खेलकुद

नेपाललाई खराब मैदान र काउन्टर अट्याकले साथ दियोः भारतीय प्रशिक्षक

इकागज |
भदौ १७, २०७८ बिहीबार २१:२९ बजे

तस्बिर सौजन्यः एआईएफएफ

काठमाडौँ- बिहीबार साँझ दशरथ रंगशालामा नेपाल र भारत भिड्दा दुई संयोग थिए । पहिलो, भारतले नेपाली भूमिमा पहिलो पटक मैत्रीपूर्ण खेल खेल्दै थियो । दोस्रो, मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीको दशरथ रंगशाला डेब्यु ।  

पहिलो पटक नेपालविरुद्ध नेपाली भूमिमा मैत्रीपूर्ण खेल खेलेको भारतको प्रदर्शन अपेक्षा गरे अनुसारको रहेन । फिफा वरीयतामा नेपाल भन्दा निकै माथि रहेको भारत पहिलो हाफमा नेपालभन्दा पछि रह्यो । भारतीय रक्षक चिंगलेनसाना सिंह कोनसामले दिएको ब्याक पास अन्जन विष्टले भेटे र विपक्षी गोलरक्षक गुरप्रित सिंह सन्धुलाई बिट गर्दै गोल गरे । 


दोस्रो हाफमा, भारतले बराबरी गोल फर्कायो । उसका कप्तान सुनिल क्षेत्रीको लामो प्रहार नेपाली गोलरक्षक किरण कुमार लिम्बुले नियन्त्रणमा लिन नसकेपछि अनिरुद्ध थापाले बल भेट्टाए र सजिलै गोल गरे । दोस्रो हाफमा मैदान प्रवेश गरेका अनिरुद्धले भारतीय टिमको प्रदर्शनमा केही हदसम्मको परिवर्तन ल्याउन सके । पहिलो हाफको तुलानामा भारत दोस्रो हाफमा छरितो पनि देखिएको हो । तर पाहुना टिमले गोल थप्न सकेन । 

खेलपछि नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्ना खेलाडीहरुको प्रशंसा त गरे तर खेलमा अझैँ सुधार गर्नुपर्ने भन्न छुटाएनन् । ‘यदि हामीले साफ च्याम्पियनसिप जित्ने र एसियन कपका लागि छनौट हुने लक्ष्य राख्‍ने हो भने आजको भन्दा राम्रो खेल्नुपर्छ । आज हामीले जित्‍न नसकेकोमा म नेपाली समर्थकसँग माफी माग्न चाहन्छु । आगामी खेलमा हामी राम्रो गर्ने प्रयास गर्नेछौँ,’ अल्मुताइरीले भने । 

युवा मिडफिल्डर नितिन थापालाई डेब्यु गराएका अल्मुताइरीले साफ च्याम्पियनसिप महत्वपूर्ण प्रतियोगिता भएकाले त्यसका लागि टोली तयार पार्नुपर्ने बताए । त्यही योजना अनुरुप बढी भन्दा बढी खेलाडीलाई मौका दिने उनको भनाइ थियो । ‘यो मैत्रीपूर्ण खेल हो । हाम्रा लागि महत्वपूर्ण त साफ च्याम्पियनसिप हो । त्यसमा हामीले गल्ती गर्नु हुँदैन । आज भएका गल्ती त्यहाँ देखिने छैनन्,’ अल्मुताइरीको भनाइ थियो । 

उता भारतीय मुख्य प्रशिक्षक इगोर स्टिमचले आफ्नो टिम जितका लागि योग्य भएको प्रतिक्रिया दिए । ‘नेपालले खराब मैदान, रक्षात्मक रणनीति र काउन्टर अट्याकका कारण खेल बराबरी गर्न सक्यो । हामीले गम्भिर गल्ती पनि गर्‍यौ । जुन प्रकारको गल्ती हामी खासै गर्दैनौँ । नेपाली टिम काउन्टर अट्याक गर्न माहिर छ । यसकारण यसप्रकारको गल्ती हामीले फेरि गर्नु हुँदैन,’ स्टिमचले भने । 

क्रोएसियाका स्टिमचले आफ्नो टिमले गोल खाए पनि नेपालभन्दा हरेक विभागमा बलियो देखिएको दाबी गरे । ‘हामी उसै पनि नेपालभन्दा बलियो टिम हौँ । आज पनि हामी हरेक विभागमा नेपाल भन्दा बलियो थियौँ । पहिलो हाफमा हामीले सोचे अनुरुपको खेल देखाउन नसकेकै हो । तर दोस्रो हाफमा हाम्रो खेल फरक थियो । पासिङ, मुभमेन्ट, अट्याक सबै पक्षमा हामीले सुधार गर्‍यौ,’ स्टिमचले भने । 

भारतीय टिमबाट दुई खेलाडीले डेब्यु गरे । तीमध्ये सेन्ट्रल फरवार्ड रहिम अली त म्यान अफ दी म्याच नै घोषित भए । उनलाई स्टिमचले दोस्रो हाफमा मौका दिएका थिए । डेब्यु गरेका अर्का खेलाडी सेरिटन फर्नानडेज पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । अब दुई टिम आउँदो आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा आमनेसमाने हुनेछन् । 


Author

थप समाचार
x