खेलकुद

ग्रेलिस सिटीका नयाँ स्टर्लिङ बन्‍न सक्छन्ः ग्वार्डिओला

इकागज |
भदौ ६, २०७८ आइतबार १६:११ बजे

काठमाडौँ- ज्याक ग्रेलिसले शनिबार म्यानचेस्टर सिटीका लागि पहिलो गोल गरे । इंग्लिस प्रिमियर लिगमा सिटीले नर्विच सिटीलाई ५–० ले हराउँदा खेलको पहिलो गोल ग्रेलिसकै थियो । जितपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ग्रेलिसको तारिफ गरे । ग्रेलिसले रहिम स्टर्लिङको जति नै गोल गर्नसक्ने प्रतिक्रिया दिए । 

‘यदि ग्रेलिसले स्टर्लिङको जस्तै मानसिकता बनाउन सके, उनले निकै धेरै गोल गर्न सक्नेछन् । स्टर्लिङले जति नै । चार, पाँच वर्षअघि स्टर्लिङको फिनिसिङ अहिलेको जस्तो थिएन । तर अहिले उनी फेरिएका छन् । मैदानमा रहँदा गोल गर्नैपर्छ भनेर सोच्छन् । ग्रेलिसले पनि स्टर्लिङले जसरी नै सोच्नुपर्छ अनि गोल संख्या बढ्छ,’ ग्वार्डिओलाले भने । 


स्टर्लिङले पछिल्ला चारमध्ये तीन सिजनमा २० वा बढी गोल गरेका छन् । सुरुवातमा स्टर्लिङकै फिनिसिङमाथि पनि प्रश्न उठेको थियो । अहिले भने उनी सिटीमा स्थापित फरवार्ड बनेका छन् । नर्विचसँगको खेलमा स्टर्लिङले पनि गोल गरे । उनी र ग्रेलिस बाहेक गोल गर्ने अन्य खेलाडीमा एयमेरिक लापोर्टे र रियाद माहरेज थिए । 

सर्जियो अग्वेरोले सिटी छाडेपछि ग्वार्डिओला नयाँ स्ट्राइकर खरिद गर्न दबाबमा छन् । हाल सिटीसँग जम्मा एकजना मात्र स्ट्राइकर छन् । ती हुन्, गाब्रियल जिजस । जो शनिबारको खेलमा विङ्गर बनेर खेलेका थिए । उनको नाममा दुई असिस्ट रह्यो ।  


Author

थप समाचार
x