खेलकुद

साकिरी अब फ्रेन्च लिगमा

इकागज |
भदौ ७, २०७८ सोमबार १४:१९ बजे

काठमाडौँ - स्विटजरल्यान्डका जेरदन साकिरीले युरोपका तीन ठूला लिग खेलिसकेका छन्, त्यो पनि युरोपियन क्लब फुटबलमा लोकप्रिय रहेका क्लबाट । आफ्नै देशको एफसी बासेलबाट करियर सुरु गरेका साकिरीले बायर्न म्युनिखबाट जर्मन बुन्डेसलिगा, इन्टर मिलानबाट इटालियन सिरी ए र लिभरपुलबाट इंग्लिस प्रिमियर लिग खेलेका छन् ।  

यिनै साकिरी अब फ्रेन्च लिग वानको स्वाद चाख्न लियोनतिर हानिने भएका छन् । उनलाई अनुबन्ध गर्न लियोनले लिभरपुललाई ९० लाख ५० हजार पाउन्ड स्थान्तरण रकम तिर्न राजी भएको छ । लियोनले यस्तो जानकारी आइतबार राति दिएको हो । 


साकिरी सन् २०१८ मा इंग्ल्यान्डकै अर्को क्लब स्टोक सिटीबाट लिभरपुल पुगेका थिए । अग्रपंक्तिका विभिन्न पोजिसिनमा खेल्न सक्ने २९ वर्षीय साकिरीले लिभरपुलको जर्सीमा कुल ६३ खेल खेल्दै आठ गोल गरेका छन् । उनको नाममा नौ असिस्ट छ । 

एफसी बासेलबाट स्विस लिग जितेका साकिरी बार्यनमा छँदा तीन पटक जर्मन च्याम्पियन बनेका थिए । त्यहाँ उनले च्याम्पियन्स लिग समेत जिते । साकिरी युरोप तथा इंग्ल्यान्डको च्याम्पियन बनेको लिभरपुल टिमको हिस्सा बने । 

सन् २०११ मा युरोपियन अण्डर–२१ च्याम्पियनसिपको फाइनल पुगेर सनसनी मच्चाएको स्विस टिमका महत्वपूर्ण सदस्य रहेका साकिरीले केही साता अघि लिभरपुल छाड्ने इच्छा व्यक्त गरेका थिए । सरुवा बजारमा उनी उपलब्ध रहेको थाहा पाएर लियोनले लिभरपुल समक्ष ४० लाख पाउन्ड बराबरको प्रस्ताव राखेको थियो ।

तर लियोनको त्यो प्रस्ताव लिभरपुलले स्विकार गरेन । त्यसपछि लियोन सुधारिएको प्रस्ताव लिएर फर्कियो । र, लिभरपुल साकिरीलाई फ्रान्स जान दिन तयार भयो । 
लिभरपुलमा साकिरीको स्थान हार्भी इलियोटले लिने अनुमान गरिएको छ । लिभरपुल एकेडेमीकै अर्का उत्पादन केइडे गोर्डोनले पनि साकिरीको अनुपस्थितिमा खेल्ने मौका पाउने अपेक्षा गरिएको छ ।

साकिरीको लिभरपुलसँगको सम्झौता सकिन अझैँ एक वर्ष बाँकी थियो । पुरानो सम्झौता सकिए पनि साकिरी थप एक वर्ष एनफिल्डमा रहन सक्थे । तर उनले नयाँ लिगमा खेल्ने निर्णय गरे । लिभरपुल थप केही खेलाडी बेच्न चाहेको छ । जस्तै, डिभोक ओरिगी, नाट फिलिप्स, लोरिस करियस र सेयी ओजो । तर यी कुनै पनि खेलाडीका लागि लिभरपुलले स्थान्तरण प्रस्ताव प्राप्त गरेको छैन । 


Author

थप समाचार
x