एफकनको टिकट काट्न सफल भएको हो । 

सन् १९७६ मा एफकन च्याम्पियन बनेको उत्तरी अफ्रिकी टिम मोरोक्कोले समूह ‘सी’मा चार पटकको च्याम्पियन घाना, कोमोरोस र गाबोनको सामना गर्नेछ । मरुटनिया जस्तै कोमोरोस पनि पहिलो पटक एफकनमा सहभागी हुन लागेको हो । 

क्यामरुन दोस्रो पटक एफकन आयोजक बनेको हो । यो प्रतियोगिता सन् १९७२ मा क्यामरुनमा आयोजना गरिएको थियो । उसो त क्यामरुनले सन् २०१९ मा पनि एफकन आयोजना गर्ने अधिकार पाएको हो । तर समयमै तयारी नसक्दा अन्तिममा इजिप्टलाई नयाँ आयोजक तोकिएको थियो । 

समूह ए ः क्यामरुन, बुकरिना फासो, इथियोपिया र कापेभार्डे 
समूह बीः सेनेगल, जिम्बाबे, गिनी र मलावी 
समूह सी ः मोरोक्को, घाना, कोमोरोस र गाबोन 
समूह डी ः नाइजेरिया, इजिप्ट, सुडान र गिनी बिसाउ 
समूह ई ः अल्जेरिया, सिरिया लियोन, इक्वेटोरियल गिनी र आइभरी कोस्ट 
समूह एफ ः ट्युनिसिया, माली, मरुटनिया र गाम्बिया 


Author

थप समाचार
x