खेलकुद

फुटबल विवादः छानविन समितिको निष्कर्ष, अल्मुताइरीले फेसबुक पोस्ट हटाउनु पर्ने

इकागज |
भदौ ९, २०७८ बुधबार १७:३३ बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र राष्ट्रिय फुटबल टिम (पुरुष) का मख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीबीचको विवाद छानविन गर्न बनेको समितिले अब्बदुल्लाहले गरेको विवास्पद फेसबुक पोस्ट हटाउनु पर्ने निष्कर्ष निकालेको छ ।

अल्मुताइरीले फेसबुकमार्फत वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूलाई काम गर्न नदिएको, लगातार अवरोध सिर्जना गरिरहेको जस्ता आरोप लगाएका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य पुरेन्द्र विक्रम लाखेको नेतृत्वमा बनेको सात सदस्यीय समितिले बुधबार बुझाएको प्रतिवेदनमा राखेपले अल्मुताइरीलाई त्यस्तो निर्देशन दिनुपर्ने उल्लेख गरिएको छ । समितिले प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो ।


आगामी दिनमा एन्फासँगको सम्झौता बमोजिमका कार्य सम्पादन गर्नुपर्ने, विवाद सिर्जना हुने प्रकारका गतिविधि गर्न नपाउने, सामाजिक सञ्जाल र सञ्चार माध्यममा कोही व्यक्तिप्रति लक्षित गरी धारणा समप्रेषण नगर्न पनि अल्मुताइरीलाई सचेत गराउनु पर्ने सुझाव समितिले दिएको छ । 

प्रशिक्षकका कुनै प्रकारका गुनासा तथा समस्या भए टिम व्यावस्थापकले तत्काल सम्बन्धित निकायमा पुर्‍याउनु पर्ने समितिको सुझाव छ । त्यसैगरी एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षक लगायतले आफ्नो पदीय मार्यादालाई ध्यानमा राखी कार्य गर्नुपर्ने पनि समितिको निष्कर्ष छ । 

भविष्यमा उत्पन्न हुने कुनैपनि समस्या वा विवाद सिर्जना भए एन्फा आफैँले समाधान गर्नुपर्ने र नसकेमा मात्र राखेपसमक्ष पुग्नुपर्ने समितिको भनाइ छ । समितले अल्मुताइरी र मेरो खेल अनलाईनका पत्रकार विभा थापासँग भएको भनिएको विवाद समाधानका लागि अबको सात दिनभित्र एन्फा नेतृत्वले दुवै पक्षलाई बोलाएर समस्या समाधान गर्न पनि भनेको छ ।     

विवादका कारणहरु सामाजिक सञ्जालको अत्याधिक प्रयोग, आपसी सम्बन्ध विस्तार हुन नसकनु, आचार सहिंता कमजोर हुनु र भएको आचार सहिंता पनि पालाना नहुनु, खेल क्षेत्रमा धुम्रपान र मध्यपान लगायतका निरुत्साहन गर्न नसक्नु लगायतका कारणहरुबाट विवाद एवंम समस्या उत्पन्न भएको समितिको निष्कर्ष छ । भविष्यमा थप विवाद समस्या र विवाद उत्पन्न नहोस् भन्नका लागि एन्फाले आचार सहिंता बनाइ १५ दिनभित्र राखेपबाट स्विकृती लिई लागू गर्न पनि समितिले भनेको छ । 
 
 


Author

थप समाचार
x